मास्क नलगाउने ७० जनालाई जरिवाना

आदर्श समाज सम्वाददाता
माघ १०, २०७८
maski khai (2)

स्याङ्जा । मास्क लगाउने अभियानलाई स्याङ्जा प्रशासनले कडाइ गरेको छ । सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समूहले जिल्लाका मुख्यबजारमा पुगेर अनुगमनसागै मास्क नलगाउने नागरिकलाई सचेत गराएको छ ।
दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि स्याङ्जा प्रशासनले ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो । संक्रमण नियन्त्रणका लागि उचित ढंगले मास्क लगाउनु सर्वोत्तम उपाय भएको चिकित्सकको भनाइ छ । सबैका लागि पहिलो अनिवार्यता मास्क लगाउनु पर्र्ने जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा निस्केको अनुगमन टोलीमा प्रहरी, उपरीक्षक राजीव बस्नेत, डा. रमेश आचार्य लगायत अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।
जिल्ला सदरमुकाम पुतलीबजारसहित भिरकोट, वालिङ र गल्याङ नगरपालिकाअन्तर्गतका बजारको अनुगमन गरेका थिए । सोहीक्रममा मास्क नलगाई व्यापार व्यवसाय गरिरहेका ७० जनालाई जनही १ सय रुपैयाँ जरिवानासहित सचेत गराइएको छ ।
प्रजिअ पौडेलले भने, ‘मास्क लगाएका छौं भन्दै च्यापुमा अड्याउने र हातमा झुण्ड्याउनेलाई समेत मास्क लगाउने उचित तरिका सिकाएका छौं।’ नियमित सरसफाइ, स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन, मास्कको सही प्रयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्र्छ प्रजिअ पौडेल भन्छन् । अनुगमन टोलीले पैदल यात्रु, सवारीसाधनका यात्रु, व्यवसायी, व्यापारी लगायतलाई सुरक्षित रही व्यवसाय गर्न र अनावश्यक बाहिर ननिस्कन समेत सूचित गराएको छ ।
अन्य समयमा पनि स्थानीय प्रशासनले ‘तपाईको मास्क खै ?, मास्कको प्रयोग गरौं, भौतिक दूरी कायम गरौंं, अनावश्यक हिंडडुल नगरौं’ लगायत नियमित जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएको छ ।
प्रशासनका सबै सेवा स्थगित
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबारदेखि लागु हुने गरी नियमित दैनिक सेवा प्रवाहलाई स्थगित गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य केहीमा पनि संक्रमणसँग मिल्दाजुल्दा लक्ष्यण देखिएकाले सेवा स्थगित गरिएको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड संक्रमण बढिरहेका बेला प्रशासनका विभिन्न फाँटका कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टी भएको र केहीको रिपोर्ट आउन बाँकी रहेकाले अर्को सूचना प्रकाशित नहुञ्जेल सोमबारदेखि कार्यालयको सेवा बन्द गरिएको छ ।’
यसरी कार्यालयका अत्यावश्यक सेवा र शान्तिसुरक्षा बाहेक सबै स्थगित गरिएका छन्। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण लगायत सेवा हाललाई स्थगित गरिएको कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width