भलिबल मोहले विश्वविद्यालय

धनबहादुर गुरुङ
माघ १, २०७८
lekhnath Story Photo 2

पोखरा। कास्कीको माछापुच्छ्रे ३, घाचोकका लेखनाथ लम्साललाई पुसमाघको सिरेटोको कुनै प्रभाव छैन । बस्तुभाउलाई कँुडोपानी र घाँस बन्दोबस्त गरी एकाबिहानै कुँहिरो छिचोल्दै मोटरसाइकलमा भण्डारढिकतिर हुइँकिनु उनको दैनिकी हो । उमेरले ४५ वर्ष टेकेका लम्साललाई पढाइको हुटहुटी कायमै छ ।

उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–भण्डारढिक (२८ किलोमिटर) यात्रा उकाली, ओराली, धुलो, चिसो, सिरेटो नभनी हरेक दिन २ घण्टा लगाएर छिचोल्छन् ।

गण्डकी विश्वविद्यालयले यसै वर्षदेखि सुरु गरेको व्याचर इन स्पोर्टस् म्यानेज्मेन्टको पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उनी खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागिपरेका हुन् । उमेर छँदा विभिन्न प्रतियोगितामा सहभागी भएकाले पनि उनी अहिलेसम्म भलिबलकै विभिन्न क्षेत्रमा तल्लिन छन् ।

४५ वर्षीय लेखनाथ लम्साल गण्डकी विश्वविद्यालयमा भलिबल पढ्न दैनिक घाचोक–भण्डारढिक आउजाउ गर्छन् ।

२०५२ ताका उनको भलिबल क्यारियर सुरु भएको हो । गाउँमा हुँदा फाट्टफुट्ट भलिबल खेल्ने उनले २०७३ मा जिल्लास्तरीय प्रतियोगिता खेले । त्यसलगत्तै सुर्खेतमा भएको चौथो राष्ट्रिय खेलकुदमा नेपाल पुलिसको टिमबाट सहभागी भए । त्यहाँ उनको टिम दोस्रो बन्यो ।

त्यसलगत्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भए । पाकिस्तानमा हुने भनिएको साग अमेरिकन टुइन्टावर कान्डले गर्दा स्थगित भयो । राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने उनको सपनामा तुषारापात आयो । तैपनि हारेश खाएनन्, नेपाल पुलिस क्बलबाटै राष्ट्रिय प्रतियोगितामा खेल्दै ७ वर्ष बिताए । त्यसबीचमा भक्तपुरको वर्कस गेम, २०५७ मा त्रिचन्द्र क्याम्पस र २०५८ मा पृथ्वीनारायण क्याम्पसबाट स्ववियु सभापति कप खेलेका उनी दुवै प्रतियोगितामा उत्कृष्ट घोषित भएका थिए ।

२०६० सालमा उनलाई घरायसी समस्याले पिरोल्यो । त्यही समस्याका कारण लम्साल भलिल छाडेर हानिए, खाडी मुलुक कतार । वैदेशिक रोजगारमा होमिएका उनको नसा–नसामा भलिबल थियो । त्यही कारण पनि कतारमै रहेका नेपाली बटुलेर त्यही जमाउन थाले भलिबल । कतारबाट उनी ११ वर्षपछि फर्किए ।

उनलाई चिनेका र खेलकौशल देखेकाहरुले नेपाल आउने बित्तिकै भेटे । र पुनः भलिबलमा रमाउने बाटो खोलिदिए । उनले दोस्रो राष्ट्रपति रनिङ सिल्डमा गण्डकी प्रदेश टिमको प्रशिक्षणको जिम्मेवारी पाए । उनको टिम त्यहाँ प्रथम भयो । अहिले पोखरा सेकेन्डरी स्कुलमा प्रशिक्षक भएर काम गरिरहेका छन् भने पोखरामा जारी दोस्रो टाइगर कप भलिबल प्रतियोगितामा आयोजक टाइगर गु्रपको महिला टिमको प्रशिक्षकको जिम्मेवारी लिए ।

गण्डकी विश्वविद्यालयले व्याचर इन स्पोर्ट्स म्यानेज्मेन्ट (बिएसएम) को कक्षा सुरु गरेको खबर उनको कानमा परेपछि पढ्न लालायित बने । खेल क्षेत्रमा थप केही गर्नुपर्छ भन्ने सोचिरहेकै बेला स्पोर्ट्स म्यानेज्मेन्ट कक्षाले उनी औधी खुसी छन् ।
पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैंले ट्रेनिङ सेन्टर खोल्ने योजना उनले सुनाए । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उनको भनाइ छ । ‘गेम खेलेरमात्र हँुदैन, यसलाई पढ्नु पनि पर्छ,’ उनले भने, ‘म्यानेजर लेभलको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।’

गेम खेल्दैमा राम्रो खेलाडी नहुने त्यसका लागि कल्चर र मोटिफेसन पनि आवश्यक रहेको उनी सुनाउँछन् । पहिलो सेमेस्टरका विद्यार्थी लम्सालले घाचोकदेखि भण्डारढिकसम्मको यात्रालाई असहज ठानेका छैनन् । छोटो समयमा पहिले र अहिलेमा धेरै परिवर्तन भएको उनले बताए ।
नेपालमै पहिलो पटक सुरु स्पोर्ट्स म्यानेज्मेन्टमा उनी जस्तै २० जना अध्ययनरत छन् । त्यहाँ पढ्नेहरुको उमेर १८ देखि ४८ वर्षसम्मको छ भने उनीहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित छन् । अध्ययनपछिका काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो ।
नेपालमा बिएसएमको पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले यो पढाइ सुरु गरेको विश्वविद्यालय खेलकुद व्यवस्थापक मधुसुदन सुवेदीले बताए । सुवेदी भारतबाट खेलकुद विषयमा पिएचडी गरेर आएका हुन् । ‘नेपालमा कम्तीमा ५ हजार प्रोफेसनल व्यवस्थापक चाहिएको छ,’ सुवेदी भन्छन्, ‘त्यसैले स्कोप धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।’

यो विषय पढ्न जुनसुकै संकायमा १२ पास गरेकोले पनि भर्ना हुन सक्छन् । चारवर्षे कोर्ष सेमेस्टर प्रणालीअनुसार ८ सेमेस्टरमा पढाइ हुने उनले बताए । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा बिएसएम पढाइ सञ्चालन भइरहेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width