विद्यार्थीमाथि निर्घात कुटपिट

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
student kutpit~

म्याग्दी । म्याग्दीमा शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेर करङ भाँचिदिएका छन् । कक्षा कोठामा होहल्ला र पढाउनेक्रममा फरक व्यवहार गरेको भन्दै बेनी ७ स्थित प्रकाश माविका लेखा विषयका शिक्षक नवीन कक्षा १० का राजन पौडेलमाथि निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट ती विद्यार्थीको एउटा करङ भाँचिएको छ भने टाउकोमा चोट लागेको विद्यार्थीका बुबा भीमप्रसाद पौडेलले बताए । ती विद्यार्थीले शुक्रबार विद्यालयबाट घर फर्किएपछि बान्ता गरेको र खाना खाने क्रममा मुखबाट समेत रगत आएपछि बेनी अस्पतालमा उपचारक्रममा टाउको र शरीरमा चोट देखिएको बताए । उनले चिकित्सकको परीक्षण, एक्सरे रिपोर्टमा समेत करङमा असर देखिएको बताए । सोही दिन शिक्षक घिमिरेले अन्य विद्यार्थीलाई समेत त्यस्तै गरी कुटेको विद्यार्थी राजन पौडेलले बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले सो घटनाबारे अभिभावकले जानकारी गराएपछि मात्रै थाहा पाएको बताए । ‘शुक्रबार सबै पिरियड पढेर विद्यार्थी घर गएका थिए । पहिले हामीलाई जानकारी नै भएन,’ सहायक प्रअ हमालले भने ।
‘घटनाको अनुसन्धान गर्छौ । विद्यार्थीको पठनपाठनमा असर नहुने गरी व्यवस्था मिलाउँछौं,’ उनले भने । यता पीडित विद्यार्थीका अभिभावक र आफन्तले कुटपिटमा संलग्न शिक्षकलाई कडा कारबाहीको माग गरेको आफन्त यामनाथ सुवेदीले बताए । उनले मेडिकल रिपोर्ट आधारमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा समेत किटानी उजुरी दिने बताए । अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही तथा उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width