विन्ध्यवासिनीमा १०५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७८
bindhabani raktadan

पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्ती अन्तर्गत भएको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको उप समिति सदस्य दिनेश शर्माले जानकारी दिए ।
पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका पूर्व प्रअ खिमलाल अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरे । आचार्यले मानव जीवनका लागि सबैभन्दा ठूलो पुण्य काम भनेकै रक्तदान भएको बताए । उनले रगत अभाव न्यूनीकरण गर्न यस्ता काम निरन्तर भइरहनुपर्नेमा जोड दिए । रक्तदान कार्यक्रम उपसमिति संयोजक दुर्गा केसी थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमादेवी गौतम अधिकारी, हीरक जयन्ती मुल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा अधिकारी, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विन्ध्यवासिनी भूपू विद्यार्थी मञ्चका अध्यक्ष हरि बरुवाल, शिक्षक तारा अधिकारी, भीमबहादुर गायकलगायतले रगतको अभावले कसैको पनि ज्यान जोखिममा पर्न नहुनेतर्फ सबै सचेत बन्नुपर्ने बताए ।
क्षेत्रीय रक्त सञ्चार केन्द्रका अर्जुन ज्ञवालीले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदिन विभिन्न संघ संस्थासँग आग्रह गरे । कार्यक्रममा ४५औं पटक रक्तदान गर्ने रामबहादुर बानिया, ३५ औं पटक रक्तदान गर्ने वसन्त तिमिल्सिना, ३४ औं पटक रक्तदान गर्ने शकंर बस्नेतसहित अधिंकाश नयाँ रक्तदाता सहभागी भएको उपसमिति सदस्य भीमबहादुर गायकले जानकारी दिए । पोखरामा रगतको अभाव भएको थाहा पाएपछि बन्दको पर्वाह नै नगरी हिँडेरै भए पनि रक्तदाता कार्यक्रमस्थल पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width