चुनावी तयारी थाल्न प्रधानमन्त्रीको आह्वान

राष्ट्रका नाममा सम्बोधन

आदर्श समाज सम्वाददाता
माघ ८, २०७८
Dueba

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने भएकोले तयारीमा लाग्न मातहतका निकायलाई आह्वान गरेका छन् । ‘१ वर्षभित्रै ३ तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्व तयारीका काम सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु,’ उनले भने । उनले चुनावका लागि पूर्व तयारीका काम सरकारले अघि बढाइसकेको बताए ।
२०७४ साल वैशाख ३१ गते स्थानीय तहअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो । संविधानले जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले तोकिएकै मितिमा निर्वाचन सक्ने गरी तयारी थालेको प्रधानमन्त्री देउवाले बताए ।
नयाँ सरकार गठन भएको ६ महिना पुगेपछि देउवाले पहिलो पटक शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै संसदमा रहेका सबै राजनीतिक दलहरुसँग संवाद र सहमतिका माध्यमबाट गतिरोध अन्त्य गर्ने दाबी गरेका छन् । संविधान कार्यान्वयन र कानुनी राज्यको स्थापनाका लागि सरकार पूर्णत प्रतिबद्ध रहेको उनले दोहोर्‍याए । देउवाले भने झैं तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका कायम छ । उनले वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान लिएका बेला सत्तारुढ दलहरु पहिले संसदीय निर्वाचन गर्न दबाब दिरहेका छन् । विशेषगरी नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीका नेताहरु स्थानीय तहको निर्वाचन अघि संसदीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेपछि आर्थिक सामाजिक रुपान्तरणको आधार तयार भएको र आर्थिक विकासमा जोड दिएको उनको दाबी छ । ‘छोटो समयमा दीगो विकासका लक्ष्यहरू हासिल गर्दै विकसित राष्ट्रको स्तरमा पुग्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘यो लक्ष्य प्राप्तिको मार्गमा देखा पर्ने समस्या र चुनौतीको समाधान गर्न र प्राप्त अवसरको उपयोग गर्न दोस्रो चरणको आर्थिक तथा शासकीय सुधार गरिनेछ ।’

विकासको अड्चन कोभिड संक्रमण भए पनि त्यसलाई परास्त गर्न सरकार निरन्तर सक्रिय रहेको दाबी

विकासको अड्चन कोभिड संक्रमण भए पनि त्यसलाई परास्त गर्न सरकार निरन्तर सक्रिय रहेको भन्दै उनले आफ्नो कामको फेहरिस्थ सुनाए । उनका अनुसार हालसम्म १८ वर्षमाथिका ५९ प्रतिशतलाई पूर्ण र ७९ प्रतिशतलाई पहिलो डोज खोप वितरण भैसकेको छ । पुस मसान्तसम्म १ करोड ५६ लाख ६ हजारले पहिलो डोज र १ करोड १८ लाख ६९ हजार जनाले पूर्ण मात्राको खोप पाएका सरकारी तथ्यांक छ । अहिलेसम्म ४ करोड ३ लाख ८८ हजार डोज खोप आयात गरिएको छ । देउवाले ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि छिट्टै खोप खरिद गरिने आश्वासन दिएका छन् । १२ देखि १७ वर्ष उमेरका १८ लाखभन्दा बढीले खोप लगाइसकेका छन् । ६० वर्षभन्दा माथि उमेर समूहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि सुरु हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको दाबी गरेका छन् ।
‘हामीलाई यसमै सन्तोष गर्ने अवस्था छैन । एक्काइसौं शताब्दीको दू्रतगतिमा अघि बढिरहेको प्रतिस्पर्धी युगमा विकास र समृद्धिको यात्रालाई हामीले थप गतिका साथ चाँडै पूरा गर्नुपर्ने खाँचो छ,’ देउवाले भने । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसदलाई सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि गत असार २९ गते देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । सरकारमा विभिन्न ५ राजनीतिक दल सहभागी छन् ।
किसानलाई मल तथा बिऊ र विद्यार्थीलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन सरकारले प्रबन्ध मिलाएको, अत्यावश्यक वस्तु तथा सेवाको निर्वाध आपूर्ति हुने व्यवस्था सुनिश्चित गरिएको उनको भनाइ छ । यस्तै, विनासकारी भूकम्पपछिको पुनःनिर्माण र विपद् प्रभावित क्षेत्रको आवास पुनःनिर्माणमा सरकार जुटेको दाबी देउवाले गरे ।
चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा पुस मसान्तसम्म ५ खर्ब ७६ अर्बमात्रै संकलन भएको छ भने १६ खर्ब ३२ अर्ब सार्वजनिक खर्चको लक्ष्य राखिएकोमा ५ खर्ब ६ अर्ब मात्रै खर्च भएको छ । ६ महिने कार्यकालमा १ सय ७७ किलोमिटर सडक कालोपत्रे गरिएको उनले जानकारी दिए । यस्तै, ४ सय ३८ किमी अप्टिकल फाइबर बिछ्याइएको, ७९ किमी मोबाइल ब्रोडब्याण्ड बिस्तार भएको, विभिन्न पर्यटकीय क्षेत्रमा २ सय १५ किलोमिटर पदमार्ग बनाइएको सरकारको भनाइ छ । प्रधानमन्त्री देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनःस्थापना यसै वर्ष सकिने र काठमाडौंमा पानी झार्ने दाबी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width