तनहुँ जलविद्युत आयोजना निरीक्षणमा मुख्यमन्त्री पोखरेल, स्थानीयलाई समेटेर समयमै काम सक्न निर्देशन

आदर्श समाज सम्वाददाता
माघ ८, २०७८
CM POkharel @ tanahu hydro (5)

पोखरा, ८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेका छन् । तनहुँको सेती नदीमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको यो नेपालकै दोस्रो जलासययुक्त परियोजना हो । जलासययुक्त परियोजना खुलेखानी बनेको ४० वर्षपछि तनहुँमा यो परियोजना सुरु भएको हो ।

मुख्यमन्त्री पोखरेलले यति ठूलो परियोजनाले तात्कालिक र दीर्घकालीन रुपमा ठूलो प्रभाव पार्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई समेटेर काम अगाडि बढाउन आग्रह गरे । उनले भने, ‘मुलुकको भविष्यसँग जोडिएको यो परियोजना अगाडि बढिसकेको छ, प्रभावित क्षेत्रका बासिन्दाहरु कति विस्थापित होलान्, वातावरणीय असर पर्ला त्यसको आँकलन गरेर समस्या समाधान गर्दै अगाडि बढ्नुहोला । विस्थापित हुनेहरुले पनि गर्ब गर्न गरी योजना सञ्चालन गर्दा त्यसमा सबैले अपनत्व महसुस गर्न सक्ने उनको भनाइ थियो ।

ढिलो गरी सुरु भए पनि भइरहेको कामको गति सन्तोषजनक रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले डाइभर्सन, बाँध, पहिलो प्याकेज अन्तर्गगतका संरचना निर्माणस्थल, विद्युत उत्पादन गृह लगायत अवलोकन गरेका थिए । उनले भने, ‘प्रकृतिको सदुपयोगका लागि विज्ञानको जरुरत पर्दोरहेछ, पहिला जे भए पनि अब यो परियोजना जतिसक्दो छिटो सक्न उनले निर्माण पक्षलाई निर्देशन दिए ।

अनुगमनमा सहभागी गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले जलासययुक्त परियोजना अहिले अपरिहार्य रहेको भन्दै यसको निर्माणका क्रममा धेरै पक्षमा ध्यान पु¥याउन आग्रह गरे । विभिन्न दातृ निकायको सफ्टलोनमा परियोजना बनिरहेकाले यसको वातावारणीय, सामाजिक प्रभावका बारेमा अध्ययन भए पनि कार्यान्वयन हुन भनेको नसकेको गुनासो आएको उनको भनाइ थियो । सेती नदीले बगाएर ल्याउने ढुंगा बालुटा गिटीका मात्रा बढी हुने भन्दै परियोजनास्थलभन्दा माथि नै यसलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा अहिले नै सोच बनाउन उनको आग्रह थियो ।

उक्त अवसरमा आयोजनाका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । परियोजनाकै अंशका रुपमा ग्रामीण विद्युतीकरणदेखि पर्यावरणीय र सामाजिक अध्ययनका कार्यहरु भइसकेर त्यही अनुसार काम भइरहेको उनको भनाइ थियो । परियोजनाका कार्यकारी प्रबन्धक राजभाइ सिल्पकारले परियोजनाको सुरुदेखि हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराए ।

जलासययुक्त तनहुँ जलविद्युत परियोजनाको काम ३ प्याकेजमा विभाजन गएिको छ । पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम÷कालिका कन्सट्रक्सन प्रालि नेपालले संयुक्त रुपमा काम गरिरहेका छन् । जस अन्तर्गत बाँध निर्माण गरी नदी फर्काउने काम हुनेछ ।

दोस्रो प्याकेज अन्तर्गत परियोजनाको सुरुङ, विद्युत् उत्पादन गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन पर्छन् । यसका लागि ठेकेदार कम्पनीले केबुल सुरुङ, एक्सेस सुरुङ निर्माण सकेर अहिले विद्युत उत्पादन गृहको काम गरिरहेको छ ।
तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । अहिलेसम्म ३५ वटा टावरको जग खनिसकेको र १६ वटा टावर ठडाइएको छ कार्यकारी प्रबन्ध इन्जिनियर सिल्पकारले जानकारी गराए ।

परियोजनाको सबै काम विसं २०८३ असारभित्र सक्ने लक्ष्य छ । परियोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अर्थात ५० अर्ब नेपाली रुपैयाँ छ ।

जसमा एसियाली विकास बैंकले १५ करोड, जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । वित्तीय व्यवस्थापनका लागि कम्पनी खडा गरिए पनि यो परियोजना नेपाल विद्युत प्राधिकरणको आफ्नै हो ।

Related News

सम्बन्धित समाचार

hero news full width