बजारमा फर्मालिन प्रयोग भएका माछा

रासस
चैत्र १९, २०७८

कावासोती । जिल्लाका बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ । माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारामा रहेको माछा पसलमा रहेका माछा परीक्षण गर्दा फर्मालिनको प्रयोग भएको पाइएकाले ३८ किलो माछा नष्ट गरिएको थियो ।

जिल्लाकै देवचुली नगरपालिका रहजमा शुक्रबार अर्को माछा पसलका माछा परीक्षण गर्दा त्यहाँसमेत फर्मालिन प्रयोग भएको भेटिएकाले त्यहाँबाट ६८ केजी माछा नष्ट गरिएको थियो । ती पसलमा फर्मालिनको प्रयोग भएको पाइएपछि यहाँका अन्य पसलमा पनि यस्ता विषाधियुक्त माछा धेरै बिक्री हुने गरेको आशङ्का पैदा भएको उहाँको भनाइ थियो ।
फर्मालिन प्रयोग भएका माछा वितरण गर्ने मुख्य वितरकसम्म पुग्न अनुसन्धान सुरु गरिएको जानकारी दिँदै सहायक प्रजिअ बरालले भन्नुभयो, “भारतबाट आयातीत माछा हुन् कि भन्ने शङ्का छ, जिल्लामा मुख्य वितरकसम्म पुग्ने प्रयासमा छौँ ।” उहाँले नवलपरासी पश्चिम, रूपन्देहीलगायत नाकाबाट फर्मालिन प्रयोग भएको माछा भित्रिन नदिन सम्बन्धित कार्यालयलाई समेत पत्राचार गरिने उहाँले जानकारी दिनुभयो ।

फर्मालिन एक प्रकारको विषाक्त रसायन हो । यसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । शवहरू सड्न नदिन फर्मालिनको प्रयोग गरिन्छ । मरेका माछालाई फर्मालिनमा डुबाएपछि ताजा जस्तै देखिन्छ । यसकारण माछामा यस्ता रसायन प्रयोग गर्ने गरिएको हो ।माछा पसलबाहेक अन्य पसलमा पनि म्याद नाघेका खाद्य वस्तु फेला पारिएकाले यसको नियन्त्रणका लागि स्थानीयस्तरमा अनुगमनलाई तीव्रता दिइने र उपभोक्तालाई समेत गुणस्तरीय वस्तु पहिचान गरी खरिद गर्न सहायक प्रजिअ बरालले आग्रह गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग