मूल्य बढ्यो, बढेन उत्साह

धनबहादुर गुरुङ
माघ २६, २०७८
Milk Cow Photo 2

पोखरा । पोखरा २८ स्थित सरोज पशुपालन तथा अर्गानिक कृषि फार्ममा अहिले २५ वटा गाईभैंसी छन् । केही वर्ष अघिसम्म १ सय ५० गाईभैंसी थिए । त्यो बेला दैनिक ९ सय लिटर दूध बिक्री हुन्थ्यो । अहिले परिणाम घटेर १ सय ५० लिटरमात्र बिक्री हुन्छ ।
फार्म संचालक सरोजरमण अधिकारी २५ गाइभैंसी पनि घटाउने सोचमा छन् । बैंकको ऋण तिर्न केही भए पनि सहज होला कि भन्ने आशले काम छोड्न भने सकेका छैनन् । दूध बेचेरै जीविका चलाउँला भनी १२ वर्षअघि फार्म खोलेका अधिकारी यतिबेला हैरानीमा छन् ।
उनमा नैराश्यता छाउनुको एक मात्र कारण हो–मूल्यवृद्धि । ‘पहिलाभन्दा अहिले सबै चिजमा मूल्य बढेको छ,’ उनले भने, ‘भकारो सोर्ने डस्बिनदेखि लिएर बजार पु¥याउँदासम्म मूल्य आकाशिएको छ ।’ सबैतिर मूल्य बढ्दा दूधको मूल्य भने स्थिर भएको उनको गुनासो छ ।
सरकारले केही समयअघि बढाएको दूधको मूल्यमा पनि सन्तुष्ट देखिन्न्, उनी । मन्त्रिपरिषद्को माघ १७ को बैठकले दूधको मूल्य प्रतिलिटर ६.५२ रूपैयाँ बढाएको थियोे । दाना, चोकर, परालको बजार भाउ बढेको समयमा थोरैमात्र मूल्यवृद्धि गरिदिंदा आफू सन्तुष्ट नभएको उनको प्रतिक्रिया थियो ।
‘६ महिनाअघि चोकरको मूल्य ११ सय ५० थियो । अहिले १९ सय ५० तिर्नुपर्छ,’ अधिकारीले भने, ‘अनि दानाको मूल्य प्रतिकेजी ७ रुपैयाँ बढ्यो । परालको पनि एक ट्रिपमा १२ हजारसम्म बढेको छ ।’ लगानी गर्नुपर्ने सामानको मूल्य बढ्ने तर उत्पादन गरेको बस्तुको मूल्य त्यही अनुपातमा नबढ्दा गाह्रो परेको उनको गुनासो थियो ।
उनीजस्तै दूधको मूल्य आफूअनुकूल नबढ्दा अन्य किसान पनि खुसी छैनन् । कास्कीमा दर्ता गरेर चलाएका २ सय ५७ हाराहारीमा फार्म छन् । ती फार्मका कृषक सरकारले बढाएको मूल्यप्रति सन्तुष्ट छैनन् । कृषकको माग सरकारले सम्बोधन नगरेको भन्दै राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपाल, कास्कीले दूधको मूल्य अझ बढाएको छ । सरकारले लागु गरेको प्रतिलिटर ६.५२ रूपैयाँमा थप ३.४८ रुपैयाँसहित कुल १० रुपैयाँ वृद्धि गरेको छ ।

सरकारको निर्णय लत्याउँदै किसानले दूधको मूल्य बढाए–प्रतिलिटर १० रुपैयाँ

माघ २२ गते बसेको बैठकले प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको समाजका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । बैठकले उत्पादन लागतमा भएको लगभग दोब्बर मूल्यवृद्धि र उपभोक्ताको हितलाई मध्यनजर गर्दै भएको निर्णय फागुन १ देखि लागु हुने उनले बताए ।
बुधबार पत्रकार सम्मेलन गरेर समाजले नयाँ मूल्य सार्वजनिक गरेको छ । दूध उत्पादनमा लागेका किसानको लागतमा मूल्य भएको वृद्धिले किसान मारमा परेको भन्दै बाध्यतावश दूधको मूल्य वृद्धि गर्नु परेको कृषक समाज नेपाल कास्कीले विज्ञप्तिमार्फत जनाएको छ । मूल्यवृद्धिपछि अब सर्वसाधारणले भैंसीको दूध प्रतिलिटर १ सय ३०, गाईको प्रतिलिटर १ सय, दही प्रतिलिटर १ सय ४०, पनीर प्रतिकेजी ८ सय, ध्यू प्रतिकेजी १ हजार २ सय र नौनी प्रतिकेजी १ हजार रुपैयाँ कायम गरिएको छ । ‘हामीले गाईभैंसीको दूध, दहीमा प्रतिलिटर १० रुपैयाँ बढाएका छौं,’ उनले भने, ‘पनीर प्रतिकेजीमा ५०, ध्यू प्रतिलिटरमा एक सय र नौनी प्रति केजीमा १ एक बढाएका हौं ।’
कृषकको पीडा सरकार नबुझेका कारण राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले मूल्य निर्धारण गरेको उनको दाबी छ । ‘दाना, चोकर, भुसा, भैंसी र कामदारलाई दिने ज्यालाको मूल्य राज्यले बढाउँदै गर्दा त्यो वैज्ञानिक भएन,’ उनले भने, ‘हामीले बाध्य भएर नाफा उठाउनभन्दा पनि व्यवसायमा टिकीराख्न बढाउनु परेको हो ।’ कार्यदलले दूध तथा दुग्धजन्य पदार्थको मूल्य न्यूनतम १० रुपैयाँदेखि १४ रुपैयाँसम्म वृद्धि गर्न सिफारिस गरेको थियो । सो सिफारिस दुग्ध विकास बोर्ड र कृषि मन्त्रीलाई बुझाएको र त्यसबेला बोर्ड र मन्त्री दुवै कार्यदलको सिफारिस अनुसारको मूल्यवृद्धि गर्न सहमत भए पनि पछि सरकारले आफूखुसी न्युन वृद्धि गरेर किसानमाथि लात प्रहार गरेको कृषक समाजको आरोप छ ।
समाजका अध्यक्ष तिमिल्सिनाले किसानमाथि राज्यले गरेको व्यवहार राम्रो नभएको आरोप लगाए । यदि किसानको लागत अध्ययन गरेर मूल्य वृद्धि गलत सावित गरे आफूहरु जस्तोसुकै सजाय भोग्न पनि बाध्य हुने उनको भनाइ थियो । उनले भने, ‘हिजो कृषिबाटै समृद्धि प्राप्त हुन्छ भनेर लाग्यौं तर अहिले राज्यले गरेको व्यवहारका कारण कृषि क्षेत्रमा लाग्नु भनेको दुर्भाग्य र अभिषाप हो भन्ने अवस्था आयो ।’ राज्यले किसानलाई संरक्षण, मूल्यांकन र सम्मान नदिएको उनको भनाइ थियो ।
कास्कीमा दैनिक ५० हजार लिटर दूधको माग रहेको अनुमान छ । जसमध्ये ३८ हजार लिटर कास्कीमै उत्पादन हुन्छ भने बाँकी बाहिरी जिल्लाबाट आयात हुने गरेको तिमिल्सिनाले बताए । उनका अनुसार कास्कीमा उत्पादन हुने दूधमध्ये व्यावसायिक पशुपालन किसानले २३ हजार लिटर, राज्यबाट सूचीकृत नभएका तथा सहकारीबाट १५ हजार लिटर छ भने बाँकी दूध चितवन, नवलपुर, कपिलबस्तुबाट आयात हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width