लमजुङ । इशानेश्वर महादेव मन्दिर, जसलाई सन्तानेश्वर नामले चिनिन्छ । यही मन्दिरमा महाशिवरात्रि अवसरमा ७ सयले रातभर जाग्राम रहेर ठाडो बत्ती बालेका छन् ।
जिल्लाको मध्यनेपाल नगरपालिका वडा ७, करापुरटारस्थित मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रिमा विशेष मेलासहित पूजाआज र मन्दिर परिसरमा ठाडबत्ती बाल्ने प्रचलन छ । यो मन्दिरलाई पशुपतिनाथ पछिको दोस्रो शक्तिशाली भएको विश्वास गरिन्छ ।
मन्दिरमा शिवरात्रिमा रातभर जाग्राम बसेर बत्ति बाल्न आउने भक्तजनका लागि व्यवस्थित रुपमा ७ सय जनाका लागि व्यवस्थापन गरिएको इशानेश्वर क्षेत्र विकास समितिले जनाएको छ । सन्तानको चाहना भएकालाई सो मन्दिरमा गएर रातभर जाग्राम बसी ठाडोबत्ती बालेमा सन्तान हुने जनविश्वास रही आएको समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताए । उनका अनुसार उठेर बत्ती बाल्न नसक्नेहरूले बसेर बत्ती बाल्ने गर्दछन् । बसेर बत्ती बाल्नेहरू १ हजार जनाका लागि आफूहरूले स्थानको व्यवस्थापन गरेको तर अन्यले आफू खुसी पनि आएर बत्ती बाल्ने गर्दछन् । उनले भने ‘त्यस्तो संख्या असंख्य छ ।’ सन्तान जन्मिएपछि तिनको सुखशान्तिका र समुन्नतिका लागि फेरि यही महादेवलाई दर्शन गराउन ल्याउने प्रचलन गरेको उनले जानकारी दिए ।
करिब २ वर्षअघि मन्दिरमा आएर ठाडोबत्ती बालेपछि छोरा जन्मिएको नुवाकोट सुनखानका दीपेन्द्र पाण्डेले बताए । अहिले दम्पती र १५ महिने छोरासहित आशीर्वाद माग्न आएको उनले बताए । उनले भने, ‘हामी धेरै खुशी छौं, त्यसैले हामीले मन्दिरमा चढाउन यौटा घण्टी पनि लिएर आएका छौं ।’
यो वर्ष ७ दम्पतीले त्यसरी नै आफ्नो सन्तान देखाउन ल्याएको सो मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोही कोही मात्र हो, धेरैले हाम्रो सचिवालयमा सम्पर्क नै गर्र्दैनन्, आफूखुसी आउँछन्, दर्शन गरेर जान्छन् सो समितिका सदस्य अनन्त घिमिरेले बताए । उनका अनुसार यस्ता २०/२२ जोडी वर्षेनी दर्शनका लागि आउने गर्दछन् । उनले भने, ‘स– साना केटाकेटी देखेपछि सोध्यो भने प्रायः यही मन्दिरमा आएर बत्ती बालेर गएपछि जन्मिएको बताउने गरेका छन्, कतिको पछि लागेर सक्ने र ?’
