रुपा गाउँपालिकामा अध्यक्ष कप भलिबल

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७८
Rupa RM Photo

पोखरा । कास्कीको रुपा गाउँपालिकाको आयोजनामा गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहहरूबीच ‘तेस्रो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०७८’ हुने भएको छ । स्थानीय तह स्थापना दिवसको अवसरमा पालिकाले भलिबलसहित झाँकी प्रदर्शन र माला प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
भलिबल फागुन २३ गतेदेखि २७ गतेसम्म आयोजना हुनेछ भने फाइनलका दिन झाँकी र माला प्रतियोगिताको साथमा रुपा रत्न सम्मान पनि प्रदान गरिने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहलाई आमन्त्रण गरिएको उनले बताए । ५ दिनसम्म चल्ने कार्यक्रमलाई सफल बनाउन उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूल समिति र उपसमिति पनि गठन भइसकेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय पुरस्कार ९० हजार रुपैयाँ रहेको छ । तृतीय हुनेले ६० हजार तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँले नगदले पुरस्कृत गरिनेछ । यस्तै स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रोतर्फ उत्कृष्ट हुनेले जनही ३÷३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सोही अवसरमा गाउँपालिका अन्तर्गतका ७ वटै वडाहरुमा लोप हुन लागेका विभिन्न जातजातिहरुको सांस्कृतिक परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले गाउँपालिकास्तरीय झाँकी प्रदर्शनसमेत राखिएको छ । यसैगरी सबै वडाको सहभागितामा माला प्रतियोगिता पनि राखिएको अध्यक्ष ओझाले जानकारी दिए । झाँकीतर्फ १ नम्बर वडाबाट बोटे जाति, २ बाट दलित, ३ बाट कुमाल, ४ बाट ठकुरी, ५ बाट गुरुङ र नेवार, ६ बाट मुस्लिम तथा ७ बाट नेवार जातिको अनिवार्य सहभागी हुनुपर्ने बाध्यकारी नियम पनि छन् ।
झाँकीतर्फ प्रथम हुनेले ४० हजार, द्वितीयले ३० हजार र तृतीयले रुपैयाँ पुरस्कार पाउनेछन् । माला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ६ हजार ६ सय ६७, ४ हजार र २ हजार ६ सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमको अन्तिम दिन रुपा गाउँपालिका जन्मघर भई विद्यावारिधि गरेका तथा चिकित्सातर्फ एमडी गरेका र नेपालभित्रका विश्वविद्यालयमा अध्ययन गरी स्वर्ण पदक प्राप्त गरेका व्यक्तिहरुलाई ताम्रपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width