गुप्सीपाखा रुचाउँदैनन् लाप्राकी

प्रकाश ढकाल
फागुन १५, २०७८
laprak (3)

पोखरा । निमेषभरमै घरगोठ गल्र्यामगुर्लुम ढल्यो । डाँडै सोहोरिएर पहिरो खस्न थाले । छिमेकीहरु पुरिएका खबरहरु मिनेटैपिच्छे सुनियो । रुँदै र चिच्याउँदै मान्छेहरु घरबाट निस्किए । लाप्राकका कुमार सुनार बसिरहेको घर ढलेपछि ६ जनाको परिवार लिएर बस्तीमाथि गुप्सीपाखामा उक्लिए ।
लाप्राक २०७२ सालको विकासकारी भूकम्पको इपिसेन्टर नजिकको सुन्दर गाउँ हो । आधा वर्षभन्दा बढी गुप्सीपाखामा टहरो बनाएर बसेका उनीहरु गैरआवासीय नेपाली संघ (एनआरएनए) ले घर बनाइदिने भन्दै उठाएपछि गाउँ झरेर भत्किएकै घर मर्मत गरेर बसे ।
उनीजस्तै भूकम्पपछि त्यहाँका ६ सय १६ परिवार विस्थापित भएका थिए । पहिले बसिरहेको गाउँ चिरिएपछि सरकारले उनीहरुको पूरै बस्ती गुप्सीपाखामा सार्ने निर्णय ग¥यो । करिब १९ हेक्टर सार्वजनिक जमिन भोगचलनको अधिकार पनि दिइएको छ । त्यहाँ गैरआवासीय नेपाली संघले ५ सय ७३ वटा आधुनिक घर निर्माण गरिदियो । थप २९ वटा घर स्थानीय सरकारले बनाइदिएको छ । तर लाप्राकी भने थातथलो छोडेर नयाँ घरमा जान मानेका छैनन् ।
एनआरएनकै महत्वाकांक्षी परियोजना भनिएको लाप्राक बस्ती निर्धारित समयभन्दा २ वर्ष ढिलो गरी गएको बैशाखमा स्थानीयलाई हस्तान्तरण थियो । खानेपानी, शौचालय र विद्युत सेवासहितको वस्ती निर्माणमा करिब ६० करोड खर्च भएको एनआरएनएले जनाएको छ । घर हस्तान्तरण भएको वर्ष दिन बित्न लाग्यो । हस्तान्तरण भएकै दिनदेखि उनीहरुले घरमा तालाचाबी ठोकेर राखेका छन् । आफूहरु जोखिम मोलेर पुरानै घरमा बसिरहेका छन् ।
‘जान मन नलागेर होइन, घर हेर्दा राम्रो छ । तर जाडो धेरै छ । हामीलाई निमोनियाको समस्या भयो,’ सुनारले भने, ‘घर तताउन दाउरा काट्दा वन सखाप हुन्छ । खानेपानी पनि छैन । ४ करोड लगानी गरेर १९ किलोमिटर पर भुल्मेचेबाट पानी ल्यायौं, अहिले धारामा पानी झर्दैन ।’ खेती किसानी गर्न समस्या परेकोले पनि गुप्सीपाखामा सर्न समस्या परेको उनको दुखेसो छ । ‘राम्रो घर हेरेरमात्रै खान पाइँदैन । बसे मात्रै भएन, के काम गर्ने ? काम गर्न बेंसि झर्नैपर्‍यो,’ उनले थपे ‘खेतबारी पूरै बेंसिमा छ । खेतीकिसान गरेर खाने मान्छे दिनदिनै ४ घण्टा हिडेर साध्य लाग्दैन नि !’
अहिले गुप्सीपाखामा ५ परिवार नियमित बस्दै आएका छन् भने १५ परिवार कहिलेकाहीं बस्छन् । गाउँले मात्रै होइन, त्यहाँका जनप्रतिनिधि पनि थातथलो छोड्न मान्दैनन् । एनआरएनएले बनाइदिएको घर साँघुरो र थोरै कोठा भएका कारण पनि बस्न समस्या भएको स्थानीयको गुनासो छ । हिउँ परेका बेला जति सुन्दर फोटोहरु सार्वजनिक हुन्छन्, उत्ति सकस छ लाप्राकीलाई ती घरमा गुजारा चलाउन । केहीले नयाँ घरमा होमस्टे चलाएका छन् भने बाँकी सबै घर बन्द गरेर राखिएको छ ।

