हेडसरको कृषिमोह

विजय नेपाल
माघ २८, २०७८
janak acharya_ (1)

पोखरा । सुखसुविधा खोज्दै मानिसहरु सहर पस्दा गाउँघर रित्तो भइसके । वर्षौदेखि पाखोबारी बाँझो छन् । तर त्यही गाउँघर छोड्नेहरुको पाखोबारी सदुपयोग गरेर विद्यालयका प्रधानाध्यापकसमेत रहेका एक युवा मनग्य आम्दानी गरिरहेका छन् ।
पाल्पा जिल्लाको पश्चिमी भेग रिब्दीकोटस्थित प्रभात माविका प्रअ हुन्, जनक आचार्य । उनी विद्यालय समयमा विद्यार्थी पढाउन व्यस्त हुन्छन् । साँझ बिहान भने पाखोबारीमा भेटिन्छन् । मिहिनत र कर्ममा विश्वास गर्ने उनी कृषिमा नयाँ सोचविचार गरीकन वर्षौदेखि बाँझो जमिनमा ‘सुन’ फलाएर गाउँ छाड्नेहरुलाई लोभ्याइरहेका छन् ।
घरमा ताला ठोकेका १५ घरपरिवारको जग्गाजमिन भाडामा लिएका छन् । ठूलो रकम माटोमा लगानी छ ।
उनले भने, ‘गाउँघर छोडेर जानेहरुमध्ये १५ घरपरिवारको २ सय रोपनी खेतबारी खुर्सानी खेतीको लागि भाडामा लिएको हुँ । अहिले खुर्सानीका अलावा सुन्तला खेती र कुखुरापालनमा लगानी छ । राम्रो हुँदै गए वार्षिक १ करोडसम्म आम्दानीको लक्ष्य छ ।’ फार्मको नाम हो–त्रिपुट पशु तथा कृषि बहुउद्देश्यीय फार्म । कृष्ण भट्टराईसँग मिलेर यो फार्म चलाएका हुन् । लामो समय विदेश बसेर फर्किएका कृष्णले फार्ममा फिल्ड व्यवस्थापनको जिम्मेवारी लिएका छन् । वार्षिक प्रतिरोपनी ६ सय रुपैयाँ दरले ५ वर्षसम्म जग्गा भाडामा लिइएको रहेछ । खुर्सानी खेतीमा यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइको चक्लाबन्दी कार्यक्रमबाट ५ लाख ८० हजार रुपैयाँ आर्थिक अनुदान र प्राविधिक सहयोग मिलेको उनले जानकारी दिए । ‘खेतीका लागि सहयोग प्राप्त भएकोले पहाडको भिरालो तथा बाँझो जमिन खोस्रिएको हो,’ ४ दशक हाराहारी उमेरका आचार्यले भने, ‘भविष्यमा अकबरे खुर्सानीको अचार बनाई स्थानीयलाई समेत थप रोजगारी सिर्जना गरी कृषि क्षेत्रमा अभिप्रेरित गर्दै जाने सोच छ ।’
उनका अनुसार खुर्सानी खेतीमा मात्र २० लाख लगानी परेको छ । त्यस्तै सुन्तला खेतीमा करिब ७ लाख । सुन्तला खेती ५० रोपनी जग्गामा फैलिएको छ । उनले आजभन्दा ९ वर्षअघि कम उब्जनी हुने जग्गामा सुन्तला खेती थालेका हुन् । निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउँदै उनले आफ्नै बारीसहित बुट्यान तथा जंगल फाँडेरै सुन्तला खेतीबाट कृषिमा हात हालेका हुन् ।

पाल्पाका युवा जनक आचार्यले गाउँ छोडेकाहरुको जग्गा भाडामा लिएर लाखौं कमाइ गर्दै आएका छन्

