गलेश्वरधाममा ३० हजार भक्तजन

साधन राम्जाली
फागुन १८, २०७८
myagdiko galeshwor

????????????????????????????????????

म्याग्दी । प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा महाशिवरात्रिको अवसरमा करिब ३० हजार भक्तजनले दर्शन तथा पूजा गरेका छन् । लामो समयको कोरोना कहरपछि मंगलबार गलेश्वर शिवालय मन्दिरमा दर्शन तथा पूजा गर्ने भक्तजनको भिड लागेको हो ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू मंगलबार बिहानैदेखि बेनी नगरपालिका ९ मा अवस्थित गलेश्वर शिवालयमा पूजा–आराधना गरिरहेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन रहेको छ ।
बिहानैदेखि म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौं, बुटवल लगायत जिल्लाबाट आएका भक्तजनहरुलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।
पूजा र दर्शनलाई सहज बनाउन विभिन्न उपसमिति सँगै सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरी पूजाआजा र दर्शन गर्नेहरुलाई सहज बनाइएको अध्यक्ष रेग्मीले बताए । कालीगण्डकी नदीको किनारमा ९ रोपनी क्षेत्रफलको एउटै विशाल चक्रशिलामा अवस्थित गलेश्वरधाममा १ सय ८ शिवलिंग स्थापना र कालीगण्डकीको पानीलाई ल्याएर स्नान गर्ने सुविधा भएपछि भक्तजन बढी आउने गरेका छन् । कालीगण्डकी नदीको पानीमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेमा मनोकांक्षा पूरा हुने मान्यता रहेको छ ।
दिनमा शिवालयको दर्शनसँगै शिवरात्रिको रातमा महाब त्तीसमेत बाल्ने भएकाले मंगलबार बेलुकादेखि बुधबार बिहानसम्म नै भक्तजनहरुको चहलपहल हुने कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिए । उनका अनुसार, कोरोना महामारीको कारण विगत दुई वर्षयता उल्लेखनीय भक्तजनहरु आएका छन् ।
सतीदेवीको गलापतन भएको मान्यता रहेको गलेश्वर शिवालयमा शिवरात्रि, बालाचर्तुर्शी, साउने सोमबार लगायतमा विशेष पूजा–आराधाना हुँदै आएको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक ४ प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेमा मनोकांक्षा पूरा हुने मान्यता रहेको दर्शनार्थी रञ्जना श्रेष्ठले बताइन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । शिवरात्रिमा भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width