पुल नहुँदा वारपार गर्न नागरिकलाई सास्ती

रासस
फागुन २१, २०७८

भजनी । लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ । दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीयवासी टीकापुर आउँछन् भने टीकापुरका स्थानीयवासी शान्तिबजार पुग्छन् ।

गेरुवा गाउँपालिकामा रहेको शान्तिबजारको व्यापारिक केन्द्र पनि टीकापुर हो । टीकापुरबाट सामान लिएर बिक्री गर्ने थुप्रै व्यापारी छन् । त्यहाँबाट बर्दियाको राजापुरभन्दा नजिक टीकापुर पर्छ । त्यसैले पनि त्यहाँका नागरिकलाई टीकापुर आउन सजिलो छ । आउन सजिलो भए पनि त्यसको बन्देज कर्णाली नदीले लगाएको छ । कर्णाली नदी तरेर आउन सम्भव नभएको र सहजरूपमा आउनलाई पुल पनि छैन ।

वर्षौंदेखि शान्तिबजार र टीकापुर जोड्ने सन्कट्टीमा डुङ्गा सञ्चालन हुँदै आएको छ । नागरिकको ओहोरदोहोरको माध्यम वर्षौंदेखि त्यहीँ डुङ्गा बनेको छ । शान्ति बजारका बासिन्दा किशोर चौधरीलाई दैनिक टीकापुर ओहोरदोहोर गर्नुपर्छ । व्यावसायिक कामकाजका लागि डुङ्गामा ओहोरदोहोर गर्दा उहाँको निकै खर्च हुने गरेको छ । “राजापुर हुँदै टीकापुर आउन धेरै टाढा छ । सनकट्टीबाट आउँदा खर्च बढी हुन्छ”, किशोर भन्नुहुन्छ, “दैनिक रु १०० डुङ्गा चडेको मात्रै तिर्नुपर्छ । शान्ति बजारबाट टीकापुरसम्मको आवतजावत गर्न सहज भए मेरो मासिक रु तीन हजार रुपैयाँ बच्थ्यो ।”

टीकापुर नगरपालिका वडा नं २ का विकास विश्वकर्माको गुनासो पनि उस्तै छ । उहाँलाई पनि बर्दिया र टीकापुर ओहोरदोहोर गरिरहनुपर्छ । व्यवसायका लागि दैनिक ओहोरदोहोर गर्दा निकै खर्च हुने गरेको विकास बताउनुहुन्छ । “दिनभरि कमाएको पैसा नदी तर्दा सकिन थाल्यो । काम नगरेर पनि हुँदैन । घर एकातिर र व्यापार अर्कोतिर हुँदा निकै समस्या भएको छ ।” उहाँ भन्नुहुन्छ, “कर्णाली नदीमा पक्की पुल बन्ने कुरा पटकपटक सुनिन्थ्यो तर त्यो कुरामै सीमित भएजस्तो छ । नदीमा पुल भए सहजरूपमा आवतजावत गर्न सकिन्थ्यो ।” आफू अनुकूल नभएर नदीमा डुङ्गा अनुकूल आफूहरु चल्नु परेको छ तर पुल भएको भए जतिबेला पनि आवतजावत गर्न सकिने उहाँ बताउनुहुन्छ ।

टीकापुरका चन्द्रकान्त अधिकारी सन्कट्टीमा पुल निर्माणका लागि स्थानीय राजनीतिक दलले प्रत्येक निर्वाचनमा चुनावी एजेन्डा बनाए पनि त्यसले पूर्णता नपाएको बताउनुहुन्छ । “मैले धेरैपटक सनकट्टीमा पुल निर्माण हुन्छ भनेर सुनेको छु । त्यो पुल अझै पनि निर्माण हुन सकेको छैन । त्यसभन्दा पछाडि सुरु भएको कुइने पुल निर्माणको अन्तिम चरणमा छ”, उहाँ भन्नुहुन्छ, “नागरिकलाई भ्रममा पार्ने काम पुल निर्माणको हल्लाले गर्दै आएको छ । टीकापुरका लागि सम्कट्टीमा पुल महत्वपूर्ण थियो ।”

चालू आर्थिक वर्षमा सनकट्टीमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन भएको भन्दै सरकार पक्षका स्थानीय नेता तथा कार्यकर्ताले खुसी मनाएका थिए । आर्थिक वर्षको तेस्रो चौमासिक सम्पन्न हुन पनि अब एक महिना मात्रै बाँकी छ । अहिलेसम्म पुलको सर्भेक्षणका लागि न त कुनै प्राविधिक टोली आएको छ, न त पुल निर्माणका लागि अन्य कुनै प्रक्रिया नै अगाडि बढेको छ । नागरिकमा एक प्रकारको भ्रम सिर्जना गरेर त्यसैलाई आफ्नो राजनीतिको अस्त्र बनाएको जस्तो मात्रै देखिएको स्थानीयवासीको गुनासो छ ।

सङ्घीय सरकारले पुल निर्माण बहुवर्षीय आयोजनाअन्तर्गत राख्ने भन्दै रु दुई करोड बजेट विनियोजन गरेको बताएको थियो । बजेट विनियोजन भएको भए त्यसलाई कार्यान्वयनमा लैजानका लागि स्थानीय सरकार र सरोकारवालाले समयमै ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।

आर्थिक वर्ष २०७४/०७५ मा सुदूरपश्चिम प्रदेश सरकारले पनि सनकट्टीमा पुल निर्माणका लागि बजेट विनियोजनसमेत गरेको थियो । सनकट्टीमा बन्ने पक्की पुलले दुई प्रदेशलाई जोड्ने भनिएकोे चार वर्ष बितिसक्दा निर्माणको प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । अहिले दैनिक सयौँको सङ्ख्यामा नागरिक डुङ्गाका भरमा आवतजावत गर्दै आएका छन् । त्यसमा पनि वर्षात्को समयमा उर्लदो कर्णाली नदीमा डुङ्गामा सवार गर्दा निकै जोखिम हुने भएकाले त्यसबेला व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यता हुने गरेको स्थानीयवासी बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width