महोत्सव सफल पार्न कस्सिए आमा समूह

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७८
lcci

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १७ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।
महोत्सवमध्यनजर गर्दै त्यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला आमा समूहको बिहीबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
संघका उपमहासचिव जानुका पराजुली अधिकारीको अध्यक्षतामा बसेको भेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरीले महोत्सवमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी र्‍याली प्रदर्शन गरी महोत्सवलाई नमुना महोत्सव बनाउनु पर्नेमा जोड दिए ।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथको पहिचान र यहाँ संचालन हुने जुनसुकै कार्यक्रम सफल हुनुमा यस क्षेत्रमा रहेका संघसंस्था तथा आमा समूहको सक्रिय सहभागिता र एकताबाट नै सम्भव भएको स्मराण् गर्दै यसपालि पनि महोत्सव सफल हुनेमा विश्वस्त देखिए ।

लेखनाथ महोत्सव यही फागुन २६ देखि सुरु हुँदैछ

संघ अध्यक्ष एवं महोत्सव मुल संयोजक छत्रधर आत्रेयले कोभिड १९ बाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाइ विभिन्न जातजातिको संस्कृतिको जगेर्ना गर्ने थलोको रुपमा विकास गरी यस क्षेत्रमा उत्पादन भएको बस्तुहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले २०५८ सालमा सुन्तला महोत्सवबाट सुरु महोत्सव हाल देशकै नमुना महोत्सवको रुपमा परिचित भएको दाबी गरे ।
संघका सल्लाहकार नेत्रपाणि बास्तोलाले महोत्सवमा प्रस्तुत हुने झाँकी, र्‍याली तथा रत्यौली प्रदर्शनको विभिन्न विधिबाट मूल्यांकन गरिने बताए ।
सो क्षेत्रमा रहेका संघसंस्था, महिला आमा समूहका ३ सय ६२ जना प्रतिनिधि, संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं सल्लाहकार उपस्थिति रहेको भेलाको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए । धन्यवाद ज्ञापन सदस्य इन्दिरा रोकाले गरेकी थिइन् । लेखनाथ महोत्सव यही फागुन २६ देखि चैत ७ सम्म लेखनाथमा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width