यही वर्ष गण्डकीका सबै घरमा विजुली

धनबहादुर गुरुङ
फागुन ४, २०७८
uraja

उज्यालो गण्डकी प्रदेश घोषणा यही वर्ष
हरिशरण आचार्य
मन्त्री, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

सरकारसँग नागरिकका बगे्रल्ती अपेक्षा हुन्छन् । तपाई प्रदेशको जिम्मेवार मन्त्रीका रुपमा हुनुहुन्छ । सोचेअनुरुप काम गर्न कतिको सहज छ ?
प्रदेश सरकार चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सम्पूर्ण नागरिकमा संघीय लोकतान्त्रिक गणतन्त्रको हार्दिक शुभकामना । संघीयताको नयाँ प्रयोगको नयाँ सम्भावना बोकेर अगाडि बढ्न आग्रह गर्दछु । संघीयतापछि पहिलो खुड्किलो भएका कारण भोलिका सरकारदलाई राम्रो सन्देश दिनुपर्नेछ । त्यसैले हामी अझ बढी जिम्मेवार बन्नुपर्ने भएको छ । अहिलेको अवस्थामा संघले प्रदेशलाई दिएका अधिकार कार्यान्वय नसक्ने अवस्थामा छ भने स्थानीय सरकारले पनि आफूले पाएको अधिकारको उचित प्रयोग गर्न सकेको छैन । संघीयता प्रयोगका विषयमा हाम्रो बुझाइमा केही फरकपन छ । अधिकारभन्दा पनि आफ्नो स्वार्थअनुसार संघीयता प्रयोग गर्न खोज्दा सरकार–सरकारबीचमा अन्तर्विरोध छन् । संघीयता भनेको विकेन्द्रिकरणको सिद्धान्तअनुसार राज्यका सबै अधिकार जनताको बीचमा पुर्‍याउने हो । त्यसैले हामी जनताको प्रतिनिधि भएपछि दिनरात खटिनुपर्छ । हामी जनताको सेवक हुनुपर्छ । कुनै मालिक वा ठेकेदारजस्तो घुम्ने कुर्चीमा बस्ने बन्नुहुन्न । जति सेवा गर्‍यो त्यति नै संघीयताको नयाँ प्रयोग र अभ्यास भएको ठहरिन्छ । त्यसैले म त जनतासँग धेरैभन्दा धेरै पटक पुगेर उनीहरुकै ठाउँमा सेवा पाउनुपर्छ भन्ने मान्यता राख्छु । हाम्रो मन्त्रालयले त्यसको सही प्रयोग गरेको छ । प्रदेश सरकार पनि त्यस्तै कार्यक्रम बनाएर साझा रुपमा अघि बढ्नुपर्छ ।

तपाईं एउटा मन्त्रालय फुटाएर बनाएको मन्त्रालयको मन्त्री हुनुहुन्छ । यद्यपि यो मन्त्रालयको संस्थापक मन्त्री नै हुनुहुन्छ । कार्यभार सम्हालिसकेपछि अहिले अवस्थालाई कसरी समीक्षा गरिरहनु्भएको छ ?
विगतमा गरेको सरकारको समीक्षा अवश्य पनि हुनुपर्छ । एउटाले काम गर्ने तरिका र अर्कोले गर्ने कामको तरिका धेरै हुन्छ । यसमा यहीको फेवातालको संरक्षण विषयमा हिजोको सरकारले कुनै एक्सन लिन सकेन तर हामी यसको एक्सनमा जानुपर्छ भनेर यसको कानुनी प्रक्रियाअनुसार सबैलाई जोडेर काम गर्दैछौं । हिजोको सरकारले ‘कही भातैभात कही पुर्पुरोमा हात’ जस्तो गरेर विकास गरेको देखिन्छ । कुनै ठाउँमा मोडल विकास गरेको देखिन्छ कही जनतालाई आधारभूत आवश्यकता पनि पूरा भएको पाइन्छ । यो त असमान विकास हो । पहुँच र चाकडी आधारमा भन्दा आवश्यकता आधारमा विकास गर्नुपर्छ भन्ने मान्यतामा हामी जादैंछौ ।

