गण्डकीमा एकै दिन ९४९ संक्रमित

आदर्श समाज सम्वाददाता
माघ १०, २०७८
Gandaki-Map

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ९ सय ४९ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ६ सय ३१ जनाको नमुना परीक्षण गरिएकोमा ५८.१८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी कास्कीमा ४ सय ५६ र सबैभन्दा कम मुस्ताङमा ४ जना संक्रमित भेटिएका छन् ।
मनाङमा संक्रमित नहुँदा तनहुँमा १ सय, लमजुङमा ९६, पर्वतमा ७८, स्याङ्जामा ७५ जनामा कोरोना पोजेटिभ भएको हो । यस्तै म्याग्दीमा ४९, नवलपुरमा ४७, गोरखामा ३५ र बागलुङ ९ जना नयाँ संक्रमित भएका हुन् । आइतबार ६ सय ९७ जनामा कोरोना देखिएकोमा सोमबार यो संख्या बढेर ९ सय ४९ पुगेको हो । सोमबार नै १ सय ८६ जना कोरोना निको भएका छन् ।
नेपालभर पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २ सय १ परीक्षण गर्दा १० हजार ३ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ । पछिल्लो समय २ हजार ५ सय ४० निको भए । योसँगै निको हुने ८ लाख २४ हजार २ सय ३९ पुगेको छ । यो दर ८९.७ प्रतिशत हो ।
२४ घण्टामा ४ संक्रमितको मृत्यु भयो । हालसम्म ११ हजार ६ सय ५९ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भइसकेको छ । यस्तै ५ सयभन्दा बढी संक्रमण भएका जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली हुन् । यस्तै २ सयभन्दा बढी संक्रमित भएका १७ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर हुन् । नेपालमा संक्रमण दर १७.९ प्रतिशत छ । हाल होम आइसोलेसनमा ८० हजार ७ सय ७९, संस्थागत आइसोलेशनमा १ हजार ७ सय ७१, सघन उपचार कक्ष २ सय ३८ र भेन्टिलेटरमा ४३ जनाको उपचार हुँदैछ ।
विगत २४ घण्टामा सोमबार १ लाख १९ हजार ३ सय ७१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा १ करोड ६२ लाख ८९ हजार ४ सय २५ जना र पूर्ण मात्रा १ करोड २९ लाख ६६ हजार ३ सय ६२ जनाले लगाइसकेका छन् । यस्तै, कोरोना भाइरसविरुद्धको बुस्टर डोज १ लाख ६८ हजार ९ सय ६९ मात्रा लगाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width