पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी एक्लै आफ्नै खुट्टामा उभिने गरी चुनावी तयारी थालेको बताएका छन् । तोकिएकै मितिमा स्थानीय निर्वाचन हुने दाबीसहित उनले माओवादी आफ्नै बलमा चुनाव लड्न सक्ने बताएका हुन् । ‘निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने आम सवाल छ । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो,’ उनले भने, ‘अरुको बैसाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौं । माओवादी एकचोटि आउनैपर्छ भन्ने जनताको अभिमत छ ।’
अहिलेको अवस्थामा माओवादी एक्लै पहिलो पार्टी बन्ने उनको जिकीर छ । ‘देशभरिको स्थिति हेर्दा पहिलो पार्टी बन्ने सम्भावना छ । कार्यक्रममा उभार राम्रो छ । माओवादी नै रहेछ देश बचाउने भन्ने भएको छ,’ उनले थपे । प्रचण्डले माओवादीप्रतिको जनआकर्षणले अरु पार्टी आफूसँग गठबन्धनका लागि आउने बताए । ‘माओवादीप्रति सकारात्मक जनमत बनेको छ । हामी होइन, हेर्नुहोला । एकमहिनामा अरु सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ,’ उनले अघि भने, ‘किनभने देशको परिवर्तनको बाहक हामी हो । यो चेतना सबैलाई आउँदै छ ।’ २०६४ को चुनावमा समेत माओवादीलाई कसैले नपत्याए पनि जनताले बहुमत दिएको टिप्पणी उनको छ । ‘हामी ६४ मा शान्ति सम्झौता गरेर आउँदा पनि चुनाव जित्छ भन्ने अवस्था थिएन । पूराना दलले ५ सिट आउँछ होला भन्थे । कहिले १० सिट दिन्थे । तर जनताले यथार्थ देखाइदिए । प्रत्यक्ष निर्वाचनमा हामी बहुमत हो ।’ अहिलेको गठबन्धन संविधान र राष्ट्रियताको रक्षाका लागि भएको भन्दै उनले प्रतिनिधिसभा खारेज भएको भए देश अँध्यारो सुरुङमा छिर्ने उनको भनाइ छ । गठबन्धनबाटै त्यस्तो प्रवृत्ति परास्त गरेको उनले सुनाए । यो गठबन्धन तत्काल नटुट्ने प्रचण्डले बताए ।
जनताका मुद्दाहरु माओवादीको प्रमुख एजेन्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए । चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताए । ‘अहिले नै एमालेसँग गठबन्धन भैहाल्छ भन्न खोजेको होइन । राजनीतिमा असम्भव भन्ने केही छैन भन्ने कुरा पटक पटक भनेको छु । केपीजीलाई २ पटक प्रधानमन्त्रीको प्रस्ताव मैले नै गरेको हो । शेरबहादुरजीलाई २ पटक प्रधानमन्त्रीको प्रस्ताव मैले नै राखेको हुँ,’ एमालेसँग तालमेल हुने कुरामा पत्रकारले राखेको प्रश्नमा उनले भने, ‘राजनीतिमा असम्भव केही नहुने रहेछ नि । केपीले मलाई र हाम्रो पार्टीलाई कहिल्यै प्रस्ताव गर्नुभएन । शेरबहादुर जीले एक पटक मलाई गर्नुभयो । यदि नेपाली कांग्रेसले भाषा सुन्नै गाह्रो हुने गरी पाखा लगाउँछ भने विकल्प खोज्नुपर्छ । अहिले हामी त्यता सोचेका छैनौं । यही गठबन्धनलाई लिएर जानुपर्छ ।’
उनले निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे । ‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन् । म भन्छु स्थानीय निर्वाचन वैशाख ३० गते नै हुन्छ,’ अघि भने, ‘यसमा द्विविधा पाल्नुपर्ने कुनै कारण छैन । चुनावको तयारीमा लाग्न म आग्रह गर्छु ।’ संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने बताए । प्रचण्डले फरक प्रसंगमा प्रतिगमनको प्रवृत्ति कायम रहेको बताए । ‘एउटा प्रवृत्तिले संघीय लोकतान्त्रिक गणतन्त्र मन पराउँदैन । पोहोर साल पटक पटक विघटन गरियो । त्यो सदनमात्रै विघटन थिएन । संविधान विघटन गर्न खोजिएको हो,’ उनी भन्छन्, ‘जनताले पाएका अधिकार खोस्न खोजिएको हो । अहिले पनि त्यसलाई उल्ट्याउने प्रयत्न भइरहेको छ । गठबन्धनको बलमा त्यो प्रवृत्ति परास्त त गरियो, सदन ६ महिनादेखि विना तर्क अवरुद्ध गरेर त्यही पुनरावृत्ति गर्न खोजिएको छ ।’ प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले परिवर्तनका उपलब्धिलाई रक्षा गर्न सबै एकजुट हुनपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१