पोखरा । म्यादी प्रहरीको शारीरीक परीक्षा कटाएकी पोखरा १६, जैमुरेकी सरिता परियार निकै खुसी देखिइन् । बिहीबार बिहानैदेखि लाइन बसेकी उनी दिउँसो करिब ३ बजे प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षामा पास भएर बाहिरिएकी हुन् ।
एकातिर पास हुनुको खुसी थियो भने अर्कोतर्फ चिन्ता थियो–भोलिपल्टको लिखित र मौखिक परीक्षाको । उमेर ३२ लागेकी परियारले घरमा १ छोरा र १ छोरी छाडेर म्यादी बन्ने निस्केको बताइन् । ९ वर्षअघि विदेश गएका उनका पति अझै घर फर्किएका छैनन् ।
चैतमासको तातो घाममा दौडिनुको एउटै कारण हो–छोराछारीको लालनपालन र पढाइ खर्च । श्रीमान्को अत्तोपत्तो नहुँदा परियारलाई व्यवहारले थिचेको छ । दैनिक ज्यालादारी काम गर्दै गुजारा टारेकी उनलाई म्यादी प्रहरीले केही आशा जगाएको छ । ‘घरव्यवहार चलाउनै गाह्रो अवस्था छ,’ उनले गुनासो गरिन्, ‘सुरक्षा सेवामा लाग्ने सानैदेखिको रहर पनि हो तर अहिले भने बाध्यता बन्यो । यहाँबाट पाउने ३०/४० हजारले केही भए पनि खर्च टर्ला नि !’
लमजुङ सिंदीका उपेन्द्र गुरुङ पनि म्यादीका लागि दौडकै लाइनमा थिए । उनी भने खाली समयको सदुपयोग पनि हुने अलिअलि भए कमाइ हुने सोचले म्यादीमा हानिएका हुन् । भर्खरै २२ वर्ष लागेका गुरुङ उमेर छँदासम्म भारतीय सेना र सिंगापुर पुलिसमा भर्ती देखिदै हिंडे । दौड सधैं कटाउने तर कहिले लिखित त कहिले शारीरिक परीक्षामा फेल हुँदा सैनिक बन्ने उनको सपना अपूरो थियो । अपूरो सपना साकार पार्न म्यादीको लाइन बसेको उनले सुनाए ।
स्याङ्जा हरिनासका २२ वर्षीय चित्रनारायण मानन्धर नेपाल आर्मी र भारतीय आर्मीमा भर्ती हुन नसकेपछि मनको रहर पूरा गर्न आएको बताउँछन् । ‘नेपाल आर्मीमा ३, इन्डियन आर्मीमा ५ पटक जाँदा नि भर्ती भइएन,’ उनले भने, ‘अहिले यत्तिकै बसेको थिएँ । देशको सेवा गर्ने सपना पनि पूरा हुने भयो अलिअलि कमाइ पनि हुने ।’
म्यादी प्रहरी बन्न कास्कीमा ४ हजार १ सय जनाले फर्म भरेकोमा ९ सय ३५ महिला छन्
सरिता, उपेन्द्र र चित्रजस्तै गरिबी, जिम्मेवारी, बाध्यता र रहरले रोजगारीको खोजीमा रहेका युवादेखि ४० कटेकाहरु म्यादी प्रहरीका लागि लाइनमा थिए । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनका कास्कीबाट १ हजार ४ सय ७१ म्यादी प्रहरी माग गरिएको प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले जानकारी दिए । सोही सूचना आधारमा कास्कीमा ४ हजार १ सय जनाले फर्म भरेका थिए । तीमध्ये ९ सय ३५ महिला छन् ।
म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने तयारी छ । पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई प्राथमिकतामा राखिनेछ । मापदण्डको दोस्रो प्राथमिकतामा पूर्व वनरक्षक र सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु पर्ने छन् । शारीरिक छनोटको काम बिहीबार सकिएको छ । पास भएकाहरुको शुक्रबारदेखि लिखित परीक्षा हुनेछ । सशस्त्र प्रहरी गुल्म गण्डकी (पार्दी)मा संचालन गरेको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षामा उत्तीर्ण उम्मेदवारको लिखित परीक्षा दिउँसो १ बजेदेखि हुने कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
यस पटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनुपर्छ । मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानसरह ठाउँअनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म तलब पाउँछन् । प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चबापत १ हजार र बिमा सुविधासमेत पाउँछन् । छनोट समितिले आवेदनबाट योग्य व्यक्ति छानेपछि उनीहरुलाई १ साता तालिम दिइनेछ । तालिम लिएकालाई त्यसपछि चुनावी क्षेत्रमा खटाइनेछ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१