पोखरा । पोखरा ३० शिशुवाका दीपक थापालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएकै कारण निकै गाह्रो थियो । आफ्नै साधन भए पनि उनी कहिल्यै ढुक्कसँग हिँड्न पाएका थिएनन् । घरयासी काम परेर पोखरा आउन पनि उनलाई ट्राफिक छल्दै हिँड्नुपर्ने अवस्था थियो । ३ वर्षदेखि लाइसेन्सकै लागि संघर्ष गरिरेहका उनी एकपटक स्टार्ट अफ भएर र अर्को पटक एटमा फेल भएका थिए ।
उनी आइतबार भने खुसी मुद्रामा देखिन्थे । पहिला एटमा फेल भएका उनी यो पटक एटमै लाइन छुँदा पनि पास भए । यातायात कार्यालयले नयाँ नियम ल्याएका कारण आफू पास भएको उनको प्रतिक्रिया थियो । यातायात कार्यालयले ल्याएको नयाँ नियमले साना साना गल्ती गरेर लाइसेन्सविहीन भएकाहरुलाई सहज हुने उनले बताए । ट्रायल पास भएपछि शिशुवा–पोखरा गर्न कुनै समस्या नहुने उनको प्रतिक्रिया थियोे ।
दीपकजस्तै सामान्य गल्तीका कारण लाइसेन्सविहीनका लागि यातायता व्यवस्था कार्यालय, पोखराले आइतबारदेखि लागु हुने सवारी चालक अनुमति पत्रको लागि ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको छ । यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारीचालक अनुमतिपत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा आइतबारदेखि औपचारिक रूपमा लागु भएको छ । प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले प्रयोगात्मक परीक्षाको एक कार्यक्रमबीच सुरुखात गरेका हुन् । यसअगाडि प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १ सय पूर्णांकमा १ सय नै ल्याउनुपर्ने व्यवस्था रहेकोमा सो नियम परिवर्तन भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ जारी गरेको थियो । संघ र प्रदेशबीचको अन्योलता र २ संयन्त्रबीच समन्वय हुन नसक्दा ट्रायलमा नयाँ व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन ।
यो नियम गत जेठ १ देखि लागु हुने भनिए पनि संघ र प्रदेशबीच समन्वय नहुँदा कार्यान्वयनमा थिएन
कार्यक्रममा मन्त्री खड्काले अब सवारीचालक अनुमतिपत्र लिन प्रशिक्षार्थीलाई सहज भएको विश्वास व्यक्त गरे । ४ पांग्रे सवारीको हकमा असार मसान्तसम्म र २ पांग्रेको हकमा दसैंसम्म परीक्षा गरिसक्ने गरी कार्यालयले तयारी अगाडि बढाएकाले त्यसअनुरूप परीक्षा गरी उत्तीर्णलाई लाइसेन्स दिने उनले जानकारी दिए । ७० प्रतिशत ल्याए उत्तीर्ण हुने व्यवस्थाले केही सहजता हुने मन्त्री खड्काको भनाइ छ ।
सवारीचालक अनुमतिपत्र कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीका अनुसार निर्देशिका लागु भएसँगै यो महिनाको सुरु अर्थात् १ फागुनदेखि आवेदन दिएकाको नयाँ व्यवस्था अनुरूप मूल्यांकन हुनेछ ।
यस्तो छ नयाँ नियम
लिखित परीक्षा पास गरेका परीक्षार्थीले ट्रायल दिँदा छुट्टाछुट्टै अंकभार निर्धारण गरिएको छ । पहिलो चरणको घुमाउरो एटको अंकभार २० छ । यसमा २ पटकसम्म अंकित रेखा छोएमा ५/५ अंक काटिनेछ । यसबाहेक यही चरणमा अनुत्तीर्ण हुन पनि सक्छन् । १ पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशा वा ठीक तरिकाबाट एट नघुमाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा फेल हुनेछ ।
त्यसैगरी, दोस्रो चरणको उबडखाबडको अंकभार १० कायम गरिएको छ । यसमा एक पटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । यो चरणमा पनि १ पटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछन् । तेस्रो चरणमा यु–टर्नको अंकभार १० छ । यसमा ट्रेनिङ इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ । यसमा पनि अंकित रेखा छोएमा अनुत्तीर्ण गरिनेछ । चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ कायम गरिएको छ । संकेत पालना नगरे १५ नम्बर घटाइए पनि फेल भने नगरिने सवारीचालक अनुमतिपत्र कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीले बताए ।
उकालो÷ओरालोको अंकभार १५ छ । छैटौं चरणमा रहेको ग्यारेज पार्किङको अंकभार २० छ । यसमा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सरेमा १० नम्बर काटिनेछ । त्यसैगरी, सातौं र अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्यांकनका लागि पनि अंकभार कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूका सामान्य निरीक्षण नगरे, सिटबेल्ट नलगाई चलाएमा ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ । २ पांग्रे सवारीको ट्रायलका लागि पनि छुट्टै नियम रहेको प्रमुख सुवेदीको भनाइ थियो । धेरै जसो ४ पांग्रेको जस्तै नियम भए पनि केही चरणमा फरक रहेको उनले बताए । परीक्षार्थीहरुको सहजताका लागि अंकभार प्रष्ट देखिने गरी कार्यालय परिसरभित्रै बोर्ड बनाएर राखिएको छ ।
Related News
सम्बन्धित समाचार
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१