एनआरएनएले ५ सय ७३ वटा आधुनिक घर निर्माण गरिदियो । थप २९ वटा घर स्थानीय सरकारले बनाइदिएको छ

लाप्राकीहरु पुरानै गाउँमा बसे पनि स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयहरु भने गुप्सीपाखामा सारिएको छ । पर्याप्त जग्गा जमिन नभएको र बढी चिसो हुने भएकोले आफूहरुलाई गुप्सीपाखा असहज हुने अर्की स्थानीय माइली गुरुङ बताउँछिन् । ‘७/८ जना सुत्नुपर्छ । ४ वटा कोठा छ । राखन धरन कता गर्ने ? मान्छे कता बस्ने ?,’ उनी भन्छिन्, ‘मान्छे बसेरमात्रै भएन । गाईबस्तु बाँध्ने ठाउँ पनि छैन ।’
मानी आएको देवीदेवता र साँझबिहानको मेसो नमिलेका कारण उनीहरु पाखामा उक्लिन मान्दैनन् । भूकम्पले लाप्राकमा ३६ जनाको ज्यान गएको थियो । धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले सुरुमा पर्याप्त अध्ययन र छलफल नहुँदा अहिले समस्या देखिएको बताए । ‘स्थानीयसँग छलफल गर्नुपर्ने थियो । हुन त त्यति जग्गा अरु ठाउँमा थिएन । तर पनि परिवेश फरक भएकोले बढी अध्ययन गर्नुपर्ने थियो,’ उनले भने, ‘अहिले स्कुलदेखि स्वास्थ्यचौकीसम्म माथि नै बनेको छ । गाउँले बेंसिमा बस्छन् । तालमेल मिलाउन साह्रै समस्या भयो ।’ केही घरहरु अहिले होमस्टेको रुपमा विकास भए पनि अरु घरहरु झ्यालढोका थुनेर राखेको उनले बताए ।
एउटै घर बनाउँदा करिब ११ लाख खर्च निकालिएको छ । त्यसमध्ये नेपाल सरकारले पुनःनिर्माणअन्तर्गत ३ लाखका दरले उपलब्ध गराएको थियो भने व्यक्तिहरुले समेत करिब ३ लाखको श्रमदान र सामग्री उपलब्ध गराएको बताएका छन् । ‘सुरुमा केही लगानी गर्नुपर्दैन सबै आफै गरिदिन्छौं भने । पछि गाउँलेसँग पनि पैसा मागे,’ अगुवा मार्सिङ गुरुङ भन्छन्, ‘त्यसपछि गाउँले डराए । बनेका घर पनि मजबुत छैनन् । झ्यालढोका राम्रो बनेको छैन ।’ गाउँले मात्रै होइन, जनप्रतिनिधि समेत नयाँ बस्तीमा सर्न नमानेको उनले बताए ।
‘गाउँलेले त बुझेनन् ठिकै छ । कमसेकम जनप्रतिनिधि त नयाँ घरमा सर्नुपर्ने हो नि,’ उनले भने, ‘अगुवाले नै नगरेपछि अरुले टेर्ने कुरै भएन ।’ घर निर्माणमा भएको ढिलाइले झनै समस्या थपेको हो । ‘एकीकृत बस्तीमा घर निर्माण गर्न नै ४÷५ वर्ष लाग्यो । सबैले पुरानै गाउँमा घर बनाए,’ पत्रकार केशव गुरुङले भने, ‘धेरै महिना हिउँ पर्छ । त्यहाँ बस्न सक्ने अवस्था छैन । व्यापार–व्यवसाय गर्नेहरु चाहिं अलिअलि बस्छन् ।’ लाखौं लगानी गरेर सुन्दर घरहरु बने पनि बस्न नसकेपछि लाप्राकीको मन अमिलो भएको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width