पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा न्याय दिने काम चुनौतीपूर्ण रहेको बताएकी छन् । जनताको घरदैलौमा पुगेर न्याय दिनु लोकतान्त्रिक शासन प्रणालीको सुन्दर पक्ष रहेको उनको धारणा थियो । पोखरामा सोमबार न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएकोसमेत बताइन् ।
उनले स्थानीय तहमै न्याय सम्पादन हुन थालेपछि जनतालाई सदरमुकामसम्म पुग्नुपर्ने झन्झट अन्त्य भएको हुँदा स्थानीय तहमै आवश्यक पर्ने मानवीय तथा भौतिक पूर्वाधारसहित यथेष्ठ स्रोत व्यवस्थापन गर्न सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ । पहिले–पहिले कचहरिले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ । यो लोकतन्त्रको सुन्दर उपहार हो ।’ उनले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड जरिवाना गर्ने कुरा लोकतन्त्रमा ठूलो हुने बताइन् । तर, समितिले न्याय दिंदा गम्भीर हुनुपर्ने बताइन् ।
सरकार सञ्चालन ऐन, २०७४ ले यो समितिलाई जनताका दैनिक जीवनमा आइपर्ने विवाद निरुपण गर्ने अधिकार प्रदान गरेकाले यसको विशिष्ट महत्व रहेको उनले बताइन् ।
जनताको न्याय सम्पादन र विकास कार्यमा हातेमालो गर्दै न्यायिक समिति पाँचवर्षे कार्यकालको अन्तिम क्षणमा आइपुगेको चर्चा गर्दै उनले यस अवधिले थप अनुभवी, परिपक्व र थप सक्षम बनाएको बताइन् । आगामी स्थानीय निर्वाचन स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न नेपाल सरकार, राजनीतिक दल र सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नागरिकलाई संविधानप्रदत्त अधिकारको प्रयोग गरी निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आग्रहसमेत गरिन् ।
नेपालमै पहिलो पटक पोखरामा न्यायिक सम्मेलन
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले न्यायिक समितिमा रहने व्यक्तिहरुको निष्पक्ष निर्णयले आमनागरिकको भरोसा बढ्दै जाने विश्वास व्यक्त गरे । सीमित स्रोत–साधन बाबजुद न्यायिक समितिमार्फत हुने न्यायिक निर्णयका धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ थियो । न्यायिक समितिको राष्ट्रिय सम्मेलनले आगामी दिनमा हुने कार्यलाई अझ प्रभावकारी बनाउन सघाउने गुरुङले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेलाको घोषणापत्रले पछिल्ला सरकारलाई मार्गनिर्देशन हुने तर्क राखे । संविधान जारी भएपछि महिलाको न्यायिक क्षमतामा सुधार भएको उनले बताए । समितिलाई सुविधासम्पन्न बनाउँदै आधुनिकतातर्फ लैजानुपर्ने बताउँदै न्यायिक समितिहरुको क्षमतामा निखरता ल्याउनुपर्ने धारणा राखे । न्यायिक समितिलाई सक्षम बनाउन तालिम, गोष्ठी, सेमिनार आवश्यक रहेको उनको भनाइ थियो ।
उच्च अदालत पोखराका मुख्य न्यायाधिवक्ता डिल्लीराम आचार्यले न्यायिक क्षेत्रलाई अधिकारको कमी भएको बताए । ‘न्यायिक समितिलाई स्रोतसाधनको पनि कमी छ,’ उनले भने, ‘स्रोतसाधन प्रमुखको हातमा छ न्याय दिनेलाई केही छैन ।’ उपप्रमुखलाई उचित बजेट छुट्याएर न्यायिक समितिको काममा सहयोग गर्नपर्ने उनको तर्क थियो । तालिम लिंदै दक्ष भएर दलीय भावनाभन्दा माथि उठेर न्यायसम्पादनको काम गर्न उनको सुझाव थियो ।
नेपालको संविधानको धारा २१७ ले न्यायिक समितिको व्यवस्था गरेको छ । आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ८ दफा ४६ देखि ५३ ले न्यायिक समिति कार्यसम्बन्धी व्यवस्था गरेको छ । देशभर ७ सय ५३ स्थानीय तह छन् ।
यसैबीच, पोखरा महानगरपालिकामा निर्वाचित काँग्रेसका जनप्रतिनिधिले सम्मेलन बहिष्कार गरेका छन् । सम्मेलनबारे आफूहरुसँग समन्वय नगरेको भन्दै कार्यक्रम बहिष्कार गरिएको पोखरा ९ का वडाध्यक्ष समेत रहेका काँग्रेस पोखरा महानगरपालिका सचेतक रामराज लामिछानेले बताए । पोखरामा कांग्रेसका ११ वडाध्यक्ष सहित कुल ४७ जनप्रतिनिधि रहेका छन् ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१