ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण

आदर्श समाज सम्वाददाता
पौष २९, २०७८
Ministry-of-Health-and-Population

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रामक गुणात्मकरुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ,’ उनले भने ।

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण हुने बताइन् । ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा संक्रमण हुने गर्दथ्यो,’ उनले भनिन् । ओमिक्रोनले पार्ने असरबारे थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ओमिक्रोन लागे घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिन्छ

ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ । संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गा¥हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा संक्रमण गराउने बताए । उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिए । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।

संक्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । पुस १९ गते २.६ प्रतिशतमा रहेको संक्रमण दर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशतमा मात्र संक्रमण दर रहेको थियो ।

सुरक्षा उपाय
यसबाट बच्न कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात् भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी १ मिटर कायम गर्नुपर्दछ ।

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ ।

मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउन बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । केही दिनअघि १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस–जिन स्क्रिनिङमा २ सय ५० नमुनामा एस–जिन नेगेटिभ देखिएकाका र ती नेगेटिभ देखिएकाको अणु वांशिक अध्ययनमा २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । हालसम्म २७ ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको छ । ‘एस–जिन नेगेटिभ बढ्नु भनेको ओमिक्रोन भेरियन्ट बढ्नु हो,’ उनले भने,‘एस–जिन नेगेटिभ पत्ता लागेका सबै संक्रमितको कन्याक्ट्र टे«सिङ गरिरहेका छौं ।’ यस्तै सीमा नाकामा एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टरसमेत बनाउन थालिएको छ ।

३०७५ थप संक्रमित
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका ३ जिललामा बुधबार १ हजार ५ सय ३८ संक्रमित थपिए ।

देशभर पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमुना परीक्षण गरिएको थियो । भेटिएका नयाँ संक्रमितमध्ये ९ हजार ५१ को पिसिआर र ३ हजार ९ सय ८५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये संक्रमणदर २७ प्रतिशत छ । यही अवधिमा २ सय ७८ जना कोरोनाबाट निको भएका छन् । कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा २ लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय संक्रमित संख्या ११ हजार ६ सय ९० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टिलेटरमा रहनेको संख्या २२ र आइसियुमा ८७ जना छन् । होम आइसोलेसनमा १० हजार ९ सय १०, संस्थागत आइसोलेसनमा ८ सय ८० र संस्थागत क्वारेन्टिनमा ६ सय ९५ रहेका छन् । रासस

Related News

सम्बन्धित समाचार

hero news full width