स्वास्थ्य सेवामूलक बनाउन प्रतिबद्ध : स्वाथ्यमन्त्री

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
health minister~

लमजुङ । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले स्वास्थ्य सेवा नाफाभन्दा सेवामूलक बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएकी छन् । उनले जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बुधबार त्यस्तो बताएकी हुन् ।
कारितास नेपाल र सिआरएस नेपालको कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टअन्तर्गत जिल्ला अस्पताललाई पेडियाट्रिक वार्ड विस्तारमा जिल्ला अस्पताल सञ्चालक समिति अध्यक्ष मदन रानालाई ती सामग्री हस्तान्तरण गरेकी हुन् । अस्पतालमा १ करोड २५ लाख बराबरका ३३ वटा उपकरण हस्तान्तरण गरिएको हो ।
उनले प्राप्त सामग्रीको उपयोग गर्ने जनशक्ति व्यवस्थापन गर्नेतर्फ पनि प्रदेश सरकार जुटिरहेको जानकारी दिइन् । यो एक वर्षको अनुभवले इच्छाशक्ति हुने हो भने धेरै गर्न सकिने रहेछ भन्ने सिकाएको र समस्याको पहिचान गरी दीर्घकालीन समाधानका लागि प्रयत्नशील रहेको बताइन् । उनले विगतमा बन्न नसकेको स्वास्थ्य नीति बनाएको, फागुन १ देखि प्रदेशमा रगतको निःशुल्क प्रबन्धको व्यवस्था गरिएको, प्रदेशमा सञ्चालनमा रहेका २ हजार ४ सय एम्बुलेन्स प्रायः सबैको स्तरोन्नति गरिएको जानकारी दिइन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकले समानरुपमा पाउनु पर्छ भनेर प्रदेश सरकार त्यसतर्फ योजनाबद्ध रुपमा क्रियाशील रहेको दाबी गरिन् ।
कारितास नेपालका कार्येकारी निर्देशक ललित तुडुले कोरोनाले आफूहरूलाई धेरै सिकाएको बताए । उनले आफ्नो संस्थाले कोभिड कालमा कोभिडबाट बृद्धबृद्धा, महिला र बालबालिकाको जीवनरक्षाका लागि विशेष खालका काम गरिआएको जानकारी दिए ।
त्यस्तै, सिआरएस नेपालका प्रोजेक्ट म्यानेजर नमिता नेपालले आफूले नेपालमा विभिन्न संघसंस्थासँग साझेदारी गर्ने क्रममा लमजुङमा यी सामग्रीको खाँचो छ भन्ने जानकारी पाएपछि सहयोग गरेको बताइन् ।
कार्यक्रममा बेंसिसरहका मेयर एवं अस्पताल विकास समितिका सदस्य गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीको उपस्थिति थियो ।
उक्त कार्यक्रमपछि मन्त्री अधिकारीले ती मेसिन जडान गरिएको बालबालिका कक्षको निरीक्षण गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width