खेलकुदलाई पर्यटनसँग जोड्न सके आर्थिक समृद्धि : मन्त्री थापा

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
NSJF

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापन पोखरामा शुक्रबार भएको छ । चैत ५ गते भएको मञ्चको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गरिएको हो ।
गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मञ्चको नवनिर्वाचित टोलीलाई पदस्थापन गराउँदै खेलकुदलाई पर्यटनसँग जोडेर अघि बढाउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । गण्डकी प्रदेशले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढाउन सकेको खण्डमा आर्थिक हिसाबले धेरै क्रियाकलाप गर्न सकिने उनको भनाइ थियो ।
कोभिड– १९ को कारण प्रदेशका उद्योग व्यवसाय लगायत सबै क्षेत्रमा आक्रान्त बनाइरहेको अवस्थामा खेलकुदको माध्यमबाट यो ठाउँको विकास गर्न र आर्थिक क्रियाकलापलाई चलायमान गराउनका लागि महत्वपूर्ण भूमिका पुग्ने मन्त्री थापाले बताए । गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधारहरु थपिने क्रम जारी रहेको हुँदा खेलकुदको सम्भावना बढी रहेको बताउँदै मन्त्री थापाले प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले खेलसम्बन्धी पढनपठान सुरु गरिसकेकाले पनि खेलकुदको सम्भावना बढेर गएको उनको तर्क थियो ।
उनले भने, ‘खेलकुदकै माध्यमबाट हाम्रो जीवन स्वस्थ बनाउन सक्छौं, खेलकुदको भविष्य धेरै राम्रो छ, खेलाडीहरुले धेरै गर्न सक्छन्, प्रदेशको, देशकै नाम राख्न सक्ने अवस्था सिर्जना भएको छ ।’ गण्डकी प्रदेश सरकारले खेलकुदका क्षेत्रमा यथेष्ट लगानी गरिरहेको उल्लेख गर्दै खेलकुदको क्षेत्रमा राम्रो बजेटको व्यवस्थापन गरेको दाबी गरे ।
प्रदेश सरकार अहिले नयाँ बजेट क्रममा रहेको भन्दै अघिल्लो आर्थिक वर्षमा कोभिडका कारण समग्र पत्रकारहरुको लागि पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको भन्दै उनले यसपटक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु प्रदेश सरकारको तर्फबाट समेटेर जाने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष बरालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आफूले समेत सहयोग गर्ने मन्त्री थापाले जनाए ।
कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले ओझेलमा परेका खेललाई खेल पत्रकारहरुले अघि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेशको खेलकुदको विकासको लागि प्रदेश स्तरीय प्रतियोगिता आवश्यक भएको उनले बताए ।
यस्तै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेज गुरुङले परिषदसँगको सहकार्यमा गण्डकी प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा रहेको हुनाले यसमा आवश्यक सुझाव दिनका लागि आग्रह गरे । खेलकुदको विकासको लागि न्यूनतम ३ देखि ५ प्रतिशत बजेट विनियोजन हुनुपर्ने उनको भनाइ थियो ।
मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले खेलकुद बिटमा कलम चलाउने सबै पत्रकारलाई समेटेर अघि बढ्न आग्रह गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले यस क्षेत्रमा खेलकुद पूर्वाधार निर्माणमा पत्रकारको थप चासो जानुपर्ने जनाए ।
नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव तथा निर्वाचन समितिका सदस्य गोविन्दप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष केशव पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचन, सहारा क्लक पोखराका वरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले बोलेका थिए ।
यसअघि निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन कमिटी संयोजक नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अधिवक्ता सरीता तिमिल्सिना पंगेनीले पदस्थापन गराएकी थिइन् । अधिवेशनबाट दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width