जनताले प्रदेश सरकार किन चाहियो भन्न थालिसके । जनताले तपाईहरुको कामका आधारमा त्यसो भनेका हुन सक्छ भन्नेमा तपाईलाई के लाग्छ ?
अवश्य पनि जनताले त्यो भनेको सुनिन्छ । दायित्वमात्र बढ्यो भन्ने जनताको गुनासो हो । त्यो दायित्व अवश्य बढ्छ तर कर्तव्य पनि पूरा गर्नुपर्छ । हामीले दायित्वमात्र बढाउने अनि कर्तव्य पूरा नगर्ने भयो भने जनताले अवश्य गुनासा गर्छन् । मेरै कुरा गर्दा बागलुङको तमानखोला गाउँपालिकाको एक गाउँमा पुग्दा वडा सदस्य निर्वाचित भएपछि पुगेका रहेनछन् । त्यहाँ म पुग्दा जनताले नयाँ अनुभूति गर्न पाए । यस्तो सन्देश त दिनसक्नु पर्‍यो नि जनतालाई । संघको मन्त्री पुग्न नसकेको ठाउँमा प्रदेशका मन्त्री पुग्नुपर्‍यो । प्रदेश नपुगेको ठाउँमा पालिका अध्यक्ष त पुग्नुर्‍यो । यसरी कर्तव्य पूरा गर्दै गयो भने ठिक हुन्छ । आफ्नो कर्तव्य पूरा गर्दै जानुपर्छ ।

गण्डकी प्रदेशमा वैधानिक र कार्यगत के–के संशोधन हुन जरुरी ठान्नुहुन्छ ?
हाम्रोमा पहिलेको सरकारले गरेको काम आलोचना गरेर जाने ट्रेन्ड अझै बाँकी देखिन्छ । अरुलाई गाली गरेर तर्किने होइन, आफूले नयाँ काम कत्र्तव्य पूरा गर्दै अरुलाई आलोचना गर्ने ठाउँ नबनाई अघि बढ्ने संस्कारको विकास गर्नुपर्छ । हामी गण्डकी प्रदेशमा कान्छो दलका रुपमा छौं तर पनि केही नयाँ गरौं भन्दै अगाडि बढेका छौं । प्रदेशमा जनता समाजवादी पार्टीले हिजो रहेको मन्त्रालय फुटाएर एउटामात्र मन्त्रालय लिएर बसेको छौं । मन्त्रालयमा जे अधिकारको प्रयोग र कार्यान्वयन गर्नुपर्छ भनेर कस्सिएर लागेका छौं । हाम्रो फिल्डका कुरा, कार्यक्षमता र इच्छाशक्ति हेरेर मिडियाले पनि मूल्यांकन गर्नुपर्छ । हाम्रो मन्त्रालयसँग अर्थसहित अरु मन्त्रालयबीच अन्तरविरोध देखा परेका देखिन्छ । हिजो एउटै पार्टी भएकाले भित्रभित्रै देखिन्थ्यो तर अहिले धेरै पार्टी भएकोले केही समस्या छन् । त्यसलाई मुख्यमन्त्रीज्यूले आफ्नो अधिकार प्रयोग गरेर हल गर्नुप¥यो नि । यसबारे उहासँग भेटेर पनि भनेको छु ।

मन्त्रालयबाट गएका फाइल क्याबिनेटबाट अड्किने वा अर्थ मन्त्रालयमा गएर रोकिने समस्या तपाई भोग्नुपरेको छ कि छैन ?
यस्तै भोग्यांै । त्यसैले त अन्तरविरोधको कुरा गरिरहेको छु । कुनै पनि कुरा सकारात्मक रुपमा नलिने अनावश्यक रुपमा लिंदा समस्या छ । हामीले उज्यालो गण्डकी प्रदेश पूरा गर्ने कार्यक्रमका लागि १० करोड विद्युत प्राधिकरणसँग सम्झौता गरेका थियौं । पहिले भौतिकमा रहेको कुरा पछि हाम्रो मन्त्रालयमा आएपछि सम्झौता परिवर्तन गर्नुपर्ने भयो । समस्या भयो । प्रदेशको बजेट र अधिकारका कुरामा संघको अर्थ मन्त्रालयसँग सहमति दिनुपर्ने भनियो । त्यसपछि म आफै ढोका ढोका चाहारेर सहमति गरियो । यसरी कतिपय अधिकार नबुझ्दा पनि दुख पाइएको छ । कतिपय अवस्था बजेट आवश्यक पर्‍यो भने स्रोत सुनिश्चितताका लागि नीति तथा योजना आयोगसँग बसिरहनुपर्ने भन्ने हुँदैन । प्रक्रियागतरुपमा नीति तथा योजना आयोगमा बैठक बसेर समस्या समाधानसहित पठाउनुपर्ने हुन्छ तर इमर्जेन्सी परेको अवस्थामा अर्थ मन्त्रालयले आफैं सोझै अधिकार पाउने सरकारी कार्यविधिमा छ । तर कार्यविधिको अधिकार नबुझी अड्काउनु भनेको कार्यक्षमतामा ह्रास आउनु हो । केही न केही दलीय स्वार्थ जोडिएका होलान् । त्यसले गर्दा पनि नबुझेको जस्तो गरिएको हो भन्ने मेरो बुझाइ हो । अरु त्यस्तो केही छैन ।

