कोरोना संक्रमण ओरालो

आदर्श समाज सम्वाददाता
माघ २२, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमित हुनेको संख्या घट्दै गएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शुक्रबार २ सय ३८ जनामात्र संक्रमित भए । प्रदेशमा बिहीबार २ सय ९०, बुधबार ३ सय ८२ र मंगलबार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्ला साता प्रदेशमा २ हजार ५ सय ७५ जनामा कोरोना देखिएको थियो भने अघिल्लो साता ५ हजार ३२ जनामा पोजेटिभ रिजल्ट आएको हो ।
गत माघ १० मा सबैभन्दा बढी ९ सय ४९ जना संक्रमित भएका थिए । संक्रमित संख्या घट्दै गए पनि स्वास्थ्य सुरक्षा मापदण्ड ख्याल गर्न प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सुझाव दिएको छ । प्रदेशमा हाल सक्रिय संक्रमित ४ हजार ५ सय ६९ जना छन् । तीमध्ये ४ हजार ५ सय १९ होम आइसोलेसनमा बसेका छन् ।
कोरोना संक्रमित संख्या ओरालो लागेको गण्डकीमा निको हुनेको संख्या उकालो लागेको छ । शुक्रबार ९ सय ३५ जना निको भएका छन् भने बिहीबार ९ सय ४९ जनाले कोरोना जितेका थिए । पछिल्ला एक हप्तामा ५ हजार ३ सय ३१ जनाले कोरोना जितेका छन् । अघिल्लो साता सोही अवधिमा १ हजार ८ सय ८८ जना निको भएका थिए ।
गण्डकीमा हालसम्म कुल १ लाख ४ सय ९२ जना संक्रमित भएका छन् । तीमध्ये ९४ हजार ४ सय ६२ जना निको हुँदा १ हजार ४ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी, नेपालभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । थप २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भयो ।

कोरोना संक्रमित संख्या ओरालो लागेको गण्डकीमा निको हुनेको संख्या उकालो लागेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६ सय ५५ नमुनाको पिसिआर टेस्ट गर्दा १ हजार ६ सय २ र ४ हजार ४ सय १८ नमुनाको एन्टिजेन टेस्टमा ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । सो अवधिमा ८ हजार ४ सय २५ जना निको भए । हाल देशभर ५६ हजार ४ सय ५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने १ हजार ३ सय ६७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ४३ जनाको आइसियु र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नोपलमा हालसम्म कोराना संक्रमितको कुल संख्या १० लाख ९७ हजार ५ सय ८९ पुगेको छ । यस्तै, ११ हजार ७ सय ९४ जनाले ज्यान गुमाउँदा ८ लाख ९५ हजार ८ सय ६८ निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयले समेत नेपालमा कोरोना संक्रमण दर घट्दै गएको जनाएको छ । मन्त्रालय प्रवक्ता डा. संगीता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् । उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो क्रममा रहेको र त्यसको प्रभाव नेपालमा पनि परेको बताइन् । स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेका भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैसँग पुनः सचेत गराइन् ।
पछिल्लो तथ्यांकले पनि नेपालमा संक्रमण दर घट्दै गएको देखाएको उनको भनाइ छ । उनले भनिन्, ‘बढी सतर्कता अपनाएर पनि यसको दर घटेको हु नसक्छ । स्वास्थ्य मापदण्ड अपराउने, भीडभाडमा नजाने र खोप लगाउने काम गर्नु प¥यो ।’ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएकोसमेत उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width