श्रमिको हितका लागि गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह

रासस
चैत्र १०, २०७८
NTUC

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) ले नेपाली श्रमिकहरूको बहृत्तर हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । एनटियुसी र कांग्रेसबीच भएको सात बुँदे समझदारी कार्यान्वयन भए मात्र आमश्रमिकको जीवनस्तर उकास्न सकिने भएकाले सो समझदारीलाई पूर्णरूपमा कार्यान्वयन लैजान आग्रह गरिएको हो ।

एनटियुसीले अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले लिएको श्रमनीति, आइएलओ अभिसन्धि ८७, नेपालको संविधान, श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन गराउन समझदारी गरेको थियो । समझदारीपत्रमा श्रमिक वर्गको जीवनस्तर उकास्न निःशुल्क शिक्षा, स्वास्थ्य र अनिवार्य रोजगारीलगायत विषयलाई आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न र राज्यको स्रोत तथा साधनमा श्रमिकका स्वामित्व सुनिश्चित गराउनुपर्ने उल्लेख छ ।

यस्तै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्न, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई निर्वाचनमा मताधिकारका लािग पहल गर्न, कांग्रेसका सबै संरचनामा कम्तीमा एक महिला र एक पुरुष श्रमिक प्रतिनिधित्वका लागि वैधानिक प्रबन्ध मिलाउने समझदारी भएको थियो । यस्तै राज्यको नीति निर्माण र निर्णय प्रक्रियाका सबै तहमा कम्तीमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्न , श्रम क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरण गर्न असल औद्योगिक सम्बन्ध स्थापित गर्दै उद्योगमैत्री वातावरण बनाएर उत्पादकत्व र रोजगारी वृद्धिका लागि उचित पहल गर्ने र यसका लागि सामाजिक संवाद र सामूहिक सौदावाजीको प्रक्रियालाई प्रभावकारी बनाउने समझदारी भएको थियो ।

समझदारीपत्रमा तत्कालीन नेपाल ट्रेड युनियन कांग्रेस–स्वतन्त्र राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मणबहादुर बस्नेत र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले २०७० भदौ ९ गते हस्ताक्षर गर्नुभएको थियो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सीमित सङ्गठित क्षेत्रमा पनि पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको, अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई अझै पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकेको भन्दै एनटियुसीले श्रमिकका उक्त उपलब्धिलाई कार्यान्वयन गर्न आग्रह गरेको हो । संस्थापक अध्यक्ष स्व गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको सन्दर्भ पारेर यही चैत ७ र ८ गते भएको राष्ट्रिय समितिको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकार र राजनीतिक दलहरु श्रमजीवीहरूको भविष्यप्रति संवेदनशील हुन नसकेको आरोप लगाउनुभयो ।

“ट्रेड युनयिनहरूले श्रमिकको पक्षमा वकालत र दबाब दिँदै आएका छन्”, उहाँले भन्नुभयो, “श्रम ऐनले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनमा सरकार र राजनीतिक दल संवेदनशील बन्न सकेनन् ।” रोजगारदाता इमान्दार नहुँदा सामाजिक सुरक्षा योजनाको कार्यान्वयन प्रभावकारी बन्न नसकेको भन्दै उहाँले यसमा सरकारको इच्छाशक्तिको कमी देखिएको गुनासो गर्नुभयो ।

एनटियुसी बैठकले संविधानदेखि सबै पार्टीका प्रमुख नीति समाजवाद भए पनि कार्यक्रम भने त्यसको विपरीत हुने गरेको निष्कर्ष निकालेको महासचिव योगन्द्रकुमार कुँवरले जानकारी दिनुभयो । “नेपाली कांग्रेससमेत समाजवादको बाटोमा अलमलिएको छ, श्रमिकमैत्री नीति र कार्यक्रमको अभाव छ”, बैठकका निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “कांग्रेसले समेत पछिल्ला दिनमा श्रमिक तथा किसानलाई उपेक्षा गरेको बैठकको ठहर छ ।”

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width