जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो, सिंगो गाउँ शोकमा

आदर्श समाज सम्वाददाता
माघ १, २०७८
accident

पोखरा । चाडबाडको बेला ६ जनाको मृत्यु र ८ जना घाइते हुने गरी भएको जीप दुर्घटनाले बन्दीपुर गाउँपालिका यतिखेर शोकमा डुबेको छ। तनहुँको बन्दीपुर ६, धरमपानीस्थित बाक्सेमा शुक्रबार राति ग१ज ६५५५ नम्बरको जीप दुर्घटना भएको हो । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेकोे जीप दुर्घटनामा दम्पतीसहित आमाछोरा समेतको ज्यान गएको छ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले भने, ‘माघे संक्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित बनाएको छ । बाक्से, हटियामात्र नभई सिंगो गाउँपालिका नै यतिखेर शोकमा डुबेको छ ।’

आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो । जीपको उकालोमा ब्याक भएर दुर्घटना भएको उनले बताए । सिकारु चालक भएकोले सो दुर्घटना हुन गएको बुझिएको छ । चालक फरार छन् । वडा ६ वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए । उनका अनुसार मृतकमध्ये एक दम्पती तथा एकैघरका आमाछोरा पनि परेका छन्।

दुर्घटनामा बन्दीपुर ६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिनाकी बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया वीममाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमै ४ जनाको र २ जनाको उपचारक्रममा मृत्यु भएको हो । घाइते ८ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, ७ महिने बालिका वीविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width