सिद्धबाबा सुरुङमार्ग निर्माण अघि बढ्यो

रासस
माघ ११, २०७८
siddha

काठमाडौं । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ ।
सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनियर) सौरभ बज्राचार्यले बताए ।
ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सिल ओपनिङ’ बाँकी आगामी माघ २० गते हुने बताइएको छ । त्यो खुलेपछि बोलपत्र कम हाल्नेलाई सम्झौताका लागि बोलाइने र स्वीकृत गरेपछि एक महिना समय दिनुपर्छ । उनले भने, ‘प्रक्रिया सबै टुंगाएर ठेक्कामा नै जान फागुन अन्तिमसम्ममा हुनसक्ने देखिएको छ ।’
देशकै पहिलो सुरुङका रुपमा रहेको नागढुंगा सुरुङको उद्देश्य सडकको लम्बाइ घटाउनु र सवारी चाप कम गर्नु हो । यो सुरुङको पहिलो उद्देश्य सिद्धबाबामा वर्षेनी हुने पहिराको जोखिम कम गर्नु नै रहेको सिनियर डिभिजनल इ. बज्राचार्यले बताए । हरेक वर्ष सो स्थानमा आउने पहिराले यहाँबाट यात्रा गर्नेको मृत्यु हुने गरेकामा त्यसलाई कम गराउनु नै सुरुङको मुख्य लक्ष्य हो ।
नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ ले पहिराको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ २ लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु अधिकांश सवारीसाधन सुरुङबाटै जाने उनले बताए ।
निर्माण हुन लागेका संरचनामध्ये सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर र बाटोको लम्बाइ जम्मा २.५ किमी हुन्छ । सरकारले यसका लागि १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । यसको जम्मा लगानी भने निर्माण कम्पनीले कति रकममा कबोल गर्छन् त्यसैका आधारमा मात्रै यकिन हुने केन्द्र्रले जनाएको छ । सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरुङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लावासीलाई सुविधा पुग्नेछ ।

सुरुका ३ वर्षमा सुरुङ सकिने र बाँकी ३ वर्षमा ‘रकसेड’ सकिने

सुरुङ सम्पन्न भएर सञ्चालनमा आउँदा यहाँ हुनसक्ने सम्भावित दुर्घटना कम गराउनेसँगै सवारी साधनमा लाग्ने लागत कम हुने अपेक्षा गर्न सकिन्छ । गाडि खाल्डामा गुड्दा लाग्ने खर्च राम्रो सडकबन्दा कम हुने बज्राचार्यले बताए । त्यससँगै यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनमा यसले सहयोग पुर्‍याउन सक्नेछ । सिद्धबाबा मन्दिर अहिले पनि पर्यटकीय केन्द्रका रुपमा रहेकामा यातायातको सजिलो पहुँच हुँदा त्यो बढ्न सक्नेछ । पहिलो ‘रकसेड’ भएकाले त्यो पनि आकर्षक बन्न सक्ने उनले बताए । उनले भने, ‘यो ठाउँको सुन्दरता बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
सुरुङमार्ग र ‘रकसेड’ निर्माणका लागि स्वीस सरकारले परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको हो । सो डिजाइनका आधारमा निर्माण शुरु भएको पाँच वर्षमा संरचना निर्माण सकिनेछ । सुरुका ३ वर्षमा सुरुङ सकिने र बाँकी ३ वर्षमा ‘रकसेड’ सकिने उनले बताए ।
निर्माण हुन लागेको ‘रकसेड’ ले माथिबाट झर्ने ढुंगा सकेसम्म झर्न नदिने र झर्दा पनि विस्तारै झार्ने काम गर्ने सिनियर डिभिजनल इ. बज्राचार्यले बताए । त्यहाँ पहिरो झरेमा त्यसले गर्ने क्षति कम गर्न सकिन्छ । यसअघि नै नागढुंगामा देशको पहिलो सुरुङमार्ग निर्माण शुरु भइसकेको छ र सम्भवतः यो नै पहिलो सम्पन्न हुने सुरुङमार्ग बन्नेछ । नागढुंगा जापान सरकारको सहुलियत ऋणमा निर्माण भइरहेकामा सरकारको लगानीमा निर्माण हुने सिद्धबाबा पहिलो सुरुङ हुने बताइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७६ कात्तिकमा डिजाइन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चितताको माग गरेकोे थियो । राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै ४ किलोमिटर क्षेत्रलाई पहिराको अति जोखिमयुक्त मानेर सुरुङ बनाउने योजना अघि बढाइएको थियो ।
वर्षेनी पहिराका कारण सडक अवरुद्ध हुँदा नागरिकले सास्ती भोगरहेका छन् । यस वर्ष सिद्धार्थ राजमार्गको पिपलडाँडामा असारको १ गते सडक अवरुद्ध बनेको थियो । असार २४ गते सो राजमार्गको सिद्धबाबा क्षेत्रसँगै झुम्सा, हिउडे खोला, कालीमाटी र पिपलडाँडामा पहिराले सडक अवरुद्ध बनेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width