राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट गठबन्धनकै उम्मेदवार निर्वाचित

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
upper (1)

गण्डकीमा गठबन्धनबाट निर्वाचित राष्ट्रिय सभा सदस्य

पोखरा, १२ माघ । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि बुधबार मतदान भएको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका ८ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो ।
यसैक्रममा गण्डकी प्रदेशमा गठबन्धनले ३ वटै पदमा चुनाव जितेको छ । सत्ता गठबन्धनका उम्मेदवार भुवनबहादुर सुनार (दलित), कमला पन्त (महिला) र सुरेशकुमार आलेमगर (अन्य) निर्वाचित भएको निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

जसअनुसार नेकपा (माओवादी केन्द्र) बाट दलित कोटामा निर्वाचित भुवनबहादुर सुनारले ३,०४८ मतभार प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले २७२४ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका तर्फबाट महिलातर्फ निर्वाचित कमला पन्तले ३०८४ मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतको २७२४ मतभार आयो ।

यस्तै, नेकपा (माओवादी) बाट अन्यमा सुरेशकुमार आलेमगरले ३०९६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्य बन्दा प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २६९४ मतभार पाए ।

पोखरास्थित निर्वाचन आयोगको कार्यालयमा भएको निर्वाचनमा प्रदेशसभा सदस्यबाट ५९ र स्थानीय तहबाट १ सय ६८ गरी कुल २ सय २७ मत खसेको थियो ।

आगामी फागुन २० गते नेकपा (एमाले) का ८, नेकपा (एकीकृत समाजवादी) का ४, नेकपा (माओवादी केन्द्र) का ४ र नेपाली कांग्रेसका ३ सदस्यको पदावधि सकिंदै छ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार बुधबार मतदान भएको हो । अन्य प्रदेशबाट पनि कांग्रेससहितको गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width