२०६९ सालमा सुन्तला बगैंचा निर्माणमा १ लाख ५० हजार रुपैयाँ खर्च लागेको आचार्यले स्मरण गर्छन् । ४ सय १८ बोट सुन्तला रोपेकोमा वार्षिक राम्रो आम्दानी दिन थालेपछि त्यसलाई बिस्तार गर्दै लगे । उनले यस वर्षमात्र १ सय क्वीन्टल बढी सुन्तला बेचे । सुन्तलाको बगैंचा बिस्तार गर्दै हाल १ हजार १ सय ६५ बिरुवा रोपेको बताए । भविष्यमा सुन्तला खेती थप बिस्तार गर्ने र बाँकी रहेको जग्गामा अमला तथा जडिबुटीजन्य बनस्पती रोप्ने योजना उनको छ ।
आचार्यले ४ वर्षदेखि कुखुरापालनसमेत गर्दै आएका छन् । घरपरिवारका सदस्यसँग गाउँघरमै बसेर पनि उनले राम्रो आम्दानी गरेका छन् । शिक्षण पेसाबाट आउने तलब अलावा खुर्सानी, सुन्तला, पशुपक्षीबाट मासिक करिब २ लाख आम्दानी हुने गरेको उनको भनाइ छ । त्यसमध्ये खुर्सानीबाट मात्र औसत १ लाख कमाइ हुँदोरहेछ ।


वर्षौदेखि खनजोत नभएको बाँझो जमिन उनले पसिना बगाएर रोपेको खुर्सानीको खेती हराभरा देखिन्छ । हाल १ लाख ४० हजार खुर्सानीका बिरुवा छन् । १५ दिनको फरकमा नर्सरी बनाएर आफै बिरुवा उत्पादन गर्छन् । गाउँपालिका र कृषि ज्ञान केन्द्र पाल्पाबाट बिउँ माग भएपछि छुट्टै फिल्डमा १ हजार बोटबाट बिउँ निकाल्ने तयारीमा रहेको सुनाए । ताकि आफूजस्तै अरुलाई रैथाने जातको बिउँ खोज्दै अब पूर्वी इलामसम्म पुग्नु नपरोस् । यसको बिउँ हत्पति किन्न समेत नपाइने भएकोले आफैं बिउँ उत्पादनमा लागेका हुन् ।
छिटो उत्पादन दिने, बिक्रीमा समस्या नहुने र मनग्य आम्दानी हुने भएकोले यसप्रति आचार्यजस्तै कृषकको आकर्षण बढ्दो छ । उनले खुर्सानीबाट सुरुआतमै मासिक ५० हजार कमाउन थालेको बताए । त्यस्तै यसको बिरुवाबाट पनि छुट्टै आम्दानी छ । हालसम्म ५० हजार रुपैयाँ बिरुवा बेचेरै भित्राए । अरु बोट हुर्किंदै गरेको र बरोबर टिप्न मिल्ने भएकोले आम्दानी थप बढ्नेमा उनी आशावादी छन् । किनकि पहिलो वर्ष तुलनामा खुर्सानीको बोटमा दोस्रो वर्षमा झन् उत्पादन बढ्छ । परम्परागत खेती प्रणालीभन्दा कैंयौं बढी फाइदा मिल्ने भएकोले अरुलाई पनि उनी खेतीको लागि सुझाउँछन् । बिक्रीका लागि हाल चाउचाउ उद्योगसँग वर्षभरिका लागि २ सय ८१ रुपैयाँ प्रतिकिलो दररेटमा सम्झौता गरेका छन् । अफसिजनमा बाहिर धेरै मूल्य पनि पर्छ । उनले ५ जनालाई यहाँ रोजगारी समेत दिएका छन् । त्यसमध्ये १ कृषि प्राविधिक, १ कृषि व्यवस्थापक र अन्य मासिकरुपमा कामदार हुुन् । कामको प्रकृति र चाप हेरेर कहिलेकाही दिनमा २० जनासम्म उनको फार्ममा काम गरिरहेका भेटिन्छन् ।
यो कर्ममा उनलाई परिवारका सदस्य पनि सघाउँछन् । परिवारमा बावुआमा, श्रीमती र २ छोरा छन् । २ छोरा आफूसँगै स्कुल जाउआउ गर्छन् । स्कुल पनि गाउँपालिकामै अब्बल हो । गुणस्तर विद्यालय गाउँपालिकामै प्रथम हुन सफल भएको उनले गर्वका साथ सुनाए ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width