पर्यटनको पुनर्रुत्थान सरकारको प्राथमिकतामा: पर्यटनमन्त्री

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७८
tewan news~

पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले कोरोना प्रभावित पर्यटनको पुनर्रुत्थान सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले चौथो वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
कोरोनाले पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित भएको र यसको पुनर्रुत्थानमा लागि सरकारले सरकारले विभिन्न कार्यक्रम अघि सारेको उनको भनाइ छ । कोरोना प्रभावित व्यवसायलाई राहत उपलब्ध गराउने उद्देश्यका साथ व्यवसाय जीवनरक्षा कोष, कर्मचारी पर्यटन बिदा, पर्यटन मजदुर लक्षित राहत कार्यक्रम लगायत अघि सारिएको उनले बताए ।
टेवानले महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै विभिन्न कार्यक्रम अघि बढाएकोमा प्रशंसा गर्दै उनले मन्त्रालयका तर्फबाट क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
टेवान अध्यक्ष रेनु थापाले दिगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ संस्था विभिन्न कार्यक्रमसहित बढिरहेको बताउँदै संस्थामा आवद्ध सदस्यको क्षमता एवं सीप अभिवृद्धिका लागि महिला सशक्तीकरण तथा व्यावसायिक क्षमता अभिवृद्धि तालिम गर्ने बताइन् । विभिन्न आरोह–अवरोहबीच संस्था अघि बढेको बताउँदै उनले पर्यटन व्यवसायमा आवद्ध महिलाको उद्यमशीलता अभिवृद्धि गर्ने बताइन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले आर्थिक व्यवस्थापन नहुँदासम्म व्यवसाय राम्रो हुन नसक्ने बताए । कोरोना प्रभावित व्यवसायीलाई सरकारको साथ र सहयोग आवश्यक हुने उनको भनाइ थियो । आन्तरिक पर्यटनको पुनर्रुत्थान अहिलेको आवश्यकता भएको बताउँदै उनले सरकारका नीति नियम पर्यटन व्यवसायमैत्री हुनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित व्यवसायीका लागि तीन वटै सरकारले अघि सारेका राहत प्याकेज लक्षित वर्गसम्म पुग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष जगत पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, हान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, संघका महासचिव शोभा न्यौपाने पाण्डे, संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कमला गिरी लगायतले पर्यटन व्यवसायी महिला संघका गतिविधिबारे प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width