पल जालान् जेल ?

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७८
pal

पोखरा । नावालिका बलात्कार अभियोग खेपिरहेका अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा जाने वा रिहा हुने भन्नेबारे बिहीबार टुंगो लाग्ने भएको छ ।
अभिनेता शाह र उनका म्यानेजर कृष्ण जोशीविरूद्ध बुधबार तनहुँ जिल्ला अदालतमा बहस भयो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासमा भएको बहसमा वादीकातर्फबाट बहस भएको र बिहीबार प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने छन् । बिहीबार नै थुनछेक बहस सकिए शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने आदेश हुन सक्छ ।
पीडितका तर्फबाट राधिका खतिवडालगायतले बहस गरेका हुन् । दुवैतर्फका कानुन व्यवसायीले बहस गरिसकेपछि अदालतले थुनछेक आदेश जारी गर्ने व्यवस्था छ । पीडितका कानुन व्यवसायी टंकप्रसाद पौडेलका अनुसार पल पुर्पक्षका लागि थुनामा जाने आदेश आउने सम्भावना बढी छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पलविरूद्ध अधिकतम् १४ वर्ष र उनका म्यानेजर कृष्णलाई मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र अदालतमा दर्ता गरेको थियो । मुद्दा दर्तासँगै अदालतले पलसँग र बुधबार कृष्णसँग बयान लिएको हो ।
अदालतले लिएको बयानमा पल र कृष्ण दुवैले जिल्ला न्यायाधिवक्ता र प्रहरी अनुसन्धान अधिकृतसमक्ष दिएको बयान नै दोहो¥याएका छन् । अभियोगपत्रमा उल्लेख भएअनुसार पलले बलात्कार अस्वीकार गरेका छन् । उनका म्यानेजर कृष्णले बलात्कार अभियोग मिलाउन पलले तलब दोब्बर मासिक ५० हजार दिएको, पीडितका आफन्तलाई ५० लाख रुपैयाँसम्मको आर्थिक प्रलोभन र मान्छे मार्न पनि पछि नपर्ने स्वीकारी बयान दिएका छन् ।
गत फागुन ११ मा नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि उनले फागुन १५ मा तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । सोही दिन प्रहरीले शाहविरुद्ध ७, २१ गते १२ र चैत ४ मा ५ दिन म्याद थप गरी सोमबार अभियोगपत्र दायर गरेको थियो ।
यसअघि पलविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । उनीविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । जसमा १२ देखि १४ वर्ष जेल सजाय हुने उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width