पोखरा म्याराथन २ चरणमा

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
Marathon~

पोखरा । कोरोना महामारीका कारण १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २ चरणमा हुने भएको छ । गत वर्ष पनि आयोजकले विभिन्न मितिमा पोखरा म्याराथन सम्पन्न गरेको थियो ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको सम्पन्न बैठकले कोभिड–१९ मध्यनजर गर्दै प्रतियोगितालाई २ भागमा गरी सम्पन्न गर्ने निर्णय गरेको हो । मञ्चले फागुन ७ गते खुला म्याराथन (४२.१९५ किमी) र महिलातर्फ (२१ किमी) यथावत् सञ्चालन हुने र अन्य इभेन्ट चैत १२ गते गर्ने निर्णय गरेको हो । चैत १२ मा ५ किमी, १० किमी र अपांगतातर्फको सम्पूर्ण दौड हुनेछ ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कोभिड महामारीको बेला धेरै भिडभाड नहोस् भनी २ चरणमा गर्न लागेको बताए ।
‘स्वास्थ्यको लागि पोखराका लागि’ उद्देश्यका साथ आयोजना हँुदै आएको पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको बताउँदै अध्यक्ष पराजुलीले म्याराथन सफल बनाउन विषयगत समितिले तोकिएको कार्यलाई तीव्रता दिएको उल्लेख गरे । उनले पोखरा म्याराथन सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समूह र अन्य संघ संस्थालाई सदा झैं सहयोगका लागि आग्रहसमेत गरे ।
पोखरा म्याराथनअन्तर्गत खुला म्याराथनतर्फको पुरस्कार राशि ४ लाख रहेको छ । जसमा केन्यालगायत अन्य अफ्रिकी मुलुकबाट धावक पोखरा आउने तयारी गरिरहेको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताएका छन् । ‘पोखरा म्याराथनले अब विश्वव्यापीरुपमा चर्चा पाउन थालेको छ । विदेशबाट समेत धावक यहाँ आउनु गौरवको विषय हो,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width