यो मन्दिर परिसरमा ३ दिनसम्म मेला लाग्ने गर्दछ । त्यसको व्यवस्थापनका लागि विभिन्न २१ वटा उपसमिति बनाएर जिम्मेवारी बाडफाँड गरी काम गरिएको समितिका अध्यक्ष शास्त्रीले बताए । उनका अनुसार यो वर्षबाट मन्दिर परिसरमा १ सय ८ धारा समेत जडान गरी तिनबाट पानी प्रबाह गरिएको छ । ती धाराको टिपका (फिनिसिङ)को काम गर्न बाँकी छ ।
सन्तान जन्मेपछि १५ महिने छोरासहित आशीर्वाद माग्न आएको पाण्डे दम्पतीले बताए
सो मेलाका अवसरमा मन्दिरमा दर्शन, महादेवलाई गाईको दूध तथा वेलपत्र चढाउने बाहेक, पुराण वाचन तथा श्रवण, सामुहिक व्रतबन्ध, कृषिमेला प्रदर्शनी, ठेलो हाल्ने, भलिबल खेलाउने, लमजुङको पहिचान र गौरवको रुपमा रहेको ठाडोभाकाको प्रस्तुति, चुट्का नाच, लगायतका क्रियाकलाप हुने गरेको सोही मन्दिर परिसरमा घर भएका समितिका सदस्य एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष युवराज घिमिरेले बताए । उनका अनुसार विगतका ३ वर्षदेखि भारतको हरिद्वारदेखि आएका नाथ सम्प्रदाय तथा अघोरी बाबाको टोलीले आएर निःशुल्क भण्डारा (खाना, नास्ता) प्रबन्ध गरिआएको छ । उनले भने, ‘यो वर्षबाट लमजुङ–पोखरा सम्पर्क समितिको अगुवाई, रेडक्रसको ईशानेश्वर शाखाको आयोजनामा रक्तदान कार्यक्रम समेत सुरु भएको छ ।’ यसपालि ५७ जनाले रक्तदान गरे ।
मन्दिर परिसरमा पूजा आराधाना तथा दर्शनका लागि ईशानेश्वर महादेव मात्र नभई त्यो सँगै करिब ४ सय मिटरको दुरीमा उत्तरतर्फ पार्वतीको मन्दिर छ । उक्त पार्वती मन्दिरभन्दा उत्तरतर्फ करिब सात सय मिटरको दुरी, मिदिम नदी किनारमा रहेको पीपलको बोटमा गणेशको दर्शन गर्ने प्रचलन रही आएको तत्कालीन ईशानेश्वर गाविसका अध्यक्ष विष्णुहरि घिमिरेले बताए । उनका अनुसार करापुटारकै क्षेत्रमा ईशानेश्वप मन्दिरभन्दा १ सय मिटरको दुरीमा दक्षिणपश्चिमतर्फ यौटा सुत्केरीले गाडेको ढुंगा पनि छ । उनले भने, ‘मन्दिरको पश्चिम उत्तरतर्फको जंगल जसलाई श्लेषमान्तक वन पनि भनिन्छ । १ सय ८ शिवलिंगसहितको शिव मन्दिर पनि रहेको छ ।’ यस क्षेत्रलाई धार्मिक पयर्टनका रुपमा विकसित गर्न नगरपालिकाले गुरुयोजना तयार गर्ने भएको मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले बताए ।
यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । सो क्षेत्रको शान्ति सुरक्षाको लागि करिव १ सय ७५ जना सुरक्षाकर्मी परिचालन गरिएको लमजुङका प्रहरी प्रमुख र प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए । भक्तजनको सहजताको लागि अस्थायी टहरा व्यवस्थापनदेखि खानेपानी वितरणमा सुरक्षाकर्मी खटिएका थिए ।
शिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनहरुको घुइँचो लाग्ने पवित्र तीर्थस्थलको रुपमा रहेको इशानेश्वरलाई सन्तानेश्वर महादेवको रुपमा पूज्ने चलन छ । सन्तान नभएका सयौं दम्पती महाशिवरात्रीको अवसर पारी मन्दिर परिसरमा रातभर उभिएर जाग्राम रही ठाडो बत्ती बाल्ने गर्दछन् ।
श्रीस्वस्थानी ब्रतकथामा पनि हालको इशानेश्वर महादेवमा सतीदेवीको दायाँ तिघ्रा पतन भएको वर्णन छ । त्यस पुण्य भूमिमा ताराकेश्वर महादेव उत्पन्न भई, इशानकोणमा अवस्थित रहेकाले सो तारकेश्वर महादेवलाई इशानेश्वरस्वरुप भनी इशानेश्वर महादेव नामाकरण गरिएको किंवदन्ती छ ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१