पोखरा । लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने कुरा अधिकांश स्थानमा पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनिसकेको छ ।
पाखा बारीभरी लगाएको उखु पेलेर पकाउनका लागि रसेटो बस्ने परम्परा पनि हराइसकेको छ । कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप नै भइसकेका अवस्थामा जिल्लाकै पोखरा महानगरपालिका–३२ मालेपाटन र ढोडबेंसिका स्थानीयवासीले भने खुदोसँग जोडिएको गाउँको इतिहास फर्काउने सोचमा छन् ।
खुदो उत्पादनमा पहिचान बनाइसकेका मालेपाटन र ढोडबेंसिमा विगतमा जस्तो उखु खेती नभए पनि २ सय वर्ष अघिदेखिको खुदोसँग जोडिएको गाउँको इतिहास र पहिचानलाई पछिल्लो पुस्ताले कायमै राख्न चाहेको स्थानीयवासी एवं मालेपाटन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणप्रसाद वाग्लेले बताए ।
उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि उखुखेती गर्दै आइएको छ । विशेषतः पुस १५ (पुसे पन्ध्र)मा लट्टे (घ्यू र खुदो हालेर पकाइएको अनदीको चामलको परिकार) का साथै माघे संक्रन्तिमा खुदो र चिउरा खाने प्रचलनका कारण पनि यो समयलाई खुदोको सिजनका रुपमा लिने गरिएको छ । यस समयमा विगतमा यही मालोपाटन र ढोडबेंसिको खुदो कास्की र आसपासका जिल्लामा गाग्रीमा बोकेर बेच्न लगिन्थ्यो । यहाँको खुदो भनेपछि विगतमा नै खोसाखोस हुने गरेको यहाँका बुढापाका बताउँछन् । समयको परिवर्तनसँगै विगतमा बोकेर गाउँगाउँ पु¥याउनुपर्ने खुदो अहिले भने घरघरबाटै बिक्री हुन थालेको छ । उत्पादन कम हुँदै गएपनि माग भने अत्यधिक रहेको वाग्लेले जानकारी दिए ।
उनका अनुसार उखु खेतीसँगै खुदो उत्पादनसँग जोडिएको यहाँको इतिहासलाई जोगाउँदै स्थानीयवासीलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने सोचका साथ २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको हो । ‘सहकारी स्थापनायता खुदो र दूधको उत्पादन एवं बजारीकरणमा सहकारी स्वयम् आवद्ध छ,’ उनले भने, ‘सहकारीमार्फत बाख्रा, कुखुरापालन लगायतमा किसानलाई ऋण सहयोग उपलब्ध गराइएको छ ।’ खुदो र दूधका लागि सहकारीले वार्षिक ४/४ लाख छुट्याएको छ ।
मालेपाटन र ढोडबेंसि क्षेत्रमा विगतमा ६०/७० लाखदेखि १ करोडसम्म खुदोको कारोबार हुने गरेको बताउने स्थानीय किसान विष्णुप्रसाद बसौलाले पछिल्लो वर्षमा उखुमा देखिएको रोगका साथै कृषिप्रतिको अनिच्छाका कारण पनि यो खेती कम हुँदै गएको बताए । यस क्षेत्रमा करिब ९० परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । उनका अनुसार बीउ लगाएको १ वर्षमा उखुको लाक्रा काट्नका लागि तयार हुन्छ । काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । उक्त रसलाई करिब पाँच घन्टा पकाएपछि खुदो तयार हुन्छ ।
मालेपाटन र ढोडबेंसि क्षेत्रमा विगतमा ६०/७० लाखदेखि १ करोडसम्म खुदोको कारोबार हुन्थ्यो
यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ भने पकाउने कामलाई पनि व्यवस्थित बनाइएको अर्का किसान तुलसी तिमिल्सिनाले जानकारी दिए ।
मालेपाटन र ढोडबेंसिको नाममा अन्य स्थानको खुदो पनि बजारमा बिक्री हुन थालेपछि यहाँको पहिचानलाई जोगाउन पोखरा महानगरपालिकाको सहयोगमा हालै यहाँको खुदो ब्रान्डिङ गरिएको छ । ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेंसिको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटर परिमाणको बोतल हालै बजारमा आएको छ । गुणस्तर परीक्षणसहित सिलबन्दी गरिएको खुदोको खुद्रा मूल्य ३ सय ५० निर्धारण गरिएको छ ।
महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले मालेपाटन र ढोडबेंसिको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको जानकारी दिए । यहाँको खुदोको ब्राण्डिङका साथै प्रविधिलगायतमा महानगरपालिकाले ३ लाख ५० हजार विनियोजन गरेको उनको भनाइ छ । उखु खेतीमा लाग्ने गरेको किराका कारण उत्पादनमा हस आएको र यसले स्थानीयवासीलाई चिन्तित बनाएको स्थानीयवासी समाजसेवी तारानाथ रिजालले बताए ।
विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको उनले बताए । उखुमा लाग्ने गरेको उढुवा, ढुसीजन्य रोगले उत्पादनमा हस आएको बताउँदै उनले यी रोगको रोकथामका साथै राज्यबाट प्राविधिक सहयोगको निरन्तरता हुनुपर्ने बताए । रासस
Related News
सम्बन्धित समाचार
सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’
कथा सुन्न भक्तजनको आकर्षण
कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१