हिम्मतवाली छोरीलाई छेकेन उमेरले

धनबहादुर गुरुङ
चैत्र ५, २०७८
fencing story~main (2)

पोखरा । उमेर एघारमात्र लागेकी पोखराकी प्रतीक्षा राना फेन्सिङ (तरबारबाजी) को ‘सोड’ समाउन थालेको डेढ महिनामात्रै भयो । एक महिनाको सिकाइले उनलाई जोसँग पनि भिड्ने आँट पलाएको छ । अहिले उनीसँग जस्तोसुकै प्रतियोगितामा पनि भिड्ने हिम्मत छ ।
काठमाडौंमा फागुन २१ देखि २३ सम्म वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता भयो । टिम च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भयो तर चर्चामा रहिन्, प्रतीक्षा । तीनदिनसम्म चलेको प्रतियोगितामा प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरी ६ टिमको सहभागिता रहेको थियो । १२ स्वर्ण पदकका लागि १ सय १४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये सबैभन्दा कान्छी प्रतीक्षाले सबैको ध्यान तानेकी थिइन् । यसरी सबैको ध्यान खिच्नुमा उमेर एउटा कारण थियो भने उनको प्रदर्शन अर्को बलियो प्रमाण ।
प्रतियोगितामा उनी निकै आत्मविश्वासी देखिइन् । उनले हरेक व्यक्तिगत स्पर्धामा दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भइसकेका दिदीहरुसँग पनि डगमगाइनन् । फेन्सिङमा उमेर र उचाइले उतिसारो प्रभाव पार्दैन । जसले गर्दा उनमा कुनै डर थिएन । प्रतियोगितामा महिलाको व्यक्तिगत इपीमा उनको प्रतिस्पर्धा हुने भने भयो, एपिएफकी सुदिनासँग । सागमा समेत खेलिसकेकी सुदिनालाई उनले पराजित गरिन् । सिनियर खेलाडी पराजित गर्दै सबैलाई आश्चर्यमा पारिन् भने त्यो जीतले उनमा झनै ऊर्जा थप्यो । उनले पहिलो चरणमा २ जनालाई जित्दै अन्तिम १६ मा नाम लेखाइन् । अन्तिम १६ मा उनको प्रतिस्पर्धी थिइन्, विभागीय टोली त्रिभुवन आर्मी क्लबकी शान्ति भण्डारी । सागको समेत अनुभव लिएकी भण्डारीलाई समेत समीक्षाले कडा टक्कर दिइन् । निकै प्रतिस्पर्धात्मक खेलमा प्रतीक्षाले १०–४ ले पराजय बेहोरेकी भोगिन् । प्रतियोगिता हारे पनि उनी सबैको मनमस्तिष्कमा बस्न सफल भइन् ।
फेन्सिङको ‘सोड’ समात्नु अघि उनी तेक्वान्दो खेल्थिन् । ३ वर्ष बढी तेक्वान्दोमा रमाएकी प्रतीक्षा पछिल्ला समय फेन्सिङमा पनि रमाउन थालेकी छिन् । हला पोखरा १०, वीरेन्द्रचोकमा रहेको एब्सुलुट तेक्वान्दो डोजाङमा रेखमाया गुरुङ र छवि गुरुङबाट प्रशिक्षण लिंदै आएकी छन् । तेक्वान्दोमा उनले कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपमा जुनियरतर्फको पुम्सेमा स्वर्ण जितेकी थिइन् । साथै काठमाडौं इन्टरनेसनल भर्चुअल तेक्वान्दो च्याम्पियनसिपमा काँस्य पदक जितेकी थिइन् । यस्तै स्थानीयस्तरमा आयोजित अन्तरडोजाङ प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।
एब्सुलुट मै रेखमाया र छविसँग उनले तेक्वान्दोसँगै फेन्सिङ पनि सिक्दै आएकी छिन् । उनको प्रदर्शनबाट प्रशिक्षक रेखमाया पनि खुसी छिन् । ‘प्रतीक्षाले तेक्वान्दोमा पनि राम्रो गरिरहेकी छिन्,’ प्रशिक्षक रेखमायाले भनिन्, ‘फेन्सिङमा झनै सबैको ध्यान तानेको देख्दा प्रशिक्षकको नाताले म निकै खुसी छु ।’