काठमाडौंका सिंहदरबार पोखरामा सार्ने अनि नागरिक सबै प्रदेश राजधानी पोखरा आउने दिन कहिले बनाउनुहुन्छ ?
संघीयताका लागि जो लडे, उनीहरुमात्र छिटो कार्यान्वयन गरौं भन्ने पक्षमा छन् । संघीयतामा जबर्जस्त तानेर ल्याएकाहरुले कार्यान्वयन गर्न सक्दा पनि सक्दैनन् । त्यो सम्भव पनि छैन । भएको अन्तरविरोध यही हो । बयलगाडा चढेर अमेरिका पुग्न सकिदैंन भन्नेलाई गणतन्त्रको मालिक बनाइदिएपछि उसले गणतन्त्रको कार्यान्वयन गर्न सक्ने कुरा असम्भव छ । त्यसैले संघीयता जसको एजेन्डा थियो, उनीहरुलाई अघि बढाउन नागरिकलाई मेरो अनुरोध छ । संघीयता प्रयोग गर्ने विषयमा हाम्रो इच्छाशक्तिमा समस्या छन् । केही कार्यान्वयन गर्नेको दृष्टिकोणमा पनि समस्या छन् । तर हामी कानुन बन्नुपर्छ अनि लागु हुनुपर्छ । योबाट भाग्ने कसैलाई छुट छैन । हामी यो काम गर्छौं तर जुनरुपमा छिटो गर्छौं भनेका थियौं, त्यसमा केही ढिला भएको छ ।

४ वर्षअघि प्रदेशको नाम टुंगो लगाउने बेलामा तपाईहरुको विमति थियो । तपाईहरुको त्यो एजेन्डा कहाँ छ ?
त्यो एजेन्डा हामीसँग अहिले पनि छ । हिजो पृथ्वीनारायण शाहले एकीकरण गर्ने बेलामा ‘चार जात छत्तीस वर्ण’ को साझा फूलबारी भनेर स्वीकार गरेका हुन् तर त्यो फूल फुल्ने ठाउँ कहाँ छ ? बारी त बनाइयो, फूल रोपेको खोई ? त्यो ठाउँमा अधिकार र पहिचान त दिइएन । त्यसैकारण हाम्रो एजेन्डा यथावत नै छ । नेपालका एकीकरण गर्नुपर्छ भनी भावनात्मकरुपमा हामीले त्यो कुरा गरेका हौं । पहिचानको एजेन्डा त्यहीअन्तर्गतको विषयबस्तु हो ।

तपाई पछिल्लो समय ठाउँ–ठाउँमा पुगिरहनुभएको छ । जनताको समस्या समाधान पनि गर्छु भन्नुभएको छ तर समस्या समाधान गर्न मन्त्रालयमा बजेट चाहिं कति छ ?
समस्या भएको स्थानमा गएर जनताको समस्या समाधान गर्न १ करोड आवश्यक पर्नेमा ५ लाखमात्रै बजेट पार्दा पनि मन्त्री आयो हेर्‍यो प्रदेश सरकारले हाम्रा समस्या सम्बोधन गर्ने रहेछ भन्ने सन्देश त दिन सफल भयौं नि हामी । करिब ३ सय ४६ वटा योजना बनाएर त्यही पुगेर केही न केही सम्बोधन गरेका छौं । बजेट थोरै छ यदि पर्याप्त भएको भए भनेअनुसार माग सम्बोधन गर्न सकिन्थ्यो । तर, अहिले जति छ काम सुरु गर्छौं यसलाई अन्यथा नमान्नुहोला भनेर जनतालाई सत्य कुरा भनेका छौं । जनतालाई नढाँट्ने गरी ‘जनतासँग मन्त्री : समस्या समाधानका लागि मन्त्रालय’ नारा बनाएर सचिवलगायत सम्बन्धित सबै शाखाका प्रमुखसहित पुगेर समस्या बुझी निकास गर्ने काम गरिरहेका छौं । संस्कार अझै परम्परागत छ । जनताले त्यो मान्दैनन् । त्यसैले धेरै थोरै जे भए पनि जनताले अनुभूति गर्नेखालको सेवा हामीले दिनुपर्छ ।

