आयाल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसायीबीच सहमति, चरणबद्ध आन्दोलन फिर्ता

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
Petrol Photo~main

शनिबार पेट्रोल पम्पमा सर्वसाधारणको लाइन । तस्बिर धनबहादुर गुरुङ

पोखरा, १९ चैत । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएको राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयाल निगमबीच सहमति भएको छ ।
शनिबार राति दुई पक्षबीच ४ बुँदे सहमतिसँगै पेट्रोलियम व्यवसायीहरुले चरणबद्ध आन्दोलन फिर्ता लिएका छन् ।

नेपाल एलपि ग्यास संघ कोषाध्यक्ष धर्मराज बर्तौलाले बाध्यतापूर्वक आन्दोलनमा उत्रिनुपरेको विषयलाई हृदयंगम गर्दै हाललाई ४ बुँदे सहमति भएको जानकारी दिए । समिति गत चैत ५ देखि ६ बुँदे मागसहित चरणबद्ध आन्दोलनमा थियो ।
सहमतिअुसार पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपि ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्म सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको छ ।

यस्तै, आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएन, नेपाल एलपि ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम शनिबारदेखि नै स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपि ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रुपमा संचालन गर्ने सहमति भएको छ ।

पेट्रोलियम पदार्थका उपभोक्तालाई सहज र सरल ढुंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरु चैत २० बिहान ८ बजेबाट संचालन गरिने भएको छ ।
सहमतिमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका तर्फबाट प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका तर्फबाट प्रवक्ता इन्जिनियर वीनितमणि उपाध्यायले हस्ताक्षर गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width