कोदोको रक्सी ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय

धनबहादुर गुरुङ
माघ ६, २०७८
Kodo ko Raksi Photo 1

पोखरा। असोजमा बेलायतबाट ‘प्ओर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी २ प्रकारको रक्सी उत्पादन गरी बिक्री सुरु भयो । कोदो लिमिडेट कम्पनीका अनुसार ‘प्ओर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउन्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’ को १२ पाउन्ड ९९ पेन्समा बिक्री गरेको छ । बेलायत बसोबास गर्ने नेपालीहरु जनक राई, जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङले बेलायती बजारमा कोदोको रक्सीको ब्रान्डिङ गरेका हुन् ।

नेपालीले उत्पादन गर्ने कोदोको रक्सी विदेशमा ब्रान्डिङ भइसक्दा पनि नेपालमा यसको महत्व बुझेको पाइँदैन । यसकारण पनि गाउँघरमा बन्ने कोदोको रक्सीको सट्टा विदेशी मदिरा आयात अत्यधिक छ । गाउँघरमा बनाएको कोदोको रक्सी भने प्रहरीले जफत गर्नसम्म भ्याउँछन् । कारण गाउँघरमा कोदो, चामल, उवा र जौ आदिबाट बनेको रक्सीको अहिलेसम्म स्तर निर्धारण भएको छैन । न त नेपालका घरेलु रक्सीलाई कानुनी मान्यता नै दिइएको छ । कतिपय समयमा घरेलु रक्सी खाएकै कारण मानिसको ज्यान समेत गएको घटना छन् । तर घरेलु रक्सी बनाउने, खाने वा बिक्री गर्ने दर घटेको भने छैन । गाउँघरमा तयार गरिने रक्सी नेपालका आदिवासी जनजाति समुदायले उत्पादन गर्दै आएका छन् । नेपालका केही जातिको पूजाआजामै अनिवार्य छ, रक्सी । यसकारण पनि कोदोको रक्सी उत्पादनमा बन्देज नै लगाउन गाह्रो अवस्था छ ।

बेलायतमा कोदोको रक्सी बिक्री हुन थालेसँगै गण्डकी प्रदेशमा पनि यसको अनुसन्धान थालिएको छ । रक्सी कसरी बनाउने, मर्चामा कुन कुन जडिबुटी प्रयोग गर्ने, प्रचारप्रसार र प्रवद्र्धन कसरी गर्ने भनी अनुसन्धान सुरु भएको छ । यसमा चासो देखाएको छ–गण्डकी विश्वविद्यालयले ।

यसअघि, नेपालीको सीप बेलायतमा ब्रान्ड बन्नुअघि नै प्रदेश १ ले कोदोको रक्सीको ब्रान्डिङ गर्ने भनेको थियो । उक्त प्रदेशकी तत्कालीन सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ‘ब्रान्ड’ बनाउन लागि कार्यदल गठन गरेकी थिइन् । गत वैशाखमा बनाएको कार्यदलले कोदोको रक्सी ब्रान्डिङ, बजारीकरण तथा प्रवद्र्धन सम्बन्धमा अध्ययन गरिरहेको छ ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले कोदोको रक्सीलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर विश्वविद्यालय अनुसन्धानमा लागेको जानकारी दिए । स्थापनादेखि नै अध्ययन, अनुसन्धान र आविस्कारमा जोड दिएको विश्वविद्यालयले अध्ययनमा फार्मेसी, आइटी र स्पोर्टस् पढाइरहेको छ । आविष्कार केन्द्र बनाइरहेको छ भने अनुसन्धानमा कोदोको रक्सीबारे अध्ययन गरिरहेको उनले बताए । ‘गण्डकी प्रदेशमा गुरुङ, मगरलगायत जनजातिले रक्सी बनाउने अनि खान सबैले खान्छन्,’ उनले भने, ‘त्यो रक्सी कसरी ब्रान्ड बनाउने र विदेशबाट आउने मदिरालाई कसरी कम गर्न सकिन्छ भन्नेबारे अनुसन्धान सुरु गरिरहेका छौं ।’ जाँडमा प्रयोग हुने मर्चामा के–के हुने रहेछ र के कति मात्रामा प्रयोग गर्ने भन्ने विषयमा अनुुसन्धानका लागि प्रयोगशालामा पठाइएको प्राडा गुरुङले बताए ।

प्रदेशका कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी ल्याएर खाद्यबस्तु प्रयोगशाला गर्न काठमाडौं पठाइएको छ । साथै मर्चा परीक्षणका लागि रामपुरको कृषि क्याम्पसको प्रयोगशालामा लगिएको उनको भनाइ थियो । ‘हामीले प्रदेशका जिल्लाबाट रक्सी र मर्चा परीक्षणका लागि पठाएका छौं तर रिजल्ट आउन ढिलाइ भइरहेको छ,’ उनले भने ।

प्रयोगशालाको रिपोर्टमा रक्सीमा इथानेल, मिथानेल, कार्बाेहाइड्रेड लगायत के कति मात्रामा छ भन्ने पत्ता लाग्ने उनको भनाइ छ । त्यसपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार छ वा छैन भन्ने अध्यन गर्न सहज हुनेछ । कोदोको रक्सीको फर्मुला, मर्चाको फर्मुला र तिनका स्वास्थ्य, सामाजिक र आर्थिक लगायत पाटोको अनुसन्धानपछि अन्य प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

कुनै पनिको कामको सुरुवात विवाद आउने स्वीकार्दै प्रदेशका जनताको संस्कारसँग जोडिएको बस्तु कानुनी दायरामा ल्याउने काम प्रदेशले गर्न लागेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए । ‘गण्डकी धेरै जनजातिको बाहुल्यता भएको प्रदेश हो । त्यसैले रक्सी भनेको संस्कारसँग जोडिएको पदार्थ हो,’ उनले भने, ‘यसलाई मदिराको रुपबाट हेर्नेभन्दा पनि कल्चरसँग जोडिएको छ ।’ पछिल्ला कानुनमा घरमा बनाइएका रक्सीले कानुनी मान्यता पाएका छैनन् । अनुसन्धानमा राम्रो नतिजा आएमा कोदोको रक्सीको उत्पादन र बजारीकरणमा जाने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width