रत्नेचौर धार्मिक महोत्सव सुरु

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
cm pokharel myagdi

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सबै धर्म समान भएको बताएका छन् । बेनी १, रत्नेचौरमा आयोजित ‘रत्नेचौर धार्मिक महोत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन् ।
उनले धार्मिक क्षेत्रमा पनि रचनात्मक प्रतिस्पर्धा हुन जरुरी रहेको बताए । खुला समाज र खुल्ला व्यवस्थामा भएकोले हरेक क्षेत्रमा रचनात्मक प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । ‘हामी सबै खुला समाज, खुला व्यवस्था र समानताका आधारमा अगाडि बढ्न चाहन्छौं , यसका लागि हरेक क्षेत्रमा रचनात्मक प्रतिस्पर्धा हुन जरुरी छ ,’उनले भने ।
उनले कालिगण्डकी सबैको आस्था, धरोहर, संस्कृति र सभ्यता भएको बताउँदै कालिगण्डकीको सांस्कृतिक विकासको लागि प्रदेश सरकारले पहल थालेको बताए । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी भएकोले गण्डकी प्रदेशलाई शालिग्राममार्फत विश्व सामु चिनाउने अभियान थालिएको बताए । समाज विकास र परिवर्तनमा धार्मिक गुरुहरुको महत्वपुर्ण भुमिका रहेको समेत उनले उल्लेख गरे ।
कोरोलादेखि त्रिबेनी मोक्षधाम सम्मको सडक निर्माणलाई तीव्रता दिन जोड दिएको बताए । ‘धार्मिक पर्यटक बढाउन धार्मिक सर्किटको रुपमा मुक्तिनाथ–लुम्बिनी–जनकपुर– विन्धवासिनी–मुक्तिनाथ रहेका छन् । सबै धार्मिक स्थललाई जोडेर भोलिका दिनमा धार्मिक पर्यटक प्रवद्र्धन गर्ने प्रदेश सरकारको मुख्य उद्देश्य हो,’ मुख्यमन्त्री पोखरेलले भने ।
गण्डकी प्रदेश बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक भएकोे उनले बताए । ‘गण्डकी प्रदेशभित्र सबै चिजमा विविधता जुन छ त्यो भित्रको एकता सबै धर्मालम्बीहरुको आस्था, विश्वास, केन्द्रको रुपमा अगाडि बढाउन चाहन्छौं, यसमा यहाँहरुको पनि सहयोग रहनेछ ,’ उनले आग्रह गर्दै भने ।
यसैगरी, मधेश प्रदेशको ३ दिने भ्रमण गरी फर्किएका मुख्यमन्त्री पोखरेलले जानकी मन्दिर, पोखरा र मुक्तिनाथको सम्बन्ध स्थापित गरेर धार्मिक पर्यटनमा प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । आगामी फागुन ३० सम्म ‘रत्नेचौर धार्मिक महोत्सव’ सञ्चालन हुने मन्दिरका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले बताए ।
लक्ष्मीहरि भगवान मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका संयोजक महतले जानकारी दिए । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । प्रचारप्रसार संयोजक विक्रम बोगटीले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कांग्रेस म्याग्दीका सभापति, संविधानसभा सदस्य तथा कांग्रेस म्याग्दीका पूर्व सभापति रेशमबहादुर बानियाँ, उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल, वडा अध्यक्ष टेकबहादुर रावल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग