कृषि अनुसन्धानमा बाँदर बाधा

आदर्श समाज सम्वाददाता
माघ १४, २०७८
hemja

हेमजा । कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले बाँदरका कारण अनुसन्धानमै समस्या झेल्नु परेको जनाएको छ । बाँदरले अनुसन्धानका धेरै क्षेत्रमा प्रभाव पारेको निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले बताए ।
वार्षिक ज्यामीका लागि छुट्टाएको ५ देखि १० प्रतिशतसम्म रकम बाँदर नियन्त्रणका लागि खर्चिनु परेको उनको गुनासो छ ।
‘चालु आर्थिक वर्षमा निर्देशनालयको १ करोड १८ लाख ज्यामी ज्याला हो, जसमध्ये यस वर्ष नियन्त्रणका लागि १० प्रतिशत नै खर्च होलाजस्तो छ,’ निर्देशक उपाध्यायले भने, ‘निर्देशनालयले ज्यामीलाई दैनिक ५ सय ७७ ज्याला दिंदै आएको छ । त्यहाँ अहिले ६४ ज्यामी कार्यरत रहेकोमा ५ जना बाँदर नियन्त्रणकै लागि खटाइएको छ ।’
त्यस क्षेत्रमा रातो, लंगुरे र अर्को एक जात (रातो र लंगुरेको मिश्रणजस्तो) गरी ३ प्रकारका बाँदर छन् । हाल तोरी, गहुँ लगायतका बाली ठूलै परिणाममा लगाइएकोमा बाँदरले मकैलाई मात्र समस्या पार्छ भन्ने थियो तर तोरीमा पनि ठूलै समस्या ब्यहोर्नुपरेको निर्देशक उपाध्यायले बताए ।
निर्देशनालयले दिउँसो अलावा बिहान बेलुका पनि बाँदर धपाउन ज्यामी राख्दै आएको छ । वर्षभरिजसो दैनिक ५ देखि ७ जनासम्म नियन्त्रणका लागि खटाइने गरिएको छ ।
यहाँको अधिकांश क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्छ । त्यहाँ रहेका कु–काठमा रुख फाड्न पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) हुँदै जिल्ला वन कार्यालयको स्वीकृति लिनुपर्छ । त्यो प्रक्रिया अलि लामो र झन्झटिलो रहेको निर्देशनालयले जनाएको छ ।
यहाँ करिब ४ सय बढी कु–काठका ठूल्ठूला रुख रहेको अनुमान छ । बाँदरको आश्रय रुख वा झाडी हो, टाढाबाट लुकीलुकी बाँदर आउँदैन । कृषिका लागि सेप त्यति राम्रो पनि मानिंदैन तैपनि रुख तथा झाडी फाँड्नेसम्मको अधिकार निर्देशनालयमा नरहेको निर्देशक उपाध्यायले बताए ।
निर्देशनालयले यसअघि बाँदर नियन्त्रण गर्न विभिन्न उपाय नअपनाएको पनि होइन । त्यसका लागि विभिन्न यन्त्र उपकरण ल्याएर पड्काउने कामसमेत गरेको थियो । २÷४ दिन त बाँदर तर्सेर आएनन् पनि तर केही दिनपछि उक्त आवाजसँग अभ्यस्त भएर बाँदरले दुख दिन थालेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width