उत्पादनमुखी अर्थतन्त्रमा जोड

रामशरण नेपाली
फागुन २७, २०७८
lekhnath Festival~

लेखनाथ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र हुनुपर्नेमा जोड दिएका छन् । १७ औं लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै मन्त्री शर्माले कोरोनाले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले उत्पादनमा वृद्धि गर्नुपर्ने बताए । उनले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको अभिन्न अंगको रुपमा लिएको बताउँदै उद्योगी व्यवसायीका लागि पुनर्कर्जासमेत व्यवस्था गरेको जानकारी दिए ।
उनले कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्न कृषकलाई अनुदान नभइ प्रोत्साहन दिइने व्यवस्था गरिनुपर्ने उनका जोड छ । कृषिसँगै पर्यटन विस्तार र जलविद्युत खपतमा सरकारले ध्यान दिएको बताउँदै विकासका पूर्वाधारमा सरकार प्रतिबद्ध रहेको बताए । बैंकमा व्याजदर बढेकोमा दुख व्यक्त गर्दै उनले विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेर नीतिगत निर्णय गर्ने आश्वासन दिए । पोखरा–काठमाडौंलाई छोटो दुरीमा जोड्ने सम्भावनातिर आफू लागिपरेको उनको भनाइ छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उद्योग वाणिज्य संघले व्यक्तिकेन्द्रित कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व मन्त्री यज्ञबहादुर थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्र कस्की अध्यक्ष बखानसिंह तमु, नेकपा एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, नवलपुर उद्योग वाणिज्य संघ अध्यक्ष बासुराज पोख्रेल, महोत्सव मुख्य प्रायोजक इको प्यानलका तर्फबाट सुवोध त्रिपाठी, संघका उपमहासचिव जानुका पराजुली लगायतले विभिन्न जातजाति, समुदाय, आमा समूहको झाँकी र्‍याली प्रस्तुतिले विकास निर्माणमा सबै दल एकजुट भएर लाग्नुपर्ने सन्देश दिएको बताए ।

१७ औं लेखनाथ महोत्सव तालचोकमा आगामी चैत ७ सम्म चल्नेछ

महोत्सव मूल आयोजक समिति संयोजक एवं संघ अध्यक्ष छत्रधर आत्रेयले आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताए । कोभिड १९ को कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउने आत्रेयले बताए ।
महोत्सव उद्घाटन पूर्व स्थानीय संघसंस्था, टोल विकास संस्था, जातजाति, आमा समूहहरुको झाँकी ¥याली तथा भेषभूषा प्रदर्शन समेत गरिएको कार्यक्रमको सञ्चालन संघ महासचिव उपेन्द्र राज (राजु) सुवेदी गरेका थिए ।
चैत ७ सम्म तालचोकमा संचालन हुने सो महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य, विभिन्न जातजातिको झाँकी र्‍याली तथा भेषभूषा प्रदर्शन, कलाकारको प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, कन्सर्ट लगायत हुने प्रचार संयोजक गोपीचन्द्र बास्तोलाले बताए ।
महोत्सवको बचत रकम प्रदर्शनी स्थल र संघको भवनको स्तरोनति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ वेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा वेगनासताल परिसरमा डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने बताइएको छ । यसअघि माघ दोस्रो साता तय भएको महोत्सव कोरोना महामारीको कारण स्थगित भएको थियो । आयोजकका अनुसार महोत्सवमा ३ सय स्टल छन् । करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवमा करिब १० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । साथै महोत्सवमा करिब १ करोड ५ लाख आम्दानी भइ १५ लाख बचत हुने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width