मुस्ताङमा फेरि हिमपहिरो

प्रकाश ढकाल
फागुन २१, २०७८
mustang-himphairo_0hFxN42W35_W5PR62mn9k

मुस्ताङमा खसेको हिमपहिरो । फाइल फोटो।

पोखरा । मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । हिमपहिरोका कारण त्यहा दर्जनौं चौंरी मरेका छन् । शनिबार बिहान बस्तीमाथिको हिमालबाट पहिरो खस्दा हिमालको फेदमा रहेको गोठ पुरिएको हो । स्थानीय किसानले पालेका ४० चौंरीमध्ये २६ वटा मरेका छ । घटनाको क्षतिबारे अझै यकिन भएको छैन । महिनैपिच्छे हिउँपहिरो झर्न थालेपछि गाउँले त्रसित छन् । किसानले खर्कबाट गोठ सार्न थालेका छन्।

थासाङ गाउँपालिका २ मा पर्ने मानापाथी हिमालको फेंदमा बिहान करिब ४ बजे हिउँपहिरो झरेको स्थानीयले बताएका छन् । ‘सम्पत्ति भनेकै त्यहि चौंरी हो । व्यापार छैन, खेती किसानी पनि छैन,’ उनले भनिन्, ‘चौंरी सबै गयो । के गरेर खाने ?’ उनकै गोठको चौंरी पहिरोमा पुरिएका हुन् । ‘गाईबस्तु चराउनै नसकिने भयो । राति नि भन्न सकिएन, दिउँसो पनि सकिएन । यतिबेला आउँछ भन्ने थाहा भएन,’ उनी अघि भन्छिन्, ‘चर्ने चरन सबै पहिरोले लग्यो । अब त्यता जाने बाटै बन्द भयो।’

पहिरो झर्नुअघि नै गोठालो गाउँ झरेकोले मानवीय क्षति भने हुन नपाएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल बताउँछन् । ‘के कति क्षति भयो भन्ने यकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उनले भने, ‘कात्तिकमा पहिरो झरेकै ठाउँबाट अहिले पनि झरेको हो ।’ उनले जलवायु परिवर्तन असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताएका छन् । ‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायु परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिलै नबेहोरेको सुनाउँछन्।’

थासाङ गाउँपालिका २, मानापाथी हिमालको फेंदमा शनिबार बिहान करिब ४ बजे हिउँपहिरो झरेको हो ।

कात्तिक तेस्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । ३ महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो । पछिल्लो समय मुस्ताङमा अधिक हिमपात हुने र हिउँपहिरो खस्ने क्रम बढेको छ । जलवायु परिवर्तनको प्रमुख असर मुस्ताङमा परेको छ । केही समयअघि गरिएको एउटा अध्ययनअनुसार नेपालमा सबैभन्दा बढी तापक्रम वृद्धि मुस्ताङमै हुने गरेको छ । अरु ठाउँमा १ सय वर्षमा बढ्ने तापक्रम मुस्ताङमा १० वर्षमै बढेको देखाएको थियो । यस्ता घटना छिटो–छिटो दोहोरिने सम्भावना रहेको जलवायु विज्ञ डा. मञ्जित ढकाल बताउँछन्।

‘पहिले १० वर्षको अन्तरालमा प्रकोपको पुनरावृत्ति हुन्थ्यो । अब भने ३ वर्षमै ठूला प्रकोपहरु दोहोरिन्छन्,’ उनले भने । पृथ्वीको तापक्रम १ सय वर्षमा १.१ डिग्री बढेको अध्ययनले देखाएको छ । नेपालको तापक्रम वर्षेनी ०.०५६ डिग्रीले बढेको छ । तर मुस्ताङमा हरेक १० वर्षमा १ डिग्री तापक्रम बढेको ढकालले बताए । ‘यो सामान्य घटना होइन । मुस्ताङ अब नेपालको लागि सेन्सेटिभ क्षेत्र हो,’ उनले थपे, ‘मुस्ताङमा हिमपहिरो झर्ने क्रम धेरै हुन्छ र छिटो–छिटो यस्ता घटना दोहोरिरहन्छ ।’ जलवायु परिवर्तनकै असरले मुस्ताङ लगायत हिमाली क्षेत्रमा अस्वभाविक बदली भएको उनको तर्क छ । कात्तिकमा झरेको पहिरोका कारण ९ जना घाइते भएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width