चेपेखोला साना जलविद्युतको काम ८५ प्रतिशत पूरा

आदर्श समाज सम्वाददाता
माघ १०, २०७८
chepe nadis

लमजुङ । लमजुङ र गोरखाको सीमानामा पर्ने ८.६ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । सुरुको तालिकाअनुसार आयोजनाबाट माघ ९ गतेदेखि विद्युत् उत्पादन थाल्नुपर्ने हो । तर, आयोजनाले ४ महिना समय थप गरी चैत मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रवद्र्धक आशुतोष इनर्जी कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । उनले भने, ‘उपकरण जडानको काम पनि २ महिनाभित्र पूरा गर्ने लक्ष्यका साथ काम जारी छ ।’
निर्माण कार्य सुरु भएको १४ महिनामा काम अन्तिम चरणमा पुगेको चेपेखोला साना जलविद्युत आयोजनाको ८५ प्रतिशत काम पूरा भएको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोड्ने योजना छ ।
अध्यक्ष कार्कीका अनुसार आयोजनाको ३ हजार ४ सय ५५ मिटर लामो पाइप लाइनमा १७ सय ५५ मिटर पाइप बिछ्याउने काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
२०७७ कात्तिक महिनादेखि आयोजना स्थलमा संरचना निर्माणको काम सुरु गरिएको थियो । उनका अनुसार २०७९ असार ९ गतेभित्र आयोजनाबाट उत्पादन सुरु गर्ने समय भए पनि अब २०७८ चैतभित्र नै आयोजना सञ्चालनमा ल्याउने तयारी छ ।
आयोजनाको विद्युतगृहमा अस्ट्रेलियास्थित ग्लोबल हाइड्रो कम्पनीले उत्पादन गरेको इलेक्ट्रोमेकानिकल उपकरण जडान हुन लागेको कार्कीले उल्लेख गरे । उनका अनुसार सरकारबाट कोभिड– १९ महामारीका कारण निर्माण प्रभावित भएका आयोजनाको १ वर्ष म्याद थपको सुविधा पाएको छ ।
विद्युगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने २१ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ । लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७५ प्रतिशत हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ एनएमबी बैंकले लगानी गरेको छ ।
प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना करिब १७ करोड ३८ लाख रुपैयाँमा पूरा गर्ने लक्ष्य छ । अहिले जलविद्युतको प्रतिमेगावाट लागत २० देखि २५ करोड रुपैयाँसम्म पुग्ने अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width