विभागीय त्रिभुवन आर्मी सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
माघ ११, २०७८
army

तस्बिर साभार- गोलनेपाल।

पोखरा, ११ माघ । विभागीय त्रिभुवन आर्मी क्लब २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

पोखरा रंगशालामा मंगबार चौथो तथा अन्तरिम क्वाटरफाइनलमा रुस्लान थ्रिस्टार क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा आफूलाई सुरक्षित पारेको हो । आर्मीको जीतमा राजीव गुरुङ नायक बने ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा खेलको ७० औं मिनेटमा राजीव गुरुङले गरेको गोल अन्ततः निर्णायक बनेको हो । खेलको ६४ औं मिनेटमा टंक बस्नेतको स्थानमा उनी मैदान छिरेका थिए।

पटक पटकको सहभागितामा पनि उपाधि होडबाट बाहिरिंदै आएको आर्मीले यसपालि पनि क्वाटरफाइनल जीतसँगै विजयी यात्रा सुरुआत गरेको हो । अब आर्मीले दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुने छन् । पहिलो सेमिफाइनलमा लिग लिडर मच्छिन्द्र फुटबल क्लब नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धामा उत्रिने छ।

यसैबीच, आयोजक सहारा क्लब पोखराले सेमिफाइनल र फाइनल खेलमा दर्शक छिराउने भएको छ । कोरोना महामारीका कारण हालसम्म बिनाटिकट खेल संचालन गर्दै आएकोमा आयोजकले सेमिफाइनल र फाइनलका लागि प्रतिदर्शक ३ सय रुपैयाँ लिई खेल अवलोकन गर्ने दिने भएको हो । सोको लागि कुल सिट क्षमताको एक तिहाइमात्र टिकट बिक्री हुने र दर्शकले प्रभु पे अनलाइन एपमार्फत टिकट काट्न सक्ने व्यवस्था मिलाइएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए । यस्तै, प्रतियोगिता अवलोकलनमा दर्शकको खोपकार्ड अनिवार्य छ।

Related News

सम्बन्धित समाचार

hero news full width