कोरोनामुक्त भयो पर्वत

रासस
फागुन २६, २०७८
Corona Banner

पर्वत । पर्वत कोरोना सङ्क्रमणमुक्त भएको छ । सङ्क्रमित सबै मुक्त भएसँगै जिल्ला सङ्क्रमण शून्य जिल्ला बनेको हो । पहिलो, दोस्रो र तेस्रो लहरमा सङ्क्रमित भएकामध्ये सबै सङ्क्रमणमुक्त भएपछि जिल्ला नै कोरोनामुक्त बनेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

आज थप दुई जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणको सङ्ख्या शून्य भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा सङ्क्रमित भएका ८१४ जनामध्ये सबै मुक्त भएका छन् । तेस्रो लहरमा एक हजार ६५७ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर परीक्षणमा २८ जना र एन्टिजेन परीक्षणबाट ७८६ जनामा पोजेटिभ देखिएको थियो ।

तेस्रो लहरमा पर्वतमा दुई जनाले ज्यान गुमाएका छन् भने हालसम्म जिल्लाभर कोरोना सङ्क्रमणबाट ७९ जनाले ज्यान गुमाएका छन् । पर्वतमा कोरोना पोजेटिभ हुनेदर झण्डै ४९ प्रतिशतसम्म पुगेको थियो । स्वास्थ्य कार्यालय पर्वतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण रेग्मीले अहिलेको लहर जिल्लामा नियन्त्रणमा आए पनि फेरि फैलनसक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width