ठेकेदारले ठगेपछि गाउँलेले बनाए काठेपुल

प्रकाश ढकाल
फागुन १०, २०७८
manang~prakash

पोखरा । ठेक्का लिएर वर्षौंसम्म काम नगरी ठेकेदारले झुलाइदिएपछि मनाङको दूधखोलामा स्थानीयले काठको पुल निर्माण गरेका छन् । ६ वर्षअघि असारमा द क्याराभान कम्पनीले पुल बनाउने ठेक्का पायो । १ वर्षभित्रै सक्ने गरी ठेक्का लिएको योजना अहिलेसम्म अलपत्र छ । क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको हो ।
मनाङको पुरानो सदरमुकाम थोंचेदेखि तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल २०७३ सालको असारमा ठेक्का लागेको थियो । २०७४ साउनमा सक्नुपर्ने सम्झौता भए पनि हालसम्म ४ पटकसम्म म्याद थप भएको छ । कामको प्रगति छैन । भ्याटबाहेक ३ करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब १ करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ ।
क्याराभानले नै २०७३ असारमा ठेक्का लिएको ४ करोड ५७ लाखको हुम्डे पुलसमेत अलपत्र छ । मस्र्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा टेन्डर निकालेको थियो । श्री गाल्वा र क्याराभान कम्पनीले यसको ठेक्का पाए । भ्याटसहित ४ करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो ।
तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा ६ वटा पुलको ठेक्का लगाएको थियो । पिसाङ र मुङजीमा निर्माणाधीन पुल अलपत्र अवस्थामै छ । क्याराभानले म्यार्दी खोलाको पुल भने पूरा गरेको छ । तिमाङको पनि असारको बाढीले भद्रगोल अवस्थामा छ ।

तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा ६ वटा पुलको ठेक्का लगाएको थियो

‘ठेकेदारलाई कति पटक भन्यौं । नियमन निकायलाई पनि दुख सुनायौं । तर देशमा सरकार भन्दा ठेकेदार ठूलो रहेछ,’ तिल्चेका वडाध्यक्ष धनबहादुर गुरुङले भने, ‘हाम्रो केही उपाय लागेन । गाउँले बटुलेर काठको पुल बनायौं ।’ क्याराभानले समयमै काम गरिदिएको भए त्यहाँको बाटो अझै स्तरीय बन्ने स्थानीयको आस छ । ‘ठेकेदारको चरम लापरबाही हो । सरकारको पनि उत्तिकै दोष छ,’ गुरुङ भन्छन्, ‘तत्काल नयाँ टेन्डर निकाल्नुपर्छ । नत्र बर्खा लागेपछि उही हाल हुन्छ ।’
सडक सञ्जाल ढिलो पुगेको मनाङका अधिकांश खोलामा अहिले पनि काठकै पुल तरेर गाडी र मान्छे आउजाउ गर्छन् । डुम्रे, बेंसिसहर, चामे सडक खण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । तर बजेट विनियोजन भैसकेको छैन । अहिले सडक चामेबाट कटेर भ्राताङ हुँदै उकालो लागेको छ । न सडक पक्की बनेको छ, न त पुल राम्रो छ । काठे पुलकै भरमा ठूला गाडी समेत तर्दा जोखिम बढेको स्थानीयहरु बताउँछन् ।
नासों गाउँपालिका अध्यक्ष चन्द्र घले ठेकेदारको चरम लापरबाहीले नागरिकहरु सास्ती भोग्न बाध्य भएका बताउँछन् । ‘मोटरेवल पुल बनाउन ७ वर्षभन्दा पहिले ठेक्का दिएको हो । अहिलेसम्म सम्पन्न भएन । त्यहाँका जनतालाई सास्ती छ । उनीहरु मिलेर काठको पुल बनाए,’ उनले भने, ‘गाह्रोसँग त्यही पुलबाट आवतजावत गरेका छन् । यो पनि जेठसम्मका लागि मात्रै हो । खोला बढेपछि पुल बगाउँछ ।’
जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्कामात्रै ओगटेर काम नगरेको बताए । ठेकेदारविरुद्ध पटक–पटक उजुरी गर्दा पनि कारबाही नभएको उनको भनाइ छ । ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक–पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरेका थिए । निर्माण कम्पनी क्याराभानका फिल्ड इन्जिनियर प्रशान्त तामाङले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width