‘कांग्रेस एक ढिक्का भएको सन्देश’

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
caption

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँधस्थलबारे जानकारी गराइँदै । साथमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत । तस्बिरः कृष्ण न्यौपाने÷रासस

पोखरा । स्थानीय तहको चुनावी सरगर्मी चुलिन लाग्दा कांग्रेस सभापति एवं पार्टीका शीर्षनेता बिहीबार तनहुँकेन्द्रित भए । त्यसो त तनहुँ कांग्रेसका लागि उर्वरभूमि हो । यद्यपि गएको चुनावमा झिनो मतान्तरले कांग्रेसले पराजय भोगेको तीतो यथार्थ छ ।
पार्टीका शीर्षनेताको गठजोड र भनाइले पार्टी एक ढिक्का भएको संकेत दिएको छ । कार्यकर्ताले पनि सुखद अनुभूत गर्न पाए । शीर्षनेताको सामूहिक उपस्थितिले कार्यकर्ताबीच हौसला बढाएको हो ।
हेलिकोप्टरमार्फत बिहीबार प्रधानमन्त्री देउवा स्याङ्जाको चापाकोटको कार्यक्रम सकेर दिनभरजसो तनहुँका विभिन्न कार्यक्रममा सरिक भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल केही दिनदेखि गृहजिल्लामै थिए । चापाकोट उत्रिएका देउवाले दमौलीमा कार्यकर्ता भेटघाटमा आगामी तिनै तहको चुनावमा गठबन्धन कायम राख्नुपर्ने र पार्टीभित्र विगतमा भएको झगडा बिर्सिएर एकताबद्ध भएर लाग्न निर्देशन दिए । उनले तनहुँ महोत्सव उद्घाटनमा मुलुकले अब आर्थिक क्षेत्रमा फड्को मार्नुपर्ने धारणा राखे ।
देउवाले वर्तमान पाँचदलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताए । पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले लोकतन्त्र बचाउन पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।’ प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।

गठबन्धनलाई निर्वाचनसम्मै लैजानुपर्ने देउवाको भनाइ

वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै निर्वाचनमा तनहुँमा कांग्रेसले जित्नुपर्ने धारणा राखे । कार्यक्रममा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस नेताहरु डा. मीनेन्द्र रिजाल, शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुव वाग्ले, श्रममन्त्री किसान श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशका मन्त्रीद्वय बिन्दुकुमार थापा, दोवाटे बिक लगायत उपस्थित थिए ।
सभापति देउवा चापाकोटस्थित नवनिर्मित नगर कार्यपालिकाको प्रशासकीय भवन उद््घाटन सकेर दमौलीस्थित नेपाली सेनाको व्यारेकमा ल्यान्ड भएका हुन् । त्यसपछि रिसिङ गाउँपालिका वडा १ स्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना (१४० मेगावाट) अवलोकन गरे भने जिल्ला पार्टी कार्यालय दमौलीमा आयोजित कार्यकर्ता भेटघाटमा सरिक भए । दमौलीको वनबाटिकामा आयोजित तनहुँ महोत्सव उद्घाटन गर्नुका साथै अन्तिममा सिरिङमा गाउँपालिका कोटदरबारमा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा सरिक भए ।
तनहँुबाट केन्द्रसम्म प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरुबीचको द्वन्द्वले २०४८ देखि अपराजित वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७४ सालमा अन्तरघात हुँदा पहिलो पटक नमीठो हार बेहोर्नुपरेको थियो । प्रदेशसभा चुनावमा कांग्रेसका प्रदीप पौडेल मात्र ५ मतअन्तरले पराजय भएका थिए ।
पछिल्लो समय पार्टी एकता कसिलो बन्दै जाँदा विगतको परिणाम उल्टाउने पक्षमा कांग्रेस जिताऔं अभियान फलदायी हुने विश्वास तनहुँमा देउवा–पौडेल लगायत नेताहरुको उपस्थितिले देखाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width