सरुवा रोग अस्पताललाई मेडिकल कलेज बनाउन प्रस्ताव

आदर्श समाज सम्वाददाता
माघ ७, २०७८
medical college (2)

पोखरा । गण्डकी सरकारले आफ्नो छुट्टै विश्वविद्यालय सञ्चालन गरेको छ । २ वर्षअघि खुलेको विश्वविद्यालयबाट हाल फार्मेसी, आइटी र स्पोर्टस् म्यानेजमेन्टको पढाइ चलिरहेको छ । तत्कालै चिकित्साशास्त्र कार्यक्रम समेत थप्ने सरकारको तयारी छ । नेपालमा काठमाडौं बाहिर विशिष्टिकृत अस्पतालको संख्या निकै न्युन छ । प्रदेश सरकारले गठन भएकै दिन सरुवा, मुटु, मिर्गौला र क्यान्सर रोगहरुका लागि विशिष्टकृत अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म सफल हुन सकेको छैन ।
कोभिडको सुरुमै गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरेर अधिकांश कोभिड बिरामीको उपचार ग¥यो । कार्यकालको उत्तरार्धमा सोही अस्पतालबाट मेडिकल कलेज चलाउन सकिने प्रतिवेदन अध्ययन समितिले सरकारलाई बुझाएको छ ।
गण्डकी विश्वविद्यालयका रजिष्ट्रार तथा अध्ययन समितिका संयोजक डा. कैलाश तिमिल्सिनाले जतिसक्दो छिटो कलेज सञ्चालन प्रक्रिया अघि बढाउनुपर्ने बताए । ‘अहिले आममानिसहरुको स्वास्थ्यमा व्यक्तिगत खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवामध्ये स्वास्थ्य प्रमुख हो,’ उनले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउँदै लैजानुपर्ने हुन्छ । गण्डकी विश्वविद्यालयले अब तत्कालै शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’

अस्पताल निर्माण गर्न ६ अर्ब २ करोड खर्च लाग्ने स्टिमेट छ

प्रस्तावित ठाउँमा ५ सय २९ रोपनीभन्दा बढी जमिन छ । साविकको लायन्स सामुदायिक अस्पतालले करिब १५ रोपनी जग्गामा भवन बनाएर काम थालेको हो । सबै जग्गा अस्पतालको नाममा ल्याउन जग्गा प्राप्ति प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ । कम्तीमा १ सय रोपनी जग्गा अस्पतालको नाममा आए समस्या नहुने तिमिल्सिनाले बताए । कलेजका लागि जग्गा प्राप्तिको समस्या खासै नरहेको समितिले जनाएको छ । तर प्रदेशको आम्दानी कम भएकोले आर्थिक व्यवस्थापनका लागि संघ सरकारसँग समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । यसबाहेक विदेशी अनुदान ल्याउने वातावरण बनाउन नीतिगत पहल आवश्यक हुने प्रस्ताव छ ।
हाल प्रदेश सरकार मातहत ११ वटा जिल्लामा १२ वटा अस्पताल छन् । ती अस्पताललाई चाहिने जनशक्ति आफ्नै शिक्षण अस्पतालबाट पूर्ति गर्न सकिने उनले सुनाए । समितिले सरुवा रोग अस्पताललाई ५ सय शैयाको अस्पताल बनाएर मेडिकल कलेजको रुपमा सञ्चालन गर्न सुझाव दिएको छ । ‘यहाँबाट चिकित्सक बन्नकै लागि बाहिर गइरहेको ठूलो रकम प्रदेशभित्रै रहन्छ । झट्ट हेर्दा अहिले शिक्षण अस्पताल बनाउने कुरा चुनौतीपूर्ण देखिए पनि भविष्यमा हुने स्वास्थ्यकर्मीको माग र सरकारी संस्थाको खोजी हुँदा यसको ठूलो महत्व रहने छ,’ उनले अघि थपे, ‘जतिसक्दो छिटो मेडिकल कलेजको योजना कार्यान्वयन गर्नुपर्छ । अब प्रदेशभरमै पहिलो स्वास्थ्य शिक्षा पढाउने संस्था बनाउन सके गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अरु भन्दा अझ एक कदम अगाडि हुनेछ ।’
प्रारम्भिक अध्ययनक्रममा तत्काल ३ सय ५० वेड क्षमताको जनरल अस्पताल बनाउने र भविष्यमा ५० बेडको मुटु, ५० बेडको मिर्गौला, ५० बेडको क्यान्सर रोग र ५० बेडको संक्रामक तथा सरुवा रोग उपचार केन्द्र बनाउन सकिने प्रस्ताव छ । बाँकी ३ सय बेडमा बिरामी उपचार गरेर आधुनिक प्रादेशिक अस्पताल बनाउन जरुरी रहेको अध्ययन समितिले जनाएको छ । सबै कार्यक्रम सञ्चालन गर्न ४ सय रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने छ । यो अस्पताल निर्माण गर्न ६ अर्ब २ करोड खर्च लाग्ने स्टिमेट निकालिएको छ । अस्पताल सञ्चालन हुन थालेपछि बर्सेनि ५० करोडभन्दा बढी आम्दानी गर्न सकिने प्रक्षेपण छ ।
यसअघि तनहुँको बेलचौतारास्थित भानुभक्त क्याम्पस रहेको क्षेत्रलाई उपयुक्त हुने बताइएको थियो । गण्डकी विश्वविद्यालय चलाउन भने पोखरा ३२ मा भवन निर्माण अघि बढेको छ । हाल महेन्द्रपुलबाट सञ्चालन भैरहेको छ । यसको मुख्य कार्यालय मुस्ताङचोकमा राखिएको छ । प्रदेश सरकारले मेडिकल कलेजका लागि चालु वर्षमा खर्च हुने गरी १ करोड विनियोजन गरेको थियो । नेपालका गण्डकी बाहेक सबै प्रदेशमा सरकारी शिक्षण अस्पताल सञ्चालनमा छन् । गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल कलेज लगायत सञ्चालन भइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width