भवनहरु अपांगको पहुँचयुक्त बनाउन तालिम

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७८
Disable Photo

पोखरा । विद्यालय तथा सरकारी कार्यालयका भवनहरुमा पहुँचयुक्तताका लागि नेपाल राष्ट्रिय अपांग महासंघले पहल गर्ने भएको छ । बनिसकेका वडा भवन तथा विद्यालयहरुको अवस्था हेरेर न्यूनतम खर्चमा प्रारम्भिक पहुँचयुक्तका लागि पहल गरिने महासंघका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।
उनकाअनुसार अब बन्ने भवनका लागि नक्सा निर्माणदेखि नै पहुँचयुक्तताका लागि सुनिश्चित गरिनेछ । जसको फलोअप, ओकालत साथै प्राविधिक सपोर्ट पनि महासंघले गर्नेछ । पहुँचयुक्तता परीक्षण तालिमको अवसरमा पोखरा ६ वडा कार्यालय बैदाम र तालवाराही माध्यमिक विद्यालयमा तालिमका सहभागीले परीक्षण गरेका थिए । परीक्षण गर्नेमा इन्जिनियर, निजी कन्सल्टेन्सीका प्रतिनिधि, अपांगता भएका व्यक्तिहरु र पत्रकार थिए । वडा कार्यालय र विद्यालयमा परीक्षणका क्रममा प्रवेशद्वार, शौचालय, पुस्तकालय, प्रयोगशालालगायत संरचना पहुँचयुक्त नभएको पाइएको छ । पहुँचयुक्त बनाउन महासंघले पहल गर्ने भएको हो ।
कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका र तनहुँको भीमाद नगरपालिकाबाट पहुँचयुक्तताको सुरुआत गरिने महासंघका अध्यक्ष शर्माले बताए । नेपाल राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना तथा सिबिएम ग्लोबलको समन्वयमा मंगलबार र बुधबार भएको पहुँचयुक्तता परीक्षण तालिममा ३४ जनाको सहभागी थिए । प्रशिक्षकहरु राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खेमराज शर्मा, इन्जिनियरद्वय विमला तुलाधर र सुजता शाक्यले तालिम दिए भने कार्यक्रमको सहजीकरण गण्डकी प्रदेशका कार्यक्रम अधिकृत निरोज गिरीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width