कोरोना बढेसँगै लेखनाथ महोत्सव स्थगित

आदर्श समाज सम्वाददाता
पौष २९, २०७८
LCCI Logo_Four Colour

लेखनाथ। लेखनाथ महोत्सव स्थगित भएको छ । कोरोनाको प्रभाव बढ्दै जाँदा सरकारले सार्वजनिक स्थलमा २५ भन्दा बढी भेला हुन कडाइ गरेपछि आयोजकले महोत्सव स्थगित गर्ने निर्णय गरेको हो ।

लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ दोस्रो सातादेखि १७ औं संस्करणको लेखनाथ महोत्सव आयोजनाका लागि अन्तिम तयारी गरिरहेको थियो । बुधबार बसेको संघको आकस्मिक बैठले हालका लागि महोत्सव स्थगित गरी केही समयपछि पुनः सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवको तयारी दू्रत गतिमा अगाडि बढ्दै गरेको अवस्थामा परिस्थितिजन्य अवस्था रहेको र ७ लाख रुपैयाँ लगानी समेत भएको अवस्थामा घाटानाफा भन्दा पनि मानव स्वास्थ्य ठूलो विषय भएकोले महोत्सव केही समय रोकिएको र अवस्था अनुकूल भएपछि पुनः सञ्चालन गर्ने संघ अध्यक्ष आत्रयेले बताए ।

महोत्सवबाट १ करोड ५ लाख आम्दानी गरेर ९० लाख खर्च गरी १५ लाख रुपैयाँ बचत गर्ने आयोजकको उद्देश्य थियो । ‘महोत्सव रोकिएको होइन कि केही समयपछि सञ्चालन हुनेछ, ’ संघ कोषाध्यक्ष भरतराज ओझाले भने ।

सुन्तला महोत्सवबाट सुरु लेखनाथ महोत्सवलाई ‘महोत्सवको पनि महोत्सव’ रुपमा चिनाउँदै एउटै थोलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने र उत्पादकत्व वृद्धि गर्दै उत्पादित बस्तुको बजारीकरणमा सहयोग पुग्ने उद्देश्य साथ नियमितरुपमा महोत्सव हुँदै आएको थियो ।
कोरोना महामारीका कारण अमरसिंह चौरमा हुने ‘पोखरा महोत्सव’ समेत यसअघि स्थगित भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width