पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ –युवा नेताहरु

रासस
फागुन १७, २०७८
Photo krishna

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटीे अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । फ्रेडरिक इबर्ट स्टिफ्टुङको आयोजनामा आगामी निर्वाचनले लोकतन्त्रलाई कसरी सवलीकरण गराउन सकिन्छ भन्ने छलफलमा उनीहरुले भूराजनीतिलाई ख्याल नगरी क्षणिक स्वार्थमा बहकिने प्रवृत्तिले मुलुकलाई दुर्घटनामा धकेल्न सक्ने र निर्वाचन प्रणाली महँगो हुन पुग्दा राजनीतिमा सीमित उच्च वर्गको प्रभुत्व भएको गुनासो गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिँह महरले आफ्नै पार्टीको १४औँ महाधिवेशनले ज्येष्ठ, युवा र नवयुवा गरी तीन पुस्ताको प्रतिनिधित्व गरेको र यसले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको नवीन सोचका आधारमा पार्टीलाई अझ गतिशील बनाउन सहयोग पुगेको बताउनुभयो ।

उक्त महाधिवेशनमा आफूले कांग्रेसको सशक्तीकरण र भावी कार्यदिशकाका विभिन्न १४ वटा एजेण्डा अगाडि सारेको उल्लेख गर्दै उहाँले पार्टीको घोषणापत्रको पूर्ण कार्यान्वयनका लागि आफूले आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । नेपाली कांग्रेसले २०१५ सालदेखि नै पार्टी र सरकारलाई समावेशी बनाएको उल्लेख गर्दै नेता महरले लोकतन्त्रसहितको विकासको पक्षमा कांग्रेस प्रतिबद्ध रहेको छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समाजवादलाई देशका सबै पार्टीले आफ्नो घोषणापत्रमा राखेको र संविधानमा पनि समाजवादोन्मुख अर्थतन्त्रमा जाने उल्लेख भए पनि अहिलेसम्म यस विषयमा कुनै बहस र छलफल नहुँदा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘समाजवादलाई ललिपप बनाइयो भने राजनीतिलाई जागिरको रुपमा लिने प्रवृत्ति बढ्दै गयो । यसले राजनीतिमा सीमित र उच्च वर्गको दबदबा बढ्दै गयो । नेता र सर्वसाधारण जनताबीचको दूरी टाढिँदै गएको छ ।’’ नेता न्यौपानेले नेपालका राजनीतिक पार्टीका नेतृत्वमा स्वतन्त्ररुपमा निर्णय गर्नसक्ने क्षमता नभएको टिप्पणी गर्दै राजनीतिक नेतृत्वलाई औपचारिकताबाट वास्तविकतामा रुपान्तरण गर्न नसकिएसम्म मुलुकलाई अग्रगामी दिशातर्फ लैजान नसकिने बताउनुभयो ।

नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले आफ्नो पार्टीमा पहिलो पुस्ताले आफूलाई लायक प्रमाणित गर्न नसकेको, दोस्रो पुस्ता असफल देखिएको र तेस्रो पुस्ता पनि राम्रो होला भनेर विश्वास गर्न सकिने अवस्था नरहेकाले आगामी दिनमा अझ समस्या आउनसक्ने बताउनुभयो । उहाँले सबै पार्टीभित्र आन्तरिक लोकतन्त्रको खाँचो औँल्याउँदै सत्ता र शक्तिको भरमा राजनीति गर्न खोज्ने प्रवृत्ति अन्त्य नभएसम्म सामाजिक लोकतन्त्रको कल्पना गर्न नसकिने उल्लेख गर्नुभयो ।

नेत्री तिमिल्सिनाले संविधानमा समावेशीकरणलाई बाध्यात्मक बनाए पनि राजनीतिक पार्टीहरुले त्यसलाई अझै आत्मसात् गर्न नसकेको र यसमा पनि सीमित वर्ग तथा समुदायले मात्रै अवसर लिने गरेको बताउनुभयो ।

नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले केही समयअघि मुलुककमा प्रमुख राजनीतिक पार्टीको आन्तरिक निर्वाचनले संविधानलाई गतिशील बनाउन मद्दत पुग्नाको साथै राजनीतिक स्थायित्व, लोकतान्त्रीकरण र पार्टीभित्रको लोकतन्त्रलाई बल पुगेको बताउनुभयो ।

उहाँले लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै राजनीतिलाई सही दिशातर्फ लैजान हरेक राजनीतिक पार्टीमा युवा पुस्ताले नेतृत्वलाई मार्गदर्शन गराउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयोे । आयोजक संस्थाका आवासीय प्रतिनिधि जोनाथन मेन्गे र वरिष्ठ कार्यक्रम अधिकृत चन्द्रदेव भट्टले सन् १९९५ देखि नै संस्थाले विश्वका सयभन्दा बढी देशका विश्वविद्यालय, राजनीतिक पार्टी, नागरिक समाजका पदाधिकारीसँग मिलेर स्वतन्त्रता, समानता र न्यायको पक्षमा वकालत गर्दै आएको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width