तपाईंको मन्त्रालयले अहिलेसम्म के–के काम गरेको जस्तो लाग्छ ?
गत २ वर्षदेखि १४ ओटा खानेपानी आयोजना रोकिएर बसेको थियो । लगभग ६ हजार घरधुरीका लागि छुट्टिएको आयोजना रोकिएर बसेको अवस्थामा कमल आचार्य नामका ठेकेदार समाएर बैशाख महिनाभित्र सक्ने गरी काममा लगाएका छौं । दोस्रो, जनताका जति समस्या छन्, ती समस्या सोही स्थानमा पुगेर समाधान गर्ने प्रयास गरिएको छ । तेस्रो, तत्काल समस्या हल गर्नुपर्ने ठाउँमा तत्काल समाधान गरेका छौं । उज्यालो गण्डकी प्रदेशका लागि म्याग्दीको दरबाङ, गोरखाको घ्याम्पेसाल, नवलपुरको बोझापोखरी र तनहुँको रिसिङ सबस्टेसन २ वर्ष अघिदेखि अलपत्र थियो । त्यसका लागि ठेकेदार समाएर ल्याएर काम गर्न लगाएका छौं । हाम्रो भनाइ हो, ठेकेदारको काम गर्ने तरिका बदल्नुपर्छ । अनि सार्वजनिक खरिद ऐन परिवर्तन गर्नुपर्छ । यति धेरै प्रविधिको जमानामा आएर हुलाकको पत्र हिंडेकोजस्तो सार्वजनिक खरिद ऐन चलाउनु हुँदैन । विभिन्न बहानामा म्याद थप गरिदिने, उनीहरुका लागि लचिलो बनिदिने व्युरोक्रेटिक संरचनाले केही कमजोरी भएका छन् । त्यसका लागि हाम्रो मन्त्रालयले निगरानी गरिरहेको छ ।

आगामी योजना के–के छन् ?
‘एक घर, एक धारा’ कार्यक्रम २ वर्षभित्र पूरा गर्नुपर्छ भनेर लागेका छौं । प्रदेशका अझै २ लाख घरधुरीमा खानेपानी पुगेको छैन, हामी पुर्‍याउँछौं । उज्यालो गण्डकी प्रदेश बनाउने गरी लागेका छौं यही आर्थिक वर्षमा त्यो हामी घोषणा गर्र्दैछौं । विद्युत् प्राधिकरणसँग समन्वय गरेर विद्युत खपत बढाउने काम गर्नेछौं । करिब ४४ लाखको दायित्व व्यहोरेर भए पनि खानेपानी र सिंचाइ आयोजना (लिफ्टिङका आयोजना) त्यसमा अनुदानको बजेट दिने गरेर अघि बाँडिएको अवस्था छ । ११ वटा प्रतिनिधिमूलक सिंचाइ र खानेपानी आयोजनामा विद्युत महसुल अनुदान दिने गरी अघि बढेका छौं । खेर गएको विद्युत् उपयोग गरेर पानी तान्न मोबाइल एप प्रविधि भित्राउने छौं । सौर्य ऊर्जातर्फभन्दा पनि हाइड्रो ऊर्जातर्फ हाम्रो जोड हुनेछ । जनतालाई गाउँमा पुगेर दिएको सेवा निरन्तर गर्नेछौं । सिंचाइ, ताल, चरिचरण क्षेत्रको संरक्षण गर्ने र अतिक्रमण भएका ठाउँ कानुनी दायरामा ल्याएर पालिका तथा संघीय कार्यान्वयन इकाइसँग समन्वय गरेर प्रक्रियागत ढंगबाट काम गर्नेछौं ।

Related News

सम्बन्धित समाचार

hero news full width