पोखरा। कास्कीको माछापुच्छ्रे ३, घाचोकका लेखनाथ लम्साललाई पुसमाघको सिरेटोको कुनै प्रभाव छैन । बस्तुभाउलाई कँुडोपानी र घाँस बन्दोबस्त गरी एकाबिहानै कुँहिरो छिचोल्दै मोटरसाइकलमा भण्डारढिकतिर हुइँकिनु उनको दैनिकी हो । उमेरले ४५ वर्ष टेकेका लम्साललाई पढाइको हुटहुटी कायमै छ ।
उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–भण्डारढिक (२८ किलोमिटर) यात्रा उकाली, ओराली, धुलो, चिसो, सिरेटो नभनी हरेक दिन २ घण्टा लगाएर छिचोल्छन् ।
गण्डकी विश्वविद्यालयले यसै वर्षदेखि सुरु गरेको व्याचर इन स्पोर्टस् म्यानेज्मेन्टको पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उनी खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागिपरेका हुन् । उमेर छँदा विभिन्न प्रतियोगितामा सहभागी भएकाले पनि उनी अहिलेसम्म भलिबलकै विभिन्न क्षेत्रमा तल्लिन छन् ।
४५ वर्षीय लेखनाथ लम्साल गण्डकी विश्वविद्यालयमा भलिबल पढ्न दैनिक घाचोक–भण्डारढिक आउजाउ गर्छन् ।
२०५२ ताका उनको भलिबल क्यारियर सुरु भएको हो । गाउँमा हुँदा फाट्टफुट्ट भलिबल खेल्ने उनले २०७३ मा जिल्लास्तरीय प्रतियोगिता खेले । त्यसलगत्तै सुर्खेतमा भएको चौथो राष्ट्रिय खेलकुदमा नेपाल पुलिसको टिमबाट सहभागी भए । त्यहाँ उनको टिम दोस्रो बन्यो ।
त्यसलगत्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भए । पाकिस्तानमा हुने भनिएको साग अमेरिकन टुइन्टावर कान्डले गर्दा स्थगित भयो । राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने उनको सपनामा तुषारापात आयो । तैपनि हारेश खाएनन्, नेपाल पुलिस क्बलबाटै राष्ट्रिय प्रतियोगितामा खेल्दै ७ वर्ष बिताए । त्यसबीचमा भक्तपुरको वर्कस गेम, २०५७ मा त्रिचन्द्र क्याम्पस र २०५८ मा पृथ्वीनारायण क्याम्पसबाट स्ववियु सभापति कप खेलेका उनी दुवै प्रतियोगितामा उत्कृष्ट घोषित भएका थिए ।
२०६० सालमा उनलाई घरायसी समस्याले पिरोल्यो । त्यही समस्याका कारण लम्साल भलिल छाडेर हानिए, खाडी मुलुक कतार । वैदेशिक रोजगारमा होमिएका उनको नसा–नसामा भलिबल थियो । त्यही कारण पनि कतारमै रहेका नेपाली बटुलेर त्यही जमाउन थाले भलिबल । कतारबाट उनी ११ वर्षपछि फर्किए ।
उनलाई चिनेका र खेलकौशल देखेकाहरुले नेपाल आउने बित्तिकै भेटे । र पुनः भलिबलमा रमाउने बाटो खोलिदिए । उनले दोस्रो राष्ट्रपति रनिङ सिल्डमा गण्डकी प्रदेश टिमको प्रशिक्षणको जिम्मेवारी पाए । उनको टिम त्यहाँ प्रथम भयो । अहिले पोखरा सेकेन्डरी स्कुलमा प्रशिक्षक भएर काम गरिरहेका छन् भने पोखरामा जारी दोस्रो टाइगर कप भलिबल प्रतियोगितामा आयोजक टाइगर गु्रपको महिला टिमको प्रशिक्षकको जिम्मेवारी लिए ।
गण्डकी विश्वविद्यालयले व्याचर इन स्पोर्ट्स म्यानेज्मेन्ट (बिएसएम) को कक्षा सुरु गरेको खबर उनको कानमा परेपछि पढ्न लालायित बने । खेल क्षेत्रमा थप केही गर्नुपर्छ भन्ने सोचिरहेकै बेला स्पोर्ट्स म्यानेज्मेन्ट कक्षाले उनी औधी खुसी छन् ।
पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैंले ट्रेनिङ सेन्टर खोल्ने योजना उनले सुनाए । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उनको भनाइ छ । ‘गेम खेलेरमात्र हँुदैन, यसलाई पढ्नु पनि पर्छ,’ उनले भने, ‘म्यानेजर लेभलको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।’
गेम खेल्दैमा राम्रो खेलाडी नहुने त्यसका लागि कल्चर र मोटिफेसन पनि आवश्यक रहेको उनी सुनाउँछन् । पहिलो सेमेस्टरका विद्यार्थी लम्सालले घाचोकदेखि भण्डारढिकसम्मको यात्रालाई असहज ठानेका छैनन् । छोटो समयमा पहिले र अहिलेमा धेरै परिवर्तन भएको उनले बताए ।
नेपालमै पहिलो पटक सुरु स्पोर्ट्स म्यानेज्मेन्टमा उनी जस्तै २० जना अध्ययनरत छन् । त्यहाँ पढ्नेहरुको उमेर १८ देखि ४८ वर्षसम्मको छ भने उनीहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित छन् । अध्ययनपछिका काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो ।
नेपालमा बिएसएमको पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले यो पढाइ सुरु गरेको विश्वविद्यालय खेलकुद व्यवस्थापक मधुसुदन सुवेदीले बताए । सुवेदी भारतबाट खेलकुद विषयमा पिएचडी गरेर आएका हुन् । ‘नेपालमा कम्तीमा ५ हजार प्रोफेसनल व्यवस्थापक चाहिएको छ,’ सुवेदी भन्छन्, ‘त्यसैले स्कोप धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।’
यो विषय पढ्न जुनसुकै संकायमा १२ पास गरेकोले पनि भर्ना हुन सक्छन् । चारवर्षे कोर्ष सेमेस्टर प्रणालीअनुसार ८ सेमेस्टरमा पढाइ हुने उनले बताए । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा बिएसएम पढाइ सञ्चालन भइरहेको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
पटक–पटक किन भासिन्छ पोखरा ?
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९