११ वर्षीया प्रतीक्षा राना फेन्सिङमा उदियमान खेलाडी हुन्

पोखराको कोलपाटनस्थित रेन्बो एकेडेमीमा कक्षा ५ मा अध्ययनरत प्रतीक्षाले पनि दुवै खेललाई अगाडि बढाउने योजना बनाएकी छन् । ‘दुवै खेलमा राम्रो गरिरहेको छु । त्यसैले दुई वटै खेललाई अगाडि बढाउने सोचेकी छु’, प्रतीक्षा भन्छिन्। फेन्सिङमा अझ राम्रो गर्दै नवौं राष्ट्रिय खेलकुदमा भाग लिने सोच बनाएकी उनलाई उमेरले रोक्नेवाला छ । १३ वर्ष उमेरको हदबन्दी नभएमा राष्ट्रिय खेलकुद हुँदै सागमा भाग लिने ध्याउन्नमा छिन् ।
उनको खेल जीवनमा परिवारको पनि राम्रै साथ र सहयोग छ । परिवारकी एक्ली सन्तान प्रतीक्षालाई पढाउनकै लागि तनहुँको घिरिङबाट उनको बाबा आमा २०७२ सालतिर पोखरा झरेका हुन् । सानोमा रोगले ग्रसित हुने समस्या भोगेकी उनलाई उनकी आमा मनु रानाले एब्सुलुट तेक्वान्दो डोजाङमा भर्ना गरिदिएकी थिइन् । डोजाङमा गएर खेल्न थालेपछि उनी बेला–बेलामा बिरामी हुने समस्या पनि हट्यो । त्यसैले पनि उनको परिवार समीक्षालाई खेलभन्दा अरुतर्फ मोड्न चाहन्नन् । उनकी आमा मनु पनि पोखरामा ब्याडमिन्टनकी चिनिएकी खेलाडी हुन् । त्यसैकारण पनि उनलाई निकै सहज भएको छ । उनी पनि प्रतीक्षा तेक्वान्दो र फेन्सिङ दुवैमा राम्रो गर्न सक्ने भएकाले दुईवटै खेलमा अघि बढोस भन्ने चाहन्छन् ।

के हो फेन्सिङ ?

झट्ट हेर्दा अन्तरीक्ष यात्रीजस्तो बनेर २ व्यक्तिबीच प्रतिस्पर्धा हुने फेन्सिङ खेल १५ औं शताब्दीबाट फौजी संगठनमा सीमित रहने गरी सुरु भएको खेल हो । यसको सुरुवात कसले गरेको भन्नेबारे जर्मनी र इटलीबीच विवाद छ । ऐतिहासिक प्रमाणका आधारमा १५ औं शताब्दीको अन्त्यतिर जर्मनीको फ्र्यांकफर्टमा पहिलोपल्ट यो खेलको प्रतियोगिता आयोजना भएको थियो । सुरुवात जहाँबाट भए पनि फ्रान्सले यो खेलको प्रचार, विकास र विस्तार गरेको हो । यो खेलमा प्राविधिक शब्दहरु फ्रेन्च भाषाकै छन् ।
फेन्सिङका ३ विधा छन्–इपी, फोइल र स्यावर । यो खेलका लागि जिन्सको सुट, टाउकोको सुरक्षाका लागि मास्क (हेलमेट पनि बुझ्न सकिन्छ) र तरवार आवश्यक पर्छ । १४ मिटर लामो र १.५ देखि २ मिटरसम्म चौडाइको खेलस्थल (जसलाई पिस्ट भनिन्छ) मा २ खेलाडीले दुईतिरबाट तरबारले शरीरमा प्रहार गर्नुपर्छ ।
फोइल विधाका लागि शरीरमा एउटा विशेष इलेक्ट्रिक ज्याकेट लगाइएको हुन्छ । तरबारले सोही ज्याकेटको एरियामा मात्र प्रहार गर्नुपर्छ । स्यावर विधाका लागि इलेक्ट्रिक ज्याकेट, दुवै हात र टाउकोमा पनि प्रहार गर्न पाइन्छ अर्थात् कम्मरभन्दा माथि जुनसुकै स्थानमा तरबारले प्रहार गर्दा पनि मान्यता पाइन्छ । ग्रिसको एथेन्स सहरमा सन् १८९६ मा भएको पहिलो ओलम्पिकमा समावेश गरिएका ९ खेलमध्ये एक थियो– फेन्सिङ । यस अर्थमा फेन्सिङलाई ओलम्पिककै सबैभन्दा पुरानो खेलभन्दा फरक पर्दैन । तर नेपालमा भने फेन्सिङ आफ्नो पहिचान स्थापित गर्न संघर्षरत छ ।
नेपाल फेन्सिङ संघ उपाध्यक्ष एवं कास्की जिल्ला अध्यक्ष विजय शाही पोखरामा फेन्सिङ खेल्न चाहनेहरू धेरै भए पनि खेल सामग्री अभावमा प्रशिक्षणमा समस्या भएको बताउँछन् । ‘पुरानो खेल भएपनि पोखरामा धेरै चुनौतीबीच अगाडि बढेको छ,’ उनले भने, ‘ट्रेनिङ ग्राउन्ड, प्रशिक्षकको समस्या त छँदैछ त्यसमाथि खेल सामग्री र ज्याकेट, ग्लोब्स अनि सोड किन्दा करिब १ लाख खर्च हुन्छ